मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
सौरभ ढकाल
२०७५ माघ ५ शनिबार ०७:३३:००
Read Time : > 5 मिनेट
ब्लग

साइकलले जोडेको सम्बन्ध

अनुभूति

Read Time : > 5 मिनेट
सौरभ ढकाल
२०७५ माघ ५ शनिबार ०७:३३:००

पुर्ख्याैली घर सिन्धुली भए पनि जागिरले गर्दा जताजता बुबा जानुभो, उतैउतै मेरो पनि समय बित्यो । मेरो मावली चाहिँ जनकपुरको कपिलेश्वर । सानोमा अलि बढी समय मावलीमा हुर्किएँ । पछि जनकपुरको पिडारीचोकमा बस्न थाल्यौँ । बालमन्दिरमा रिक्साको ‘स्कुल बस’मा हुइँकिएको अलिअलि सम्झिन्छु । बुबाको जागिर काठमाडौंमा भयो । त्यसपछि काठमाडौंकै बसाइ हुन थाल्यो र धेरै समय यहीँ बित्यो । बिस्तारै काठमाडौंमै काम गर्न थालियो । 

भिडियो कथा बनाउने मेरो काम । सन् २०१४ तिर काठमाडौंबाट लुम्बिनी जाने साइकलवालाको बैठकमा मलाई भिडियो बनाउनका लागि बोलाइयो । ‘टुर डे लुम्बिनी’को भिडियोको कामले साइकल मात्र होइन, मित्रता पनि जोडियो । भिडियोकै कामले चिनजान भएका देवेन्द्र बस्न्यातले एकदिन जिस्काउँदै भन्नुभयो, ‘यस्तो साइकल सिन्धुलीतिर पनि लैजानुपर्छ ।’

पहिले पूर्वी तराई जाने पैदल मूलबाटो सिन्धुली भएरै जाने भए पनि पूर्व–पश्चिम राजमार्गमा गाडी गुड्न थालेपछि सिन्धुली ओझेलमा पर्‍यो । राजधानीबाट नजिकै भए पनि गाडीको बाटोचाहिँ बर्दिवासबाट मात्रै थियो । एक÷दुईपटक बर्दिवासको बाटो हुँदै ट्रकमाथि चढेर घर पुगेको सम्झना छ । 

जब बिपी राजमार्गको ट्रयाक खुल्दै गयो, सिन्धुलीको चर्चा र सम्बन्ध अन्य जिल्लासँग फेरि जोडिन थाल्यो । म पनि फेरि सिन्धुलीसँग नजिकिन थालेँ । मजस्तै जो सुविधा र कामले सिन्धुलीबाट टाढिएका थिए, ‘समृद्ध सिन्धुली अभियान’मार्फत फेसबुकमा एकत्रित हुन थाल्यौँ । बिपी राजमार्गले पनि हामीलाई जोडिन थप सहयोग पुर्‍यायो । सन् २०१५ मा सरकारलाई बिपी राजमार्ग हस्तान्तरण गरिएपछि फेरि पूर्वी तराईको सवारीमार्गका रूपमा स्थापित हुदैँ छ । 

विजयोत्सवको सन्दर्भ

सन् २०१५ कै सुरुवाततिर देवेन्द्र बस्न्यात साइकल लिएर एक्लै फुत्त सिन्धुलीतिर कुद्नुभएछ । देवेन्द्र दाइको त्यही यात्राले हामीलाई पनि ‘राइड टु सिन्धुलीगढी’ आयोजना गर्ने उत्साह मिल्यो । तर, ठूलो भुइँचालो गएको वर्ष आँट गर्न सकेनौँ । लामो तयारीपछि ०७३ को कात्तिकमा ‘राइड टु सिन्धुलीगढी’ साइकलयात्रा आयोजना भयो । 

यसको सकस भने कम छैन । भर्खरै खुलेको नयाँ बाटो र पुरानो सिन्धुलीगढीको विजयलाई जोडेर काठमाडौंबाट ऐतिहासिकस्थल सिन्धुलीगढीसम्म साइकलयात्रा गर्ने तय भयो । तर, कसरी गर्ने ? साइकलवाला कसरी जम्मा होलान् ? कार्यक्रम गर्न सक्ने अवस्था हुन्छ कि हुँदैन ? यसमै गलफत्ती चल्यो । यसका लागि विश्व साइकलयात्री पुष्कर शाहसँग सहयोग माग्न गएको, पहिलो भेटमै थर्काए, ‘साइकल छ कि छैन ?’ मैले ‘हिँड्ने मान्छे हुँ, साइकल त छैन’ भनेपछि उनको जवाफ थियो, ‘साइकल नभएकाले साइकलयात्रा के आयोजना गर्ने ? के बुझ्छ साइकलवालाको कुरा ?’ एकपटक ‘ट्राई’ गरम न भन्ने आग्रह उनले मानेपछि यात्राको योजना सुरु भएको थियो । 

