१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
लेखनाथ न्यौपाने
२०७६ फाल्गुण २ शुक्रबार ०९:३४:००
Read Time : > 8 मिनेट
दृष्टिकोण

जनयुद्ध, गोल्डस्टार जुत्ता र कमरेड आक्रोश

०५२देखि ०६२सम्म माओवादी कार्यकर्ता र गोल्डस्टार जुत्तालाई एउटै अर्थमा बुझ्थे प्रहरी र शाही सेना

Read Time : > 8 मिनेट
लेखनाथ न्यौपाने
२०७६ फाल्गुण २ शुक्रबार ०९:३४:००

महाभारत पहाडको दक्षिण काखमा ललितपुरको गिम्दी गाउँ छ । कालेश्रवरका बालकृष्ण तिमिल्सिना दाइ र म सोही गाउँको कटुवा चौतारीमा बसेका थियौँ । गर्मी मौसम, उकालो हिँडाइपछि चौतारीको बसाइ आनन्ददायक थियो । गन्हाएकै भए पनि फेदीमा बागमतीको गति, भित्री मधेस (मकवानपुर) र मधेस (बारा)को दृष्य महाभारतबाट हेर्दा थपिएको आनन्द । पेटीमा झोला बिसाएर थकाइको सुस्केरासँगै बाराको लालबकैया (नदी) नियाल्दा त बिछट्टको आनन्द अनुभूति हुने । ठीक यहीवेला चौतारीमा एक युवकले डोको बिसाउँछ । उसलाई हेर्दा, थाप्लोमा नाम्लाको डाम छ, निधारमा मुजा र चरक्क चिरिएका कुर्कुच्चा । 

‘कहाँ पुग्ने हो भाइ ?’ ऊसँग नजर जुधेपछि मैले जिज्ञासा राखेँ । जनजाति लवजमा ‘ऊ त्यहीँ हो’ भनेर दाहिनेतिर औँला देखायो । औँलाको टुप्पो पछ्याउँदा गिम्दीको बाँजगाउँ पुगियो । ‘कहाँ गएर आउनु’भो त ?’ मेरो अर्को जिज्ञासा थियो । ‘गोटीखेल । गाउँभरिको खुवा जम्मा गरेर गोटीखेल पुर्‍याएको र त्यहाँबाट तल पसलको माल ल्याएको ।’ उसले ठाम र काम बतायो । तपाईं  भनेर सम्बोधन गरेको विषयले ऊ अचम्ममा परेको बुझ्न सकिन्थ्यो । उसले पछि त्यसको रहस्य खोल्यो कि ‘मलाई यतिखेरसम्म कसैले पनि तपाईं  भनेर सम्बोधन गरेको थिएन ।’ ‘तपाईं  तामाङ हो ?’ भनेर निष्कर्षसहित जान्न खोजेँ । उसले फेरि अचम्म मान्दै प्रतिप्रश्न गर्‍यो ‘कसरी थाहा पाउनु’भो ? ‘तपाईंको आ“खा र बोली’ भन्ने जवाफ उसले बुझेन । यति सोझो कि आँखा छाम्न पो थाल्यो ।

कुरो प्रस्ट्याएपछि ‘हाम्रो गाउँमा मगर पनि छन् नि !’ भनेर उल्टो मेरो परीक्षा लिन खोज्यो । ‘माओवादी देख्नुभा’छ त तपाईंले’ भनेर उसको मन चोर्न खोजेँ । त्यसपछि उसले हाम्रा झोला, अनुहार र हाउभाउ नियाल्यो । बोलेन, मुस्कुरायो मात्र । गिम्दीबाट एकाध युवा माओवादी सेनामा भर्ती भएको कुरा उसले थाहा नपाउने कुरै थिएन । उसको अनुहार पढ्दा इमानदारी झल्किन्थ्यो ।

