ती दिन
२६ अगस्त, १९७२ । गृष्मकालीन ओलम्पिकको भव्य उद्घाटनपछि पश्चिम जर्मनीको म्युनिख सहर उत्सवमय थियो । २१ खेलका एक सय ९५ इभेन्टमा प्रतिस्पर्धा गर्न संसारभरका सात हजारभन्दा बढी खेलाडी म्युनिखमा थिए । त्यही सात हजारको पंक्तिमा थिए, दुई नेपाली म्याराथन धावक जितबहादुर केसी र भक्तबहादुर सापकोटा ।
म्युनिख ओलम्पिकका रूपमा चिनिएको प्रतियोगितामा नेपालले दोस्रोपटक ओलम्पिकमा सहभागिताको अवसर पाएको थियो । तत्कालीन सदस्यसचिव कुमार खड्ग विक्रमको नेतृत्वमा ओलम्पिकमा प्रतिस्पर्धाका लागि जितबहादुर र भक्तबहादुर पनि म्युनिख पुगेका थिए । तीन महिनाअघिदेखि नै म्युनिखमा अभ्यास गरेका जितबहादुरका लागि भने सुखद रहेन । ‘आधा दौड पूरा गरेको थिए, मसल क्र्याक भयो,’ जितबहादुर झन्डै ५० वर्षअघिको म्युनिख सम्झिँदै भन्छन्, ‘मसल क्र्याक भएपछि दौडिन सकिनँ, बीचमै छोडेँ ।’
७३ वर्षीय जितबहादुरले त्यतिवेला मात्रै होइन, अहिले पनि मसल क्र्याक भएर दौड्न नसकेकोमा पीडाबोध गरेका छैनन् । किनकि, अर्को घटना भएको थियो, जसले सबै पीडा बिर्साइदियो । त्यो थियो, आंतकवादी आक्रमण ।
२०औँ ओलम्पिक सुरु भएको केही दिनपछि ५ सेप्टेम्बर, १९७२ को साँझ । विभिन्न खेलहरूको प्रदर्शन सकिएसँगै ओलम्पिक भिलेज बत्तीको चमकले धपक्कै बलेको थियो ।
नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने म्याराथन धावक जितबहादुर केसीलाई पदक लिएर एसियन खेलबाट फर्किँदाभन्दा मसल क्र्याक भएर बीचमै म्याराथन दौड छोडेर घर फर्किँदा खुसी लागेको थियो । किनकि, आतंकवादीले आफ्नै अगाडिको कोठामा बसेका इजरायली खेलाडीलाई मारेको र बन्धक बनाएको टुलटुलु हेरेका उनी ज्यान जोगाएर घर फर्किएका थिए ।
खेलाडी र पदाधिकारी खाना खाएर आफ्नो कोठामा फर्किँदै थिए । नेपाली टोली आफ्नो कोठामा फर्किसकेको थियो । जसमा धावकद्वय जितबहादुर र भक्तबहादुरसँगै प्रशिक्षक लक्षमण शाह, राखेपका सदस्य सचिव कुमार खड्गविक्रम शाह, उनका दुई छोरी, खेल पदाधिकारीहरू मनबहादुर शाही, केशव भट्टराईलगायत थिए ।
ओलम्पिक भिलेजको ग्राउन्ड फ्लोरमा खेलाडीले अभ्यास गर्थे, जसले गर्दा सधैँ कोलाहलपूर्ण वातावरण हुन्थ्यो । त्यो दिन पनि त्यस्तै थियो । सबैजना सुत्न आ–आफ्नो कोठामा गए । ओलम्पियन जितबहादुर पनि ढोका लाएर ओछ्यानमा ढल्किएका थिए ।
उनको कोठाको सामुन्ने इजरायली खेलाडीको कोठा थियो । हरेक देशका खेलाडी चिनाउन सजिलोका लागि कोठा अगाडि देशको झन्डा राख्ने चलन थियो । चार फिट जितको प्यासेज अनि आमुन्ने–सामुन्नेमा नेपाल र इजरायली खेलाडी तथा पदाधिकारीको कोठा थियो । सिसाको बारले छेकेको भए पनि एक–अर्काका गतिविधि प्रस्टैसँग देखिन्थ्यो ।
जितबहादुरका आँखा यसो झकाएका मात्र थिए, ड्वाङ–ड्वाङ आवाज आयो । ‘त्यस्तै रातिको १ बजेको थियो होला, कोठा नै उचालिने गरी पड्कियो,’ उनले सम्झिए, ‘मलाई लाग्यो, अन्डर ग्राउन्डमा खेल्ने मनोरञ्जन गर्नेले केही गरे होलान् ।’ उनले वास्ता गरेनन् । केहीबेरमै फेरि पड्किएको आवाज आयो । ‘तर, मैले त्यसपछि पनि पर्दा खोलिनँ, त्यतिकै निदाएछु,’ जितबहादुर बोेले ।
