मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मुना कुँवर काठमाडाैं
२०७६ फाल्गुण ४ आइतबार ०८:४१:००
Read Time : > 2 मिनेट
अर्थ

लघुुबिमा निर्देशिका संशोधनको तयारी

५ लाख रुपैयाँसम्मको लघुबिमा जारी गर्न सकिने

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७६ फाल्गुण ४ आइतबार ०८:४१:००

बिमा समितिले ५ लाख रुपैयाँसम्मको लघुबिमा जारी गर्न पाउने गरी ‘लघुबिमा निर्देशिका’ संशोधनको तयारी गरेको छ । कार्यान्वयनमा रहेको ‘लघुबिमा निर्देशिका २०७१’ निर्देशिकाअनुसार बिमा कम्पनीले अधिकतम २ लाख रुपैयाँसम्मको लघुबिमा योजना जारी गर्न पाउँछन् । निर्देशिका संशोधन गर्दै बिमांक रकम बढाउने तयारी समितिले गरेको हो । 

सबै खालका नागरिकलाई बिमाको दायरामा समेट्न समितिले लघुबिमा अवधारणा ल्याएको हो । यसमा बिमा कम्पनीहरूले न्यून आय भएका वर्ग तथा पिछडिएका क्षेत्रका लघुबिमा व्यवसाय समेट्नुपर्छ । थोरै बिमांक रकममा पनि बिमा योजना खरिद गर्न सकिने भएकाले लघुबिमाले बिमाको दायरा बढाउन सकिने समितिको अपेक्षा छ । समयसापेक्ष लघुबिमा व्यवसायलाई व्यवस्थित गर्न निर्देशिका संशोधन गर्न लागिएको समितिका कार्यकारी निर्देशका राजुरमण पौडेलले बताए । उनका अनुसार समितिले वार्षिक योजनाअन्तर्गत लघुबिमा निर्देशिका परिमार्जन गरिएको हो । परिमार्जित निर्देशिकाको खाका तयार भएको छ । आवश्यक छलफल गरी केही दिनमा नै अन्तिम रूप तयार पारी दिइने पौडेलले जानकारी दिए । 

पोलिसीको दायरा बढाइने 
बिमा समितिले संशोधन गर्न लागेको लघुबिमा निर्देशिकामा पोलिसीका प्रकार पनि बढाउन लागेको छ । नयाँ व्यवस्थाअनुसार जीवन बिमा कम्पनीले सावधिक र म्यादी जीवन बिमा जारी गर्न पाउनेछन् । त्यस्तै, निर्जीवन बिमा कम्पनीहरूले लघुबिमाअन्तर्गत सम्पत्ति बिमा, घर बिमा, साना सवारी, दुर्घटना, स्वास्थ्य, घातक रोग र कृषि बिमा योजना जारी गर्न पाउनेछन् । यसका अतिरिक्त बिमा समितिले तोकेका अन्य बिमा पनि जारी गर्न सक्नेछन् । 

हाल जीवन बिमा कम्पनीले म्यादी, सावधिक र आजीवन लघुबिमा जारी गर्दै आएका छन् । त्यस्तै, निर्जीवन बिमा कम्पनीले गार्हस्थ्य, स्वास्थ्य, दुर्घटना, पशु तथा पंछी, बाली लघुबिमा गर्छन्  । 

सहुलियत कर्जा रकमबराबरको लघुबिमा 
बिमा समितिले सहुलियत कर्जालाई लघुबिमाअन्तर्गत बिमा गरिनुपर्ने व्यवस्था गर्न लागेको छ । राष्ट्र बैंक तथा सरकारद्वारा प्रदान गरिने सहुलियत कर्जाको कर्जा रकमबराबरको बिमा गर्नुपर्नेछ । त्यस्तै, बिमा कम्पनीहरूले सात दिनभित्रमा दाबी भुक्तानी गर्नुपर्नेछ । बिमितहरूले सम्पूर्ण कागजपत्र पेस गरेको सात दिनभित्रमा अनिवार्य रूपमा दाबी भुक्तानी गर्नुपर्नेछ । हालसम्मको व्यवस्थाअनुसार कम्पनीहरूले १० दिनभित्रमा दाबी भुक्तानी गर्नुपर्नेछ । 

१८ अर्ब रुपैयाँबराबरको लघुबिमा 
चालू आर्थिक वर्ष ०७६/७७ को दोस्रो त्रैमास अवधिमा बिमा कम्पनीहरूले १८ अर्ब ५९ करोड रुपैयाँबराबरको लघुबिमा व्यवसाय गरेका छन् । सो अवधिमा बिमा समितिका प्राप्त तथ्यांकअनुसार कम्पनीहरूले लघुबिमा व्यवसायबापत २३ करोड ४६ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । ५ लाख ७४ हजार १८ वटा लघुबिमा योजना जारी भएको छ भने ९ सय ३६ दाबी संख्याबराबर ५ करोड ९५ लाख दाबी रकम परेको छ । सो अवधिसम्ममा कम्पनीहरूले ९ सय ११ दाबीको ५ करोड ८४ लाख रुपैयाँ भुक्तानी गरेका छन् । 

समितिको तथ्यांकअनुसार कम्पनीहरूले १६ अर्ब ६ करोड रुपैयाँबराबरको जीवन लघुबिमा व्यवसाय गरेका छन् । जसबाट कम्पनीहरूले ११ करोड २१ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । ५ लाख ४० हजार १ सय ८७ बिमालेख जारी भएका छन् । त्यस्तै, ५ करोड रुपैयाँबराबरको निर्जीवन लघुबिमा व्यवसाय भएको छ । जसबाट कम्पनीहरूले ५५ हजार बिमाशुल्क आर्जन गरेका छन् । त्यस्तै, २ अर्ब ३८ करोड रुपैयाँबराबरको पशु र २० लाख ९० हजार रुपैयाँबराबरको बाली लघुबिमा व्यवसाय गरेका छन् । पशु बिमाबापत ११ करोड बिमाशुल्क आर्जन भएको छ भने बालीबापत २ लाख ३८ हजार रुपैयाँ आर्जन भएको छ ।  

व्यक्तिगत अभिकर्ताले पनि लघुबिमा गर्न पाउने 
बिमा कम्पनीहरूले लघुबिमा जारी गर्नका लागि व्यक्तिगत अभिकर्ता पनि नियुक्त गर्न पाउने भएका छन् । समितिले लघुबिमा निर्देशिका २०७१ संशोधन गर्दै लघुबिमाका लागि व्यक्तिगत अभिकर्ताको व्यवस्था गर्न लागेको हो । 

नयाँ व्यवस्थाअनुसार कम्पनीहरूले संस्थागत र व्यक्तिगत अभिकर्ता नियुक्त गर्न सक्नेछन् । हालको व्यवस्थाअनुसार लघुबिमाका लागि संस्थागत अभिकर्ता मात्रै नियुक्त गर्न सकिनेछ । एउटै संस्थागत अभिकर्ताले जीवन तथा निर्जीवन बिमा व्यवसाय गर्न पाउँछन् ।