जीवन र काम एवं बुझाइ र प्रस्तुतिले लोभ्याइसकेको थियो मलाई । ललितपुर पहाडका सबै गाउँ पुग्ने बाटा र गोरेटा जानेको, फरक मातृभाषी सहयोगीको खोजीमा थियौँ, हामी । ‘तपाईं माओवादी बन्ने त भाइ ?’ मैले प्रस्ताव राखेँ । उसले न हुन्छ भन्यो, न त हुँदैन नै । तर, उसको अनुहार नियाल्दा मेरो प्रस्तावले छोएको अनुमान लगाउन गाह्रो भएन । झन्डै एक घन्टाको भलाकुसारीपछि उसले मुख खोल्यो, ‘बालाई सोधेर भोलि भन्छु ।’ भोलि त्यही चौतारामा भेट्ने सहमतिसहित ऊ ओरालो लाग्यो, हामी उकालो । चन्दनपुर पुग्ने लक्ष्यलाई गिम्दीमै अड्याएर हामीले बरबोटे टाकुरामा वास बस्ने निश्चित गर्‍यौँ । 

भोलिपल्ट ऊसँग भेट भयो । रित्तो हात आएको देख्दा एउटा मनमा ‘जान्न’ भन्छ कि भन्ने लाग्यो । अर्को मनमा लाग्यो, नकारात्मक उत्तर दिनका लागि हामीलाई भेट्न धाई–धाई किन आउँथ्यो । श्रमिक तामाङ युवकले माओवादी बन्ने फैसला सुनायो, तर पनि ऊ अधैर्य देखिएन । आखिर उत्पीडनमा परेका नै आकर्षित थिए, माओवादी आन्दोलनमा । उसले आफ्नो पार्टी नाम ‘आक्रोश’ जुरायो ।

राजधानीसँगै जोडिएको जिल्लामा जनसरकार घोषणा र पुरानो सत्तालाई नाकाबन्दी लगाउने निर्णय राष्ट्रिय–अन्तर्राष्ट्रिय सञ्चारको केन्द्रीय विषय बन्यो, सामान्य मान्छेमा उत्सुकता र भय दुवै थियो भने पार्टी पंक्तिभित्र नयाँ रक्तसञ्चार

हामी आठ महिना पार्टीको काममा सँगसँगै हिँड्यौँ । यो अवधिमा हामी कालेश्रवरदेखि मकवानपुरको राईगाउँसम्म, फापरबारीदेखि हटिया हुँदै ठिंगन (मकवानपुर)सम्म र माल्टादेखि चौघरे (ललितपुर)सम्म अनि काभ्रे, सिन्धुली र बारातिर कति हिँडियो कति । कहिले मासु र भात खाइयो, कहिले टाकी र मोहीको तिहुनसँग ढिँडो अनि कैयौँ छाक पानीको भरमा । कुनै रात न्यानो ओछ्यान पायौँ, कतिपय रात जंगल र बागमती किनाराका ठूला ढुंगाका ककेरामा बितायौँ । बरु कहिलेकाहीँ मलाई सकस अनुभूति हुन्थ्यो, तर उसले थकाइ, भोक र दुःख लागेको कुरा कहिल्यै गरेन । उत्ताउलो, अस्वाभाविक र हल्का व्यवहार कहिल्यै देखाएन । दुःख र अभाव पचाएर हुर्केको युवा हुनुको परिपक्वता बेजोडको थियो, ऊभित्र । 

यात्राभर हाम्रा पिठ्यूँमा ठुल्ठूला झोला हुन्थे, झोला मोबाइल (चलायमान) घरजस्तै थिए । युद्धको यात्रा हुनाले हतियार त अनिवार्य हुन्थ्यो नै, सँगै फेरफारे कपडा, राति ओढ्ने च्यादर, लेखपढ गर्ने कापी र पुस्तक, दैनिक चाहिने साबुन, ब्रस र मन्जनजस्ता वस्तु । यतिसम्म कि चर्पी बस्दा पानी लैजाने भाँडो नपाउने समस्याले धारा तेलको प्लास्टिक धोएर बोक्ने गथ्र्यौं । 

