मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ५ शनिबार ०६:२९:००
Read Time : > 3 मिनेट
खेलकुद

अस्ट्रेलियामा बलिङ गर्न गाह्रो : सन्दीप लामिछाने

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ५ शनिबार ०६:२९:००

तिवेला नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिगमा व्यस्त छन् । सन्दीप आबद्ध सिल्हेट सिक्सर्सले ६ खेलमा २ जित मात्र निकालेको छ । शुक्रबार ढाका डाइनामाइट्ससँग ६ विकेटले पराजित भएपछि सिल्हेटको प्ले अफ सम्भावना कमजोर बनेको छ । सन्दीपले ६ खेलमा ४ विकेट हात पार्दै बिपिएलमा आफ्नो प्रभावशाली प्रदर्शन कायम राखेका छन् । सन्दीपले उत्कृष्ट डेब्यु गरे पनि बीचमा दुई खेलमा विकेट लिन सकेनन् । जसका कारण एक खेल नखेलेका उनले पछिल्ला दुई खेलमा पुनः आफ्नो ‘ट्रयाक’ पकड्न सफल भए । उनको सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट वेभ पोर्टल ‘क्रिजबज’ ले सन्दीपसँग कुराकानी गरेको थियो । उनीसँगको कुराकानीको सारसंक्षेप यस्तो छ :

अस्ट्रेलियामा खेल्न गाह्रो
अस्ट्रेलियामा जानुअघि एसियन र इंग्लिस कन्डिसनमा क्रिकेट खेल्ने अवसर पाएँ । तर, अस्ट्रेलियाको अनुभव बिलकुलै फरक छ । विश्वको चर्चित लिग बिगबासमा खेल्ने मेरो चाहना थियो । यतिवेला मेरो सपना भनौँ वा चाहना त्यो पूरा भयो । एक क्रिकेटरको नाताले धेरै लिग पनि खेलें । अस्ट्रेलियामा चलिरहेको लिग र अन्य मुलुकमा चलिरहेका लिगमा बलिङ गर्नु धेरै फरक छ । अस्ट्रेलियन पिचमा ब्याट्सम्यानले तपार्इंको प्रत्येक बलमा छक्का प्रहार गर्न अग्रसर भइरहेका हुन्छन् । त्यहाँको पिचमा बल मुस्किलले टर्न हुन्छ । तर, एसियन कन्डिसनमा बलिङ गर्नु धेरै सजिलो छ । यहाँका पिचमा सहजै बल टर्निङ हुन्छ । 

बिपिएलसँग पहिले नै सम्झौता
बिगबासमा मेलवर्न स्टार्सबाट प्रतिस्पर्धा गर्नुअघि नै मैले बंगलादेशको बंगलादेश प्रिमियर लिगमा सम्झौता गरिसकेको थिएँ । यो १०–११ महिनाअघिको कुरा थियो । यस सम्बन्धमा मैले बिगबासलाई अगाडि नै जानकारी गराएको थिएँ । यसैकारण म बिगबास छाडी अहिले बिपिएलमा खेलिरहेको हुँ । मैले बिपिएलमा कति दिन खेल्ने भन्ने स्पष्ट पारेको छु । ढाकामा खेल्न पाउनुको पछाडि सिल्हेट सिक्सर्सका कार्यकारी प्रमुख यासिर आबैदले धेरै सहयोग गर्नुभएको छ । उनकै कारण आज म बिपिएलको एक हिस्सा बन्न पाएँ । यतिवेला मेरो दिमागमा केबल बिपिएल मात्र छ । बिगबास अहिले मेरो मनमा छैन ।

