मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ फाल्गुण ३ शनिबार ११:१८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

वीर अस्पताल : डाक्टर आउँदा खुसी होइन दुःखी हुन्छिन् मञ्जु

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण ३ शनिबार ११:१८:००

वीर अस्पतालको आकस्मिक कक्षको कुनाको ‘बेड’मा छन् वीरबहादुर परियार । बेड नं ३ मा इन्तु न चिन्तुका  वीरबहादुर रहेकै  बेडको अर्को कुनामा वीरबहादुरकी श्रीमती मञ्जु परियार श्रीमानलाई होस आउला कि भनेर पर्खेर बसेकी छिन् ।  वीरबहादुरको लिभर र किड्नीमा समस्या देखिएको  कारण आईसीयुमा राखेर उपचार गर्नुपर्ने  डाक्टरकाे भनाइ छ ।  तर, मञ्जुसँग पैसा छैन् । घरबाट हिँड्दा सासुले ऋण गरेर दिएको ३ हजार काठमाडौं आइपुग्दै  सकियो ।

‘घरबाट बागलुङ आउँदा दुई जनाको हजार रुपैयाँ । बागलुङबाट काठमाडौं दुई जनाको १६ सय,’ हिसाब गर्छिन मञ्जु, ‘बसपार्कमा पुगेपछि बिरामी श्रीमानलाई देखेर मान्छेहरुले सानो कार(ट्याक्सी)मा हाल्दिए । त्यो कारवालाले यहाँ पुगेपछि ४ सय माग्यो । मसंग भएको पैसा त सकियो हजुर ।’मञ्जुसँग १ वर्षकी छोरी छोरी पनि छन् । ५ वर्षकी अर्की छोरी गाउँमै छिन् । बागलुङ बजारमै श्रीमान बेहोस भएपछि काठमाडौं हान्निएको मञ्जुले बताइन् ।  १ फागुन बिहान ५ बजे वीरबहादुरलाई अस्पताल भर्ना गर्ने बित्तिकै डाक्टरले आईसीयुमा राख्नुपर्छ भने । ‘डाक्टरले यहाँ आईसीयु खाली छैन, अन्त लैजानुहोस् भनेको छ । आफूसँग पैसा छैन कहाँँ लाने  ?’ यसो भनिरहँदा मञ्जुका आँखा टिलपिल भइसकेका थिए ।

काखकी छोरीलाई दुध खुवाउने बहानामा टाउको निहुराउँदै उनले आँसु पुछिन् । ‘घरमा बुढा सासु ससुरा छन् । यीनलाई(श्रीमान) केही भइहाल्यो भने कसरी बाँच्ने, कमाउने मान्छे नै यस्तो हुनुभयो,’ मञ्जु भन्छिन् ।२९ माघको दिउँसोदेखि बेहोस वीरबहादुको अझै राम्रोसँग होस आइसकेको छैन् । ‘मलाई चिन्नुभयो । सुन्नुहोस न !’ श्रीमानको सिरानी नजिकै गएर मञ्जु होस आएको नआएको जाँच्न खोज्छिन् । बेडसँगै जोडिएको एउटा मनिटरमा वीरबहादुरको हृदयको गती अंक र रेखामा देखिन्छ । डिजिटल अक्षर नबुझ्ने मञ्जु बेलाबेला श्रीमानका हातगोडा छाम्छिन् । तातो लागेपछि ढुक्क हुन्छिन् ।

बागलुङ  बढिगाढ गाउँपालिका ७ कि मञ्जुको परिवारमा कमाउने एक मात्र सदस्य हुन वीरबहादुर । परिवारको मूख्य आर्थिक श्रोत नै मृत्यु र जीवनको दोसाँधमा पुगेपछि मञ्जु हारगुहार गर्न थालेकी छिन् । ‘यीनलाई केही भए  छोराछोरी के गरी पाल्ने ? कसरी बाँच्ने ?’ मञ्जु याचना गर्दै भन्छिन, ‘लौन हुजुर केही गरेर बचाउनुपर्यो ।’ घरबाट निस्कँदा खाना खाएकी मञ्जुले काठमाडौं पुगेपछि बल्ला खाना खाइन् । वीर अस्पतालमा कसले आएर खाना दियो त्यो पनि होस छैन मञ्जुलाई, ‘स्वर, सुद्धि केही छैन बिहान कुन सर आएर खाना दिनु भएको थियो ।’

वीरबहादुरलाई ‘हेपाटाईटिस बी’ भएको आशंका छ । आईसीयुमा राख्यो भने बाँच्ने आस देखाएका छन् डाक्टरले । खाना खाने पैसा समेत नभएकी मञ्जुलाई डाक्टरले घरी इसीजीको पर्चा थमाउँछन, घरी औषधीको पुर्जा । त्यसैले त डाक्टर आउँदा खुसी हुनुको सट्टा दुःखी हुन्छिन् मञ्जु । अस्पताल परिसरमा हारगुहार गरेपछि बिहान कुनै अपरिचितले ८ सय रुपैयाँको औषधी किनिदिएको मञ्जुले सुनाइन् । ‘जग्गा जमिन भए बेचेर उपचार गर्थें त्यो पनि छैन,’ मञ्जु भक्कानिदै भन्छिन, ‘हे दैव !’ 

वीर अस्पताल प्रशासनले भने वीरबहादुरका लागि औषधी निःशुुल्क गरिएको दाबी गरेको छ । अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले वीरबहादुरका लागि अस्पतालको फार्मेसीबाट निःशुल्क औषधी उपलब्ध गराइएको बताए । डाक्टरले आईसीयुमा राखेर उपचार गर्नुपर्ने भनेपनि अस्पतालको आईसीयु खाली नभएका कारण आकस्मिक कक्षमै भएपनि वीरबहादुरको उपचार गरिने सेञ्चुरीले बताए । श्रीमान बिना घर कसरी जानु  ? मञ्जु भन्छिन, ‘यिनलाई नलिई घर के मुख लिएर जाउँला  ?’ श्रीमानको होस आउला वा कसैले सहयोग गरेमा श्रीमानको उपचार होला कि भन्ने पर्खाइमा छिन् मञ्जु ।