०५९को कात्तिक अन्त्यतिर हामी बागमती किनारको भोर्लेनी पुग्यौँ, बास बस्न । त्यतै ब्युरो इन्चार्ज कुलप्रसाद केसी (सोनाम)लाई भेट्नु थियो । सैन्य शिविर उद्घाटन कार्यक्रममा सहभागी हुनु थियो । धेरै दिनदेखि नुहाउन र लुगा धुन नपाएका हामीले कोखाजोर खोला रोजेका थियौँ । नजिकै जनमुक्ति सेनाको भान्छा थियो, जहाँ धेरै दिनपछि मासु र चामलको भात खायौँ । उसले आफ्नै मातृभाषामा बजार छेउको घलान (तामाङ)को घरमा वास माग्यो । काठले बारेको घरको बुइँगलमा दुई भाइका लागि एउटा ओछ्यान बन्यो ।

हावा बेस्कन चल्ने ठाउँ, कात्तिक अन्तिमको चिसो हावा, बागमतीको सुसाइ र हाम्रो अन्तरंग कुराकानी । सधैँ उसलाई पढ्न र लेख्न सिकाउने तालिका भत्काएर ‘कस्तो लागिरा’छ आक्रोश ?’ भनेर उसको मन छाम्न खोजेँ मैले । उसले ‘खुसी छु भन्यो ।’ ‘मसँग हिँड्दा दुःख भा’छ है !’ भन्दा ‘यस्तो हुन्छ भन्ने थाहा थियो । मैले दुःख मानेको छैन’ भन्थ्यो । उसको भित्री मन छाम्ने उद्देश्यले ‘विवाह कहिले गर्ने त आक्रोश ?’ प्रश्न तेस्र्याएँ । ‘दाइ पनि’ भनेर लजायो । ‘पार्टीमा लागेर के बन्ने इच्छा छ त ?’ अर्को प्रश्न थपेँ । ‘सेनामा जान्छु । मोर्चामा सहभागी हुन्छु ।’ उनले उत्सुकता बोल्यो । ‘बन्दुक चलाउन आउँछ त !’ मैले ऊभित्रको सुरोपन नाप्न खोजेँ ।

‘सिक्छु । बरु मलाई शिविर (जनमुक्ति सेनाले चलाउने तलिम)मा हाल्दिनु न है दाइ !’ उसले अगाडि बढ्ने सोच प्रस्ट्यायो । हुन्छ हुँदैन केही नभनी ‘सुरुमा पार्टीमा आउँदा के पाइन्छ सोचर आएका थियौ भाइ ?’ भन्दै उसको मनोविज्ञान छाम्न खोजे । ऊ, अलमलियो, तर कुरा नलुकाई भन्यो, ‘घुँडासम्म आउने मोजा र गोल्डस्टार जुत्ता लाउन पाइन्छ भन्ने बुझेर ।’ उसले विषय थप्यो, ‘चप्पल पनि सधैँ लगाउन पाइन्थेन । गरिब हौँ, पढ्न पाइएन । खानका लागि भारी बोक्नुपथ्र्यो । तपाईंसँग हिँडेयता जुत्ताको इच्छाभन्दा अरू इच्छा जानेँ । अब इच्छा गोल्डस्टार जुत्ता गलाउनेमा छैन । म त नियमित सेनामा गएर लड्ने हो ।’ उसको चेतना र प्रस्तुतिले बेस्कन झकझक्यायो । हुन्छ, तपाईं आफ्नो काममा लाग्नू भनेर म ओछ्यानमा पल्टिएँ । 