क्लार्कको पत्र देख्दा ‘सक’ 
अस्ट्रेलियन विश्व च्याम्पियन कप्तान माइकल क्लार्कसँग मेरो पहिलो भेट हङकङ टी–२० ब्लिजमा भएको थियो । हङकङमै रहेका क्लार्कले नेपालबाट आएका एक फुच्चे केटोको निकै राम्रो छ भन्ने सुनेका रहेछन् । उससँग केही पनि छैन तर निकै रामो खेल्छ भन्ने उनलाई बताइएको थियो । सम्भवतः क्लार्क टी–२० ब्लिजमा मेरो प्रदर्शनबाट प्रभावित भएको हुनुपर्छ । त्यसैकारण उनले मलाई अस्ट्रेलिया खेल्न र प्रशिक्षण गर्न बोलाउनुभयो । एक सामान्य नेपाली केटो जोसँग न त स्पोनसरसिप नै थियो न कि पैसा नै । तर, क्लार्कले अस्ट्रेलिया भ्रमणको सबै जिम्मेवारी लिनुभयो । अस्ट्रेलियामा खेल्नु मेरो सपना पनि थियो । त्यसभन्दा पनि क्लार्कले मलाई अस्ट्रेलियामा आउन पठाएको पत्र देख्दा म स्तब्ध ‘सक’ भएँ । यो सत्य कुरा हो । ‘मलाई माइकल क्लार्कले खेल्न बोलाएको रहेछ ?’ पत्र हेर्दै यो शब्द निस्किएको थियो । 

आइपिएलमा नेपालको नाम
इन्डियन प्रिमियर लिग (आइपिएल) जस्तो प्लेटफर्ममा अवसर पाउनु चानचुने होइन । यहाँ धेरैले खेल्ने सपना देखेका छन् । कमैका मात्र आइपिएल खेल्ने सपना पूरा हुन्छन् । एक नेपाली र क्रिकेटरका नाताले म आफूलाई भाग्यमानी ठान्छु । किनभने, मैले सानो उमेरमा नै आइपिएलमा खेल्ने अवसर पाएँ । आइपिएलअघि मैले कुनै पनि अन्तर्राष्ट्रिय फ्रेन्चाइज बेसमा हुने टी–२० लिग खेलेको थिइनँ । त्यो नै मेरो पहिलो अन्तर्राष्ट्रिय टी–२० लिग थियो । त्यहाँ मैले नेपालको नाम राख्न सफल भएँ । अन्तिम तीन खेलमा मौका पाएँ । त्यो मौकालाई खेर फाल्न दिइनँ । यसपटक दिल्ली क्यापिटलले राम्रो टिम बनाएको छ । पुनः एकपटक दिल्लीसँग सम्झौता गर्न पाउँदा म ज्यादै खुसी छु । आइपिएलको रमाइलो पक्ष भनेको म नियमित रूपमा दिल्लीका प्रशिक्षक रिकी पोन्टिङसँग ‘टच’ मा रहिरहें । फेरि म एक भोकाएको क्रिकेटर हुँ । जो बलर दैनिक केही न केही सिक्न चाहन्थेँ । मैले पूरै सिजनमा प्रशिक्षक पोन्टिङसँग विभिन्न पक्षमा सुझाब लिएँ । 

समयअनुसार खेल ढाँचा
सम्भतः रसिद खानले अहिलेको जेनेरेसनलाई प्रभाव पार्नुभएको छ । यसलाई कसैले पनि नकार्न सकिन्न । वर्तमान समयमा उहाँले स्पिन बलिङमा धेरै प्रभाव पार्नुभएको छ । तर, मेरो व्यक्तिगत धारणा मान्ने हो भने पहिला र अहिले क्रिकेट खेल्ने शैली पनि परिवर्तन भएको देख्छु । सन् २००३ र २०१९ को जेनेरेसनका क्रिकेटर नै फरक छन् । त्यसवेला थोरै ब्याट्सम्यानले मात्र स्विप सर्ट प्रहार गर्न सक्थे । त्यसैकारण त्यो जमानामा एक स्पिन बलरले बललाई चारैतिर बल फ्याक्न सके । अहिले त्यस्तो छैन । वर्तमान समयमा त सबै ब्याट्सम्यान खाली स्विप प्रहार गर्न मात्र खोज्छन् । यसैकारण सन् २०१९ को जेनेरेसनमा चाहे त्यो फास्ट वा स्पिनर नै नहोस्, उसले प्रत्येक बल फ्याँक्दा  धेरै मिहिनेत गर्नुपर्छ । यी पक्ष बाबजुत रसिद खानले लेग स्पिनमा एक किसिमको परिवर्तन नै ल्याउनुभयो ।

