मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ फाल्गुण २ शुक्रबार १२:२०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

५४ वर्षदेखि पाठेघरको समस्या लुकाउँदै महिला

Read Time : > 2 मिनेट
२०७६ फाल्गुण २ शुक्रबार १२:२०:००

लठ्ठीको साहाराले स्वास्थ्य शिविरसम्म आइपुगेकी ७६ वर्षीया वृद्धाले आफू ५४ वर्षदेखि पाठेघर खस्ने समस्याबाट पीडित भएकाे दुखेसाे पाेखिन् । १० वर्ष अघिदेखि ‘रिङ्ग पेशरी’ लगाएर पाठेघर अड्याउँदै आएकी उनलाई ठ्याक्कै तिथिमिति त सम्झना छैन । तर, आफ्ना चार सन्तानमध्ये पहिलो सन्तान जन्मिएलगत्तै उनमा याे समस्या देखिएकाे हाे ।

'फलाेअप' मा आएकी उनले आफ्नाे विगत सम्झदैँ भनिन्, ‘ठूलो छोरा ५४ वर्ष जतिकाे भयो, त्यति बेलैबाट अप्ठ्यारो हुन थालेकाे हाे । मिठो मसिनाे खान त चाडपर्वनै पर्खनु पथ्र्यो । स्याहार-सुसार भएन, सुत्केरी भएको २० दिन नपुग्दै अर्म-पर्ममा पुग्थ्यौं । एक किलो मासुले सुत्केरी उम्काउथे ।’ 

‘मिठो मसिनाे खान त चाडपर्वनै पर्खनु पथ्र्यो । स्याहार-सुसार भएन, सुत्केरी भएको २० दिन नपुग्दै अर्म-पर्ममा पुग्थ्यौं । एक किलो मासुले सुत्केरी उम्काउथे ।’ 

बुधबार मालिका गाउँपालिका-५ छापहिले स्वास्थ्य चौकीमा राखिएकाे स्वास्थ्य शिविरमा आएका अधिकांश महिलाले आफुहरू पाठेघर खस्ने समस्याबाट पीडित भएकाे बताए ।

महिलाले भोग्दै आएका स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले मालिका गाउँपालिकाले पाठेघर खस्ने महिलाहरुको ‘स्क्रिनिङ्ग गर्ने,  रिङ्ग पेशरी लगाउने तथा पाठेघरको मुखको परीक्षण गर्नका लागि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । शिविरमा एक सय ५० जना महिलाहरुले पाठेघर तथा यौनजन्य समस्याको परीक्षण गराएको गाउँपालिकाले जनाएको छ । 

परीक्षणका क्रममा तीन जना महिलामा पाठेघरको जटिल समस्या देखिएकाले थप उपचारको लागि वुटवल रिफर गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्त भुषालले जानकारी दिए । उनका अनुसार शिविरमा १० जना पाठेघरबाट पीडित महिलाकाे रिङ्ग पेशरी राखिएकाे छ । ४९ जना महिलामा याैंन रोगकाे समस्या देखिएकाे छ।  

गाउँपालिकाले केही दिन अघि पालिकाकै नेटामा पनि ९२ जना महिलाले पाठेघर तथा यौंन राेगसम्बन्धि स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । स्वास्थ्य शिविरलाई  अभियानकै रुपमा सञ्चालन गरी गाउँ तथा वडास्तरमा पु-याउन लागेको संयोजक भुषालले बताए । 

गाउँपालिकाले गत वर्ष पनि अर्जे, ह्वाङ्दी र अर्खाबाङका महिलाहरुको निःशुल्क पाठेघर परीक्षण गरेको थियो । पाठेघरको समस्या भएका अधिकांश महिलामा सरसफाई र जनचेतनाको कमी देखिएको स्वास्थ्य परीक्षणमा संलग्न गुुल्मी अस्पतालकी नर्स कमला रेश्मीले बताइन् । उनले स्वस्थ महिलाले पनि ५-५ वर्षमा एक पटक पाठेघरको परीक्षण गर्नु पर्ने बताइन् । 

गाउँ-गाउँमा स्वास्थ्य सेवा

गाउँपालिका अध्यक्ष रितबहादुर थापाले पालिकाको  आर्थिक तथा सामाजिक विकासका लागि योजनावद्ध रुपमा अघि बढेको बताए । थापाले निशुल्क मुटु रोगको परीक्षण, आँखा उपचार, पाठेघरसम्बन्धी शिविर सञ्चालन गरेर स्वास्थ्य सेवालाई जनस्तरमा पु-याएको बताए । 

मातृ तथा शिशु मृत्यु दर घटाउन बर्थिङ्ग सेन्टर स्थापाना तथा स्तरवृद्धि, सामुदायिक स्वास्थ्य इकाई सञ्चालन, घरमा शुन्य प्रसुतिलगायतका सेवामा आमजनताको पहुँच स्थापित गर्न गाउँपालिका अग्रसर रहेकाे प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए । 

मालिका गाउँपालिका–५ का वडाअध्यक्ष श्यामलाल गिरीले सुत्केरी ब्यथा लागेपछि बोकेर सदरमुकाम पुग्ने अवस्थाको अन्त्य भएको बताए । उनले भने, ‘पाठेघर खसेका महिलादेखि मोतियाबिन्दु भएका बिरामीले समेत गाउँमै सेवा पाएका छन् । यसबाट आत्मसन्तुष्टि मिलेको छ । हामी सेवा विस्तारको अभियानमै छौं ।’

स्वास्थ्य चेतनाको अभाव : डा. पच्या

गुल्मीका ग्रामिण क्षेत्रका महिलामा चेतना अभावले पाठेघर खस्ने समस्या बढ्दै गएको छापहिले स्वास्थ्यचौकी इन्चार्ज देवबहादुर महतराले बताए । उनका अनुसार दलित र विपन्न बस्तीमा यसको ठूलो समस्या छ । उनीहरू निःशुल्क उपचार गर्न समेत मान्दैनन् । पाठेघर खसेका तथा जटिल समस्या भएका अधिकांश महिलामा खानपान, सरसफाई र जनचेतनाको कमी छ । 

गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले धेरै बच्चा जन्माउने, घरमै सुत्केरी हुने, सुत्केरी अवस्थामै भारी काम गर्नाले पाठेघर खस्ने समस्या हुने गरेको बताए । ‘गाउँको एउटा शिविरमा मात्रै डेढ, दुई सय जना महिलाले समस्या लिएर आउँछन’ उनले भने, ‘प्रत्येक स्थानीय तहमा स्वास्थ्य सचेतना कमजोर छ । जनताको नजिकको सरकार स्थानीय सरकार र जनप्रतिनिधि भएकोले आमनागरिकको स्वास्थ्यप्रति उहाँहरु संवेदनशील बन्नु पर्छ ।’