शारदा सरकारले ढोका ढकढक्याएपछि
सधैँ बिहान ६–७ बजेसम्म ओछ्यानमा आराम गर्ने बानी थियो उनको । ‘तर, त्यो दिन त ४ बजे नै ढोका ढकढक्याउँदै शारदा सरकार (सदस्य सचिव खड्ग विक्रमकी छोरी) आउनुभयो । ढोका खोल्नेबित्तिकै देखिहालेँ, प्यासेजभन्दा अगाडि रगत लतपतिएको थियो,’ उनी त्यो बिहान दृश्य उतार्छन्, ‘दुईजना इजरायली खेलाडी मरिसकेका थिए । नौजनालाई पाता फर्काएर बाँधिएको थियो ।’ त्यो देख्नेबित्तिकै उनका हातखुट्टा फतक्कै गले । केही बोल्न सकेनन् । उनी त्यो दृश्य सम्झिन्छन्, ‘लाइट आँखामा नपरोस् भनेर बत्तीको तार अलि तलसम्म ल्याएको हुन्थ्यो । त्यही तार तानेर बाँधेर राखेका रहेछन् । पेस्तोल बोकेका चारजना र ग्रिनेट बोकेको एकजना वरिपरि घुमिरहेका थिए ।’
ओलम्पिक भिलेजमा एकाएक हल्ला मच्चिसकेको थियो । डरले काँप्दै केही नबोकी त्यहाँबाट विस्तारै सबैजना बाहिर निस्किए । पछि थाहा पाए, प्यालेस्टाइनबाट आतंकवादी समूह ‘ब्ल्याक सेप्टेम्बर’ लडाकुले इराजयली खेलाडीलाई बन्धक बनाएको रहेछ । धेरैबेर बाहिर नै टहलेँ । खाना त खाएँ, तर कोठामा आउने अवस्था थिएन ।
केहीबेरपछि ब्ल्याक सेप्टेम्बर समूहका प्रवक्ताले इजरायलको जेलमा रहेका दुई सय ३४ प्यालेस्टायनीलाई छोड्नुपर्ने माग गर्यो । उनीहरूले नछोड्दासम्म बन्धक बनाएका इजरायली खेलाडीलाई आफूसँगै लैजान दिन माग गर्यो । जवाफमा जर्मन सरकारले बरु आफ्ना उच्च तहका अधिकारीहरू लैजान र खेलाडीलाई छोडिदिन आग्रह गर्यो । तर, लामो समय वार्ता गर्दा पनि आतंकवादी टसमस नभएको जितबहादुर सम्झिन्छन् । खेलाडी लैजान नदिएपछि बम पड्काएर ओलम्पिक भिलेज नै उडाउने धम्की दिए ।
प्यासेजभन्दा अगाडि रगत लतपतिएको थियो, दुईजना इजरायली खेलाडी मरिसकेका थिए । नौजनालाई पाता फर्काएर बाँधिएको थियो । पेस्तोल बोकेका चारजना र ग्रिनेट बोकेको एकजना वरिपरि घुमिरहेका थिए ।
दिनभर अनेक प्रयास भए । राति ९ बजेसम्म पनि कुनै सहमति भएन । ‘सुत्न जाने त कुरै भएन्, अब के होला भन्ने मात्रै थियो,’ उनी भन्छन् । राति ९ बजेपछि जर्मन सरकारले खेलाडी लान दिने भयो । उनीहरूलाई लैजान हेलिकोप्टर ओलम्पिक भिलेजभित्र आयो । खेलाडी बोकेर हेलिकोप्टर अर्को देश पुग्न सक्ने स्थिति थिएन, त्यसैले ओलम्पिक भिलेजबाट विमानस्थलसम्म लैजाने र त्यहाँबाट जहाजमा लैजान दिन जर्मन सरकार सहमत भयो । ‘खेलाडी र आतंकवादी लिएर हेलिकोप्टर गएपछि केही राहत महसुस भयो । बाँचियो भनेझैँ लाग्यो,’ जितबहादुर लामो सास ताने ।
विमानस्थलमा जब बत्ती निभ्यो
खतराको घन्टी टरिसकेको थिएन । ओलम्पिक भिलेजबाट विमानस्थलनजिकै थियो । जब आतंकवादीसहित खेलाडीको टोली विमानस्थलमा ओर्लियो । त्यसपछि हेलिकोप्टरबाट झारेर प्लेनतर्फ लामबद्ध रूपमा खेलाडीहरूलाई लैजाँदै गर्दा झ्याप्पै बत्तीको लाइन काटियो । ‘त्यसपछि गोली चल्यो । पाँचजनामा तीनजना आतंकवादी मारिए । एकजना जर्मन प्रहरी पनि मरे,’ जितबहादुर त्यो क्षण सम्झिँदै भन्छन्, ‘दुईजना आतंकवादी गायब भए । अब उनीहरूले ओलम्पिक भिलेजमा पसेर बम पड्काउने हल्ला चल्यो । सबैजना त्यहाँबाट भाग्न थाले । हजारौँ खेलाडी र अफिसियल बसेको ओलम्पिक भिलेजबाट बाहिरिने दुईवटा गेटमा मान्छेको ठेलमठेल भयो ।’