गोल्डस्टार जुत्ता लगाउने भाइको इच्छाले मन खुब छोयो । आफूले एसएलसी परीक्षा दिन जाँदा बल्ल जुत्ता लगाउन पाएको सम्झिएँ । रूपमा जुत्ताको इच्छा भए पनि सारमा प्रश्न वर्गीय नै थियो । आधारभूत वर्गका मान्छेले मुक्ति अभियानलाई बुझ्ने तरिका यस्तै सामान्यबाटै सुरु हुन्थ्यो, भयो । ओछ्यानको अर्को छेउमा घोप्टो परेर कापीमा अक्षर कोरिरहेको ‘आक्रोश’को अनुहार नियालेँ । उसको अनुहारमा ठ्याक्कै चिनियाँ बालसिपाहीको इच्छा झल्किन्थ्यो ।

च्यात्तिएको कट्टु लगाएको चिनियाँ बच्चाले आइरन घसिएका सफा लुगा लगाएर परेड खेलेका लालसेना देख्यो । मनमा इच्छा खेलायो । यस्तै लुगा लगाउन पाए म पनि लालसेना बन्थेँ । इच्छा न हो, उसले लालसेना पछ्यायो र पछि भर्ती पनि भयो । एक दिन यस्तो समय आयो कि हातमा शक्तिशाली बम राखेर अगाडिको पुल उडाइएन भने उताबाट दुस्मनको सेना आएर लालसेनालाई सिध्याउने स्थिति बन्यो । हिजोको बालसिपाहीले त्यो भूमिका पूरा गर्‍यो । अरू लालसेनालाई बचाएर आफू सहिद भयो । 

पुस १९ गते बेथान वीरता दिवस । ०५९ पुस १९ गते ठूलादुर्लुङ ललितपुरमा भव्य कार्यक्रमको आयोजना गरिएको छ । बाजागाजा, विविध सांस्कृतिक झाँकीसहित विशाल जनउपस्थिति । राजधानी र हेटौँडाबाट आएका पत्रकार । उपत्यकाका तीन जिल्लामध्येको पहिलो माओवादी जनसरकार घोषणा कार्यक्रम । त्यसपछि दुई दिनसम्म गिम्दी सुवानेमा जनसरकारको प्रथम बैठक सम्पन्न । जनतालाई जनसरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्ने कोसिस । पुरानो सत्तालाई नाकाबन्दी लगाउने निर्णय । राजधानीसँगै जोडिएको जिल्लामा जनसरकार घोषणा र पुरानो सत्तालाई नाकाबन्दी लगाउने निर्णय, राष्ट्रिय–अन्तर्राष्ट्रिय सञ्चारको केन्द्रीय विषय बन्यो । सामान्य मान्छेमा उत्सुकता र भय दुवै थियो भने पार्टी पंक्तिभित्र नया“ रक्तसञ्चार । जनता र पार्टी कार्यकर्ताको मनोविज्ञान बुझ्ने र बुझाउने यात्रा स्थानीय तहतिर सोझियो । 

दुईजना सहयोगी भाइहरू ललितपुर गिम्दीका जुल्फे स्याङ्तान र काभ्रे फलामेटारका समर्पण तामाङ (च्याङ्वा) थिए मसँग । साथमा पार्टी कार्यकर्ता सिन्धुपाल्चोक माङ्खाका देवी पराजुली र ललितपुर गोटीखेलका श्याम तामाङसहित हाम्रो टोली पाँचजनाको भयो । स्थानीय पार्टी कमिटीको बैठक राख्दै र जनताको अनुहार पढ्दै ललितपुरका आश्राङ, प्युटार, इकुडोल, बुखेल, मानिखेल हुँदै गोटीखेल आइपुग्दा पाँच दिन बितिसकेको थियो । 