बिपी राजमार्ग ऐतिहासिक सिन्धुलीगढी क्षेत्रलाई छोएर अघि बढेको छ । नयाँ बाटोले चर्चामा ल्याएको गढी क्षेत्रमा केही वर्षयता विजयोत्सव मानाउन थालिएको थियो । हरेक वर्ष २४ कात्तिकमा मनाइने उत्सवमा जिल्लावासी तथा अन्य सहभागी भएर पुर्खाले जितेको दिनको सम्झना र सम्मान गर्दै आएका छन् । त्यसैले साइकलयात्राको सन्दर्भ पनि त्यही विजयोत्सवलाई जोड्ने निधो गरेका थियौँ । 

पहिलो साइकलयात्रा

पहिलो वर्ष काठमाडौंबाट विश्व साइकलयात्री पुष्कर शाहसहितको ८० साइकलयात्री सहभागी भयौँ । पहिलो दिन १ सय ११ किलोमिटर यात्रा तय गरेर खुर्काेटमा वास बस्यौँ । २४ कात्तिकमा १८ किलोमिटर उकालो चढेर गढी पुगी विजयोत्सवमा सहभागी भयौँ । सिन्धुलीगढी वीर गोर्खालीले तत्कालीन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको ऐतिहासिकस्थल हो । २ सय ५१ वर्षअघि त्यो ठाउँमा इस्ट इन्डिया कम्पनीसँगको युद्धमा जित नभएको भए हाम्रो भूगोल र सीमा कहाँ र कस्तो हुन्थ्योे, कल्पनाभन्दा परको विषय छ । त्यही सिन्धुलीगढीको पहिलो साइकलयात्राले केही चर्चा पायो । 

नालीबेली सडक, रोसी र कोसीको किनार, महाभारतको शीतल हावा र जुनार अनि सिन्धुलीगढीको इतिहासका कारण आन्तरिक पर्यटकको आकर्षक बढ्न सक्ने पक्का थियो । राजमार्ग नै एउटा आकर्षण बनिरहेको छ । कतिले बाटोको फोटो राम्रो आउने ठाउँहरूलाई ‘सेल्फी डाँडा’समेत भन्न र फोटो खिचाउन थालेका छन् । 

राष्ट्रपतिद्वारा स्वागत, उपराष्ट्रपतिबाट बिदाइ

साइकलयात्रीको उत्साहले यो यात्रालाई निरन्तरता दिने पहल गर्‍यौँ । ‘राइड टु सिन्धुलीगढी’लाई ब्रान्डिङ गरेर हरेक वर्ष व्यावसायिक साइकलयात्रीलाई यसमा सहभागी गराउन सके पर्यटकीय विकास र चर्चा हुन्छ भन्ने अनुमान थियो । यसपटक तयारी अगाडिबाटै गर्ने तय भयो । स्थानीय सरकार गठन भइसकेकाले समन्वय गर्न चुनौती थियो । पटक–पटक छलफल गर्नुपर्‍यो । ‘साइकलमा मान्छे आएर के हुन्छ ?’ भन्ने प्रश्नको जवाफ खोज्नु र बुझाउनु आवश्यक थियो ।

काठमाडौंदेखि सिन्धुलीमाढीसम्मका १२ स्थानीय सरकारसँग छलफल गर्‍यौँ । यो क्षेत्रलाई नै चर्चामा ल्याउन मद्दत गर्छ र पर्यटकीय पूर्वाधारमा लगानी गर्न उत्साह दिन्छ भनेर आश्वस्त पार्‍यौँ । बाटोमा पर्ने होटेल व्यवसायी तथा होमस्टे सञ्चालन गर्न सक्ने ठाउँमा अतिथिसत्कारको तालिम दियौँ । यी सबै क्रियाकलाप गर्दै दुई रात तीन दिनमा १ सय ५३ किलोमिटरको यात्रा तय गरेर ‘राइड टु सिन्धुलीगढी–२०१७’ संस्करण सम्पन्न गरियो । 