त्यसमा फेरि जर्मन सरकारले आतंकवादी खोज्न कुकुर छोडेको थियो । अँध्यारोमा त्यो कुकुरले भेट्यो भने एकै गाँस बनाउला भन्ने डर उनको मनमा पनि थियो । ‘केहीबेरमै घाइते अवस्थामा आतंकवादी भेटिए, अब शान्त भएर बस्दा हुन्छ भन्ने सूचना आयो,’ यति बोल्दा जितबहादुर पनि शान्त देखिए । घाइते आतंकवादीलाई कुकुरले नै लुकेको ठाउँबाट घिसार्दै ल्याएको थियो ।
आतंकवादको कहर सिद्धियो । त्यही राति प्यालेस्टायनका खेलाडीलाई पनि फिर्ता पठाइयो । ‘प्यालेस्टाइनका खेलाडीलाई नभगाएको भए त अरू खेलाडीले नै कुटेर मार्थे होला । तिमीहरूको देशबाट गोली हान्न आएका हुन् भन्थे होला,’ जितबहादुर भन्छन्, ‘मलाई त रिस उठेको थियो ।’
आतंकवादीहरू तार काटेर ओलम्पिक भिलेजभित्र छिरेका रहेछन् । ‘कसैले उनीहरूलाई खेलाडीको कोठा देखाइदिएछन् । उनीहरूले योजनाबद्ध रूपमा नै खेलाडीको कोठामा छिर्ने मौका पाए । र बन्धक बनाए,’ उनी भन्छन्, ‘धन्न आत्मघाती थिएनन्, नत्र हामी पनि मथ्र्यौँ होला ।’ तर, त्यस्तो भएन । उनीहरूले इजरायली खेलाडी लैजान खोजेका थिए । ‘त्यहाँ बम पड्काएको भए त इजरायलीसँगै चाँडो मर्नेमा हामी नै हुन्थ्यौँ,’ जितबहादुर लामो सास तान्छन, ‘धन्न ज्यान बच्यो । अहिले पनि कसरी बाँचियो जस्तो लाग्छ ।’
‘देशका लागि पहिलो पदक जितेँ, मेरो लागि पनि सफल प्रतियोगिता हो, तर मलाई मनिलाको एसियन गेमभन्दा म्युनिख ओलम्पिककै धेरै याद आउँछ । अहिले पनि म्युनिखले झस्काइरहन्छ ।’
झस्काइरहने म्युनिख ओलम्पिक
त्यो घटनाले तीन दिनसम्म ओलम्पिक गतिविधि ठप्प भए । त्यसपछि कडा सुरक्षा व्यवस्था अपनाइयो । ओलम्पिक भिलेजमाथिबाट विमान उड्न निषेध गरियो भने भिलेजबाहिर र भित्र पनि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरियो । फेरि, प्रतिस्पर्धाहरू सुरु भए ।
त्यो घटनाले खेलाडीलाई मानसिक रूपमा धेरै कमजोर बनाएको उनी बताउँछन् । ‘हामीलाई मात्र होइन, सबै देशका खेलाडीहरूको मनमा डर थियो । केही भइहाल्छ कि भन्ने खालको त्रास थियो,’ उनी भन्छन्, ‘त्रासले गर्दा म्युनिख ओलम्पिकमा धेरै कीर्तिमान बन्न सकेनन् । ओलम्पिक भिलेजबाट कहिले निस्कन पाइला भन्ने लाग्थ्यो । ’
उसो त जितबहादुरको खेल जीवनमा जर्मनीको म्युनिखभन्दा पनि फिलिपिन्सको मनिला स्वर्णिम अक्षरले कँुदिएको छ । सन् १९७३ मा मनिलामा भएको प्रथम एसियन ट्र्याक एन्ड फिल्डमा नेपालको तर्फबाट जितबहादुरसँगै बैकुण्ठ मानन्धर, केशरबहादुर बानियाँ र भक्तबहादुर सापकोटाले भाग लिएका थिए । र, उनले म्याराथनमा कांस्यपदक जितेका थिए ।
जुन नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक हो । ‘देशका लागि पहिलो पदक जिते, मेरो लागि पनि सफल प्रतियोगिता हो,’ ७१ वर्षीय जितबहादुर गम्भीर हुँदै भन्छन्, ‘तर, मलाई मनिलाको एसियन गेमभन्दा म्युनिख ओलम्पिककै धेरै याद आउँछ । अहिले पनि म्युनिखले झस्काइरहन्छ ।’