गोटीखेल बजार, दक्षिणी ललितपुर (जसलाई उपत्यकाको कर्णाली भनिन्छ)को केन्द्र हो । यात्राको पाँचौँ दिन साँझ हामी गोटीखेल बजारनजिकै पुगेका थियौँ । सुरक्षाको कारण बजार नपसी दक्षिणतिरको भित्तो ‘सेपिलो गैरो’तिर उकालो लाग्यौँ । झम्के साँझमा हामी हरि कुँवरको एकान्त घरमा पुग्यौँ, जहाँ हाम्रो सेल्टर थियो । घरका परिवारसँग मिलेर साथीहरूले खाना पकाउनुभयो । सबैसँगै बसेर खाना खायौँ । थाकेका थियौँ, हरिको परिवारसँग खासै छलफल भएन । 

भोलिपल्ट छलफल गर्दै जाँदा आत्मीयता बढ्दै गयो । जनताको माया परिवारको सदस्यजस्तै भइयो । त्यसदिन हिँडेर कालेश्वर पुग्नुपर्ने, तर हरिले जान दिएनन् । बजारतिर सबै ठीकै बुझिन्छ । ‘आज यहीँ बस्ने, खिर खाने र भोलि मात्रै जाने’, भनेर हरिले जोड गरे । परिणाम, हामीले दोस्रो रातको सेल्टर पनि एकै ठाउँमा लियौँ । भाइहरूले दिनभरि घाँस काट्ने, दाउरा ल्याउने काम गर्नुभयो भने मैले पार्टी दस्ताबेज अध्ययनमा बिताएँ । बेलुकी मीठोसँग सबै सँगै बसेर खिर खायौँ । 

पुसको महिना, सेपिलो पाटो, जाडो बिछट्टै थियो । झ्याल–ढोका थुनेर अँगेनाभरि दाउरा हालेपछि घर निकै न्यानो भयो । सबैजना अँगेनावरिपरी बसेर आगो ताप्न थाले । म बुइँगलमा बसेर दिनभरिको डायरी लेख्न थालेँ । त्यस्तै आधा घन्टापछि तल आक्रोशको अगुवाइमा तामाङ लयको गीत गाउने प्रक्रिया सुरु भयो । अँगेनाको आगो, धेरैजनाको जमघट र गीतको भाकाले मलाई पनि लोभ्यायो । पेस्तोल ओछ्यानमै छाडेर गीत सुन्न तल झरेँ । तल झरेको एकै छिनमा बारुदको गन्ध आयो । शंका लागेर आक्रोश भाइको कम्मरमा हेरेको त ग्रिनेट चार्ज भएको झिल्का देखियो । ४० डिग्री सेन्टिग्रेडमा चार्ज हुने बमको विशेषताको ख्याल भएन । निश्चित थियो कि बढीमा ५० सेकेन्डमा बम पड्किन्थ्यो । 

झ्याल–ढोका थुनिएको घर, अब हामी सबै मर्छौं भन्ने लागेर चिच्याउन थालेँ । झ्याल खोल्नुहोस्, ढोका खोल्नुहोस्, भाइ ग्रिनेट फाल्नोस् भन्दै चुलोभित्र टाउको लुकाउने कोसिस गरिरहेँ । कसले हो हेक्का भएन, तर त्यस्तै २५–३० सेकेन्डमा ढोका खुल्यो । युद्धस्तरमा आक्रोश भाइलाई घिच्याउँदै पिँढीमा मात्र के पुगेको थिएँ, शक्तिशाली धमका दिँदै ग्रिनेट 
पड्कियो । त्यसपछि सोच्दै नसोचेको विपत्ति सुरु भयो । एकैछिनअघिको हिउँजस्ता हाम्रा मन एकैछिन पछि सिसा फुटेजस्तै चकनाचुर भयो । 

लालसेना बन्ने, बन्दुक बोक्ने र राम्रो व्यवस्था ल्याउने भन्ने बुझाइका साथ ग्रामीण वर्गसंघर्षमा फर्केनेको संख्या हजारमा थियो, मार्क्सवाद र माओवाद पूरै पढेर, यो ठाउँबाट त्यो पदमा पुग्छु भनेर पार्टीमा लाग्ने एकाध थिए होलान्