बलिङमा भेराइटिज
सुरुका दिनमा मैले मध्यम र ढिलो बलिङ गरेको थिएँ । अहिले मेरो बलिङ शैलीमा परिवर्तन आएको छ । यदि, तपाईंले मैले दुई वर्षअघि र अहिले बलिङ गरेको भिडियो हेर्नुभयो भने त्यसमा परिवर्तन भएको देख्न सक्नुहुन्छ । मेरो बलिङको विशेषता भनेको प्रत्येक बल फरक किसिमले फ्याँक्न सक्छु । आवश्यकताअनुसार म कहिले स्पिड बल गर्छु भने कहिलेकाहीँ स्लो बल  फ्क्याँक्छु । र, बलिङ गर्दा विपक्षी ब्याट्सम्यान कुन रूपमा प्रस्तुत भइरहेका छन्, त्यसअनुसार पनि बलिङ गर्नुपर्छ । ब्याट्सम्यानलाई दबाबमा राख्ने हो भने हामीले सही लाइनमा बलिङ गर्नुपर्छ । एक बलरले सही लाइनमा बल फ्याँक्दा  फाइदा नै हुन्छ । 

ब्याट्सम्यानलाई आउट पार्न लेग स्पिन
सुरुका दिन मैले दाजुभाइ र साथीहरूसँगै क्रिकेट खेलेँ । त्यसवेला मध्यमगति र अफस्पिन बलिङ गरेँ । हाम्रो लक्ष्य नै जसरी पनि ब्याट्सम्यानलाई आउट पार्ने हो । जसो जसो बलिङ गर्न आउँथ्यो, त्यसो त्यसो गरी नै बलिङ गरेँ । तर, ब्याट्सम्यानलाई आउट पार्न निकै मुस्किल पथ्र्यो । यसैकारण मैले ब्याट्सम्यनलाई कसरी छिटो आउट पार्न सकिन्छ भनी सोच्न थालेँ । फलस्वरूप मैले लेग स्पिन सुरु गरेँ । लेग स्पिन बलिङ नीति अपनाए पनि सहजै ब्याट्सम्यान आउट हुन थाले । सानो छँदा घरमा टिभी थिएन । कहिलेकाहीँ रेडियो कमेन्ट्री सुन्थेँ । पछि घरमा टेलिभिजन आयो । अनि मात्र मैले अस्ट्रेलियन महान् बलर सेन वार्नको बलिङ गरेको शैली हेर्न पाएँ । बिस्तारै वार्नले बलिङ गरेको शैली पछ्याउँदै गएँ । 

घरेलु क्रिकेट सुधार्नुपर्छ
यो दुर्भाग्य नै भन्नुपर्छ । मैले अन्तर्राष्ट्रिय लेबलमा क्रिकेट खेल्न थालेदेखि नै नेपालमा क्रिकेट संघ प्रतिबन्धमा छ । आइसिसीले नेपाल क्रिकेट संघलाई किन प्रतिबन्ध ग-यो त्यसवेला मलाई त्यति धेरै जानकारी छैन । जबसम्म घरेलु क्रिकेटको विकास हुन सक्दैन, नेपालको क्रिकेट पनि माथि उठ्न सक्दैन । घरेलु क्रिकेट मजबुत बनाउन संघ नै चाहिन्छ । हामीले आशा गर्नुपर्छ, नेपालमा भइरहेका समस्या अब छिट्टै समाधान हुनेछ । यसबीच नेपालमा विभिन्न टी–२० लिग हुने गरेका छन् । यसैबाट हामीको क्रिकेट धानेको छ ।