यसपटक सिन्धुलीगढीबाट सिन्धुलीमाढीसम्म पुगेर सांगीतिक साँझमा यात्रा टुंग्यायौँ । सिन्धुलीगढीमा २५०औँ विजयोत्सव मनाइयो । साइकलयात्रीलाई सिन्धुलीगढीमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरिन् भने काठमाडौंमा उपराष्ट्रपति नन्दबहादुर पुनले बिदाइ गरेका थिए । 

सन् २०१७ को यात्रामा जनकपुरका दुई अभियन्ता कञ्चन झा र मनीष झाले सघाएका थिए । र, साइकलयात्रालाई जनकपुरसम्म निम्त्याएका थिए । त्यसैले सन् २०१८ को साइकलयात्राको तयारीका लागि जनकपुर पुगेँ । १३ वर्षपछि जनकपुर पुग्दा फरक पाएँ । मधेस आन्दोलनले मेरो मामाघर सरेर विराटनगर पुगेपछि जनकपुर जानेक्रम रोकिएको थियो । त्यहाँ पुग्दा भावुक पनि भएँ । तथापि, जनकपुरसम्म २ सय ५० किलोमिटर साइकलयात्राको तयारीमा जुटेका थियौँ । 

सहरदेखि सहरको यात्रा

वास्तवमा साइकल एउटा बहाना मात्र हो । यसको उद्देश्य सहरलाई सहरसँग र बाटोमा रहेका सहरउन्मुख गाउँहरूलाई पर्यटनसँग जोड्न सकिन्छ कि भन्ने प्रयास हो । हरेक सहरका आ–आफ्नै कथा छन् । पर्यटनलाई स्थानीय कथा, चालचलन र उत्पादनसँग जोड्ने प्रयास पनि कथा बन्यो । बर्दिवास, धनुषाधाम र जनकपुरधाम जोडिँदा यात्रामा नयाँपन थपियो । ‘रेकी’को वेला नै निकै उत्साहित भएको थिएँ, यात्राले स्थानीय युवा, कला, साहित्य र संस्कृतिलाई मात्र जोड्दै छैन, मन पनि जोड्छ कि भनेर । तयारीका लागि जतिपटक जनकपुर पुगेँ, हरेकपटक कपिलेश्वर पनि गएँ, मामाघरका छिमेकीलाई पनि भेटेँ । निकै माया र स्नेहले उत्साह दिँदै भन्नुभयो, ‘ओहो ! साइकलमा काठमाडौंबाट आउने ? खानामा केही समस्या भए यता आउनू, हामी सबै व्यवस्था मिलाऔँला ।’

अघिल्ला दुईपटक सहयोगी भएर गाडीमा हुइँकिए पनि यसपटक साइकलमै जनकपुर पुगेँ । साइकलमै यति लामो यात्रा मेरा लागि पहिलोपटक थियो । यात्रामा धेरै नयाँ अनि केही छुटेका पुराना साथी भेटिए । 

मन्दिर, कला र संस्कृतिको सहर काठमाडौंबाट नागबेली सुन्दर बिपी राजमार्ग हुँदै साइकल र सांस्कृतिक सहर जनकपुरसम्मको २ सय ५० किलोमिटर यात्रामा दुई दर्जन स्थानमा स्वागत तथा बिदाइ पाइयो । यतिधेरै व्यक्ति, संस्था र स्थानीय सरकारलाई एकैपटक साइकलयात्राले जोड्यो । 

पशुपति विकास कोषका पदाधिकारीले रुद्राक्ष र खादा लगाएर बिदाइ गरे भने भक्तपुर पर्यटन बोर्डले जुजुधौ खुवाएर शुभयात्रा भन्यो । यात्राभर राइकलयात्रीको उपचार निगरानीमा भक्तपुरको इबामुरा अस्पताल र नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखा मात्र होइन, दुम्जा, शीतलपाटी र धनुषाको धारापानीका रेडक्रस उपशाखाले समेत एम्बुलेन्स तथा स्वास्थ्यकर्मी खटायो । बनेपाको सुलभ सहकारीले साइकलयात्रीलाई खाजा र खादाले स्वागत गर्दा धुलिखेलको भट्टेडाँडा पार गरेपछि हनुमान माविका विद्यार्थीले उत्साह बढाए । भकुन्डे हुँदै रोसीखोलाको किनारैकिनार भोकाएर अगाडि बढेका साइकलयात्रीलाई मंगलटारका मानसरोवर श्रेष्ठले अण्डा, तरकारी र केरा टक्र्याए । 