बमको धमाकाले म आँगनको डिलमा ढलेँ । टाढासम्म बमको धमाका सुसाउँदै गएको सुन्दै छु । एकाध मिनेटपछि लुगलुग काम्दै उठेर यसो शरीर छामेँ, केही नभएजस्तो लाग्यो । हत्तपत्त घरको बुइँगलमा पुगेर पेस्तोल कम्मरमा भिरेँ । हातमा लाइट लिएर तल झर्दा दर्दनाक चित्र आँखामा ठोकिँदा झन्डै बेहोस भएको । ‘आक्रोश’ आँगनमा दाइदाइ भनेर छटपटाइरहेको । घरभित्र बुढीआमा र बच्चाहरू चिच्याइरहेका, बुढीआमाको घुँडाबाट रगत बगिरहेको । तीन कान्ला तल हरि बिस्तारै बेहोसमै ‘ऐया ऐया’ भनिरहेका । भैँसी गोठतिर च्याङ्वा ‘दाइ तपाईंलाई केही त भएको छैन ?’ भनेर आत्तिएको । अरू दुई भाइ डरले लुगलुग काँपेका । अब के गर्ने, के नगर्ने ? 

आक्रोश बाँच्दैनन् भन्ने लाग्यो । बिस्तारै–बिस्तारै ‘दाइ.. भन्दै थियो । मैले ‘भाइ नआत्तिनू...’ भन्दै अञ्जुलीमा पानी ल्याएर खुवाइदिएँ । त्यसलगत्तै उनी सहिद भए । हरि भएको ठाउँमा पुग्दा उसको अवस्था हेर्नै नसकिने, डरलाग्दोे । केही क्षणपछि आफ्नै छाती चिसो भएको आभास भयो । यसो छामेको त छातीबाट रगत बगिरहेको ! छिटोछिटो स्थिति सम्हालिएन भने दुस्मन आउन सक्ने खतराप्रति चनाखो हुनैपर्ने बाध्यता । नजिकै घर भएका एमालेबाट गाविस अध्यक्ष जितेका रामचन्द्र दाहाललाई बोलाइयो, १० हजार थमाउँदै हरिलाई तुरुन्त पाटन अस्पताल लैजान भनियो । उनले भित्र के सोचे कुन्नि, तर घटना र बिरामीको प्रकृति एवं सुरक्षा खतरा हुँदाहुँदै पनि प्रस्ताव सहजै माने । गोटीखेलबाट सानो ट्रक ल्याएर बिरामी (हरि बाँच्न त बाँचे, तर एउटा आँखा गयो भने छाती र पेटमा प्राकृतिक छाला कत्ति पनि छैन)लाई उपचारमा पठाइयो । 

स्थानीय थप दुईजना साथी बोलाइयो । ‘आक्रोश’को शव आँगनमा लडिरहेको थियो । क्षतविक्षत शव तन्नामा पोको पारियो, डोकोमा हालियो र अलि पर बारीमा खाल्डो खनेर गाडियो । चिसो माटो नदेखियोस् भनेर सुकेका पतिंगरले छोपेर फर्कंदा मन निकै भारी भयो । बाध्यता, बुढीआमालाई नआत्तिनोस् भन्दै घुँडामा पट्टी बाँधिदिएर हामी चार भाइ रातको २ बजे हिँड्यौँ ।