पशुपति र जनकपुरधाम 

सुनकोसी गाउँपालिकाले कुशेश्वर दुम्जास्थित सुनकोसी किनारमा खानाको व्यवस्था मात्र गरेको थिएन, गाउँपालिका अध्यक्ष दीपा बोहरा, उपाध्यक्ष दीर्वसिंह मुक्तान नै स्वागतका लागि उपस्थित थिए । प्रदेश सभा सदस्य राजन दाहाल साइकलयात्रीलाई स्वागत गर्न दुम्जामा उपस्थित थिए । 

झाँगाझोलीको पुरानो गुठबजार हुँदै मुल्कोट पुगेर बिपी राजमार्ग भेटियो । गुठबजारमा माछा, चिउरा, खुवा र दही खाँदै पहिलो वासका लागि मुल्कोट पुगिएको थियो । मुल्कोट होटेल व्यवसायीको सांगीतिक कार्यक्रम, गोलन्जोर श्रेष्ठ समाजको खुर्कोट, माथिल्लो बाराको कृषि सहकारी, जुनार सहकारी खनियाखर्क र जुनार उत्पादक किसानले खनियाखर्कमा जुनारको जुस खुवाएर साइकलयात्रीको स्वागत गरेँ । 

सिन्धुलीगढीमा कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री उपस्थित थिए । दोस्रो वास सिन्धुलीमाढीमा माढीमा प्रतिभा कला केन्द्र सिन्धुली, परिवर्तन जागरण क्लब र रेडियो सिन्धुलीगढी ९२ मेगाहर्जले आयोजना गरेको सांगीतिक साँझले उत्साह थप्यो । होटेल व्यवसायी संघ सिन्धुली, माईस्थान मन्दिर व्यवस्थापन परिवार, नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ, कमलामाई कृषि तथा व्यावसायिक फर्म, सन्तोष श्रेष्ठ चुरे, सनसाइन स्कुल बर्दिवासले ठाउँठाउँमा स्वागत गरे भने बर्दिवास नगरपालिकाका मेयर विदुर कार्की, नेपाल होटेल तथा पर्यटन व्यवसायी महासंघका प्रदेश २ उपाध्यक्ष वैकुण्ठ सापकोटा स्वागतको लाइनमै थिए । मिथिला वाइल्ड लाइफ ट्रस्ट धारापानी, मोनास्टिक स्कुल जनकपुर, जनकपुर उपमहानगरपालिका, प्रदेश २ को कृषि तथा पर्यटन मन्त्रालयसमेतले साइकलयात्रीको हौसला बढाउन कुनै कसर बाँकी छोडेनन् । 

गत वर्ष काठमाडौंबाट सिन्धुलीमाढीसम्म पुगेको साइकलयात्रा यो वर्ष जनकपुर पुग्यो । आगामी दिनमा पशुपतिनाथ, सिन्धुलीगढी र जनकपुरको पर्यटकीय सम्बन्ध विस्तारमा साइकलयात्रा महत्वपूर्ण कडी बन्ने पक्का छ । बर्सेनी जनकपुर आउने लाखौँ पर्यटकलाई सिन्धुलीगढी हुँदै पशुपतिनाथ भित्र्याउन वा पशुपतिमा आउने लाखौँ पर्यटकलाई सिन्धुलीगढी हुँदै जनकपुर पुर्‍याउन सकिने सम्भावना छ ।

पशुपतिनाथबाट सिन्धुलीगढी हुँदै जनकपुरसम्म पुग्दा गलेको शरीर जनकपुरमा पाएको स्वागतले साँच्चै मामाघर पुगेको अनुभूति भयो । पहाडले छुटाएजस्तो या मधेसले बिर्सिए जस्तो अवस्थामा साइकलयात्रा सद्भाव जोड्ने र्‍याली पनि बन्यो । जनकपुर पुग्दा सबै भावुक भयौँ । म त झन् कर्मघरबाट जन्मघर हुँदै मामाघरसँग जोडिएँ, साइकलले ।