चुपचाप अन्धकारमा बाटो छाम्दै हिँडिरह्यौँ, तर बाटोभरि मनमा अनेकथरी कुरा खेलिरहे । भोलिपल्टदेखि मिडियाले फुक्न थाले ‘जबर्जस्ती घर कब्जा गरेर माओवादी बसे’ आफ्नै बम पड्कँदा दर्जनौँको ज्यान गयो ।’ कति पत्याउने कति नपत्याउने ? त्यो प्रिय भाइ ‘आक्रोश’लाई आफैँले पूर्णकालीन बनाएको र सँगै लिएर हिँडेको केही महिना मात्र भएको थियो । यति मिहिनेती थियो, उसलाई खाल्डोमा पुरेर फर्कंदा आँखाबाट बरर्र... आँसु झर्‍यो । मर्ने हो कि बाँच्ने ठेगान नभएका गम्भीर घाइतेलाई छाडेर आफ्नो घाइते शरीरबाट रगत बगाउँदै आधा रातको यात्रा केका निम्ति थियो ? मनमा आँधी चल्छ । आङ अहिले पनि सिरिंग हुन्छ । आदर्श, स्वतन्त्रता र जनता सम्झनामा आउँछन् । गर्वले घाइते छाती अरू उँचो हुन्छ ।

त्यसो त एउटै बुझाइका साथ माओवादी आन्दोलनमा हामी कहाँ लागेका थियौँ र ? दलित समुदायबाट माओवादी जनयुद्धमा लागेका कालीकोटका विक्रान्त जाजरकोटका माओवादी नेता कालीबहादुर मल्लको ‘राजा फालिन्छ । गरिब र धनीलाई बराबर बनाइन्छ र छुवाछुत हटाइन्छ’ भन्ने भाषण सुनेर पूर्णकालीन बनेका थिए । ललितपुर कालेश्रवरका ऋखेश्रवर अधिकारी (आकाश)लाई शाही सेनाले समातेर मार्‍यो ।

आफ्नै आँगनमा एउटा छोरालाई मारेपछि दाजुको ठाउँमा लड्न जा भनेर अर्को छोरा गुणराजलाई पार्टीमा फूलमाला लगाएर पठाउने आमा जोगमाया र बुबा ज्ञानेन्द्र आज पनि हुनुुहुन्छ । ०५०/५२ सालताका काठमाडौंमा क्याम्पस पढ्ने २०–२२ वर्षका हामी युवामा विछट्टको हुटहुटी थियो । लालसेना बन्ने, बन्दुक बोक्ने र राम्रो व्यवस्था ल्याउने भन्ने बुझाइका साथ ग्रामीण वर्गसंघर्षमा फर्केनेको संख्या हजारमा थियो । माक्र्सवाद र माओवाद पूरै पढेर, यो ठाउँबाट त्यो पदमा पुग्छु भनेर पार्टीमा लाग्ने एकाध थिए होलान् । बाँकी सबै राम्रै राम्रो हुन्छ भन्ने आदर्शवादलाई पछ्याएर पूर्णकालीन कार्यकर्ता बनेर युद्धमा होमिएका उदाहरण पनि हजारमै छन् । 

अभावमा डुबेको जीवनलाई जोखिमको बाटो हिँडाएर आदर्श जीवनमा बदल्ने जुल्फे स्याङ्तान । छिपछिपे नै भए पनि वर्गीय विभेद बुझ्ने अंशगत चेतनाबाट विद्रोहको बाटो खोज्ने प्रतिनिधि पात्र कमरेड आक्रोश । हिजो पुस्तकमा लेखिएका क्रान्तिकारी चेको जीवनी, उत्साहका कथा र बलिदानी आदर्शबाट उत्प्रेरित हजारौँ युवाको सपना माओवादी आन्दोलन । जीवनलाई बलिदानको उदात्त आदर्शको मञ्जिलमा उभ्याउने त्यो १० वर्षको वास्तविक भोगाइ गोल्डस्टार जुत्ता र सहिद आक्रोश । उसको मृत शरीरसँगै उसले लगाएको प्रारम्भको इच्छा ‘गोल्डस्टार जुत्ता’ पनि खाल्डोमा पुर्ने म र आज उसका बारे नमीठो अनुभूतिका साथ यी पंक्ति कोर्ने मेरा औँलाहरू !