Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
गोविन्द सुवेदी
२०७५ पौष २ सोमबार १३:५६:००
Read Time : > 1 मिनेट
समाचार

विज्ञान समूहको उत्तरपुस्तिका पुनः परीक्षण माग

 ७ दिनदेखि रिले अनशन  परीक्षा बोर्ड र शिक्षामन्त्रीलाई ज्ञापनपत्र

Read Time : > 1 मिनेट
गोविन्द सुवेदी
२०७५ पौष २ सोमबार १३:५६:००

पोखरा - गण्डकी प्रदेशका विद्यालय, शिक्षक र अविभावकले कक्षा ११ को रसायनशास्त्र, भौतिकशास्त्र र गणित विषयको उत्तरपुस्तिका पुनः परीक्षणको माग गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले २० असोजमा प्रकाशन गरेको नतिजामा लापरबाही गरिएको आरोप लगाउँदै उनीहरूले उत्तरपुस्तिका पुनः परीक्षणको माग गरेका हुन् ।

पुस्तिका पुनः परीक्षणको माग गर्दै विद्यार्थी संगठन, हिसान, र अभिभावकहरू ७ दिनदेखि राष्ट्रिय परिक्षा बोर्ड कास्की कार्यालयमा रिले अनशनमा छन् । उनीहरूले सम्बन्धित विषय शिक्षकले उत्तरपुस्तिका परीक्षणमा लापरबाही गरेको आरोप लगाएका छन् । सम्बन्धित शिक्षकले उत्तरपुस्तिका परीक्षण नगरी अन्य विषयका शिक्षकले परीक्षण गरेको विद्यार्थीहरूको आरोप छ । 

शिक्षक र परीक्षा बोर्डको लापरबाहीले गण्डकी प्रदेशबाट विज्ञान विषयमा परीक्षा दिएका २७ सय ३९ विद्यार्थीको भविष्य अन्धकार बनेको विद्यालय संयोजन समितिका संयोजक एवं हिसान कास्कीका निवर्तमान अध्यक्ष बाबुराम पन्तले टिप्पणी गरे । 

 रिटोटलिङमा ३५ लाख खर्च
राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको उत्तरपुस्तिका पुनः परीक्षण गर्न नमिल्ने र रिटोटलिङका लागि निवेदन दिए पुनः परीक्षण गर्ने सर्त राखेको विद्यालय सञ्चालकहरूको भनाइ छ । त्यसका लागि झन्डै ३५ लाख खर्च भइसकेको विद्यालय सञ्चालकहरूको भनाइ छ । ‘सीधै पुनः परीक्षण  गर्न मिल्दैन, रिटोटलिङका लागि निवेदन दिए पुनः हेरेर नम्बर नदिएको भए थप्छौँ, पुन हेर्छौँ भनियो, तर भएन,’ हिसान कास्कीका निवर्तमान अध्यक्ष पन्तले भने, ‘हामीले पैसा खर्च गर्नु मात्र भयो, तर न्याय दिइएन ।’

अनशन र दबाब सँगसँगै 
विद्यार्थी र अभिभावकहरूले राष्ट्रिय परीक्षा बोर्डलाई विभिन्न ढंगले दबाब दिँदा न्याय नपाएको भन्दै गत सोमबारदेखि बोर्डको कास्की कार्यालयमा रिले अनशन सुरु भएको छ । त्यसअगाडि पनि उनीहरूले पोखरा महानगरपालिका र प्रदेश सरकारलाई ज्ञापनपत्र दिएका थिए । राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा मन्त्रालय र प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाएको हिसान कास्कीका निवर्तमान अध्यक्ष बाबुराम पन्तले जानकारी दिए । अब यति गर्दा पनि आफूहरूका कुरा सुनिँदैन भने फरक ढंगले आन्दोलन अगाडि बढाउनुपर्ने अनेरास्ववियुका शेखर गौतमले बताए । माग पूरा नहुँदासम्म रिले अनशन भने जारी रहने उनको भनाइ छ ।

‘पुनः परीक्षणको प्रावधान छैन’
राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका पुनः परीक्षणको प्रावधान नरहेको जनाएको छ । बोर्डले यस विषयमा सुझाब दिन बोर्ड सदस्य युवराज पराजुलीको संयोजकत्वमा समिति गठन गरेको थियो । पराजुली नेतृत्वको समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्नसमेत आन्दोलनरत शिक्षक, विद्यार्थी र अभिभावकले माग गरेका छन् । आफूले विद्यार्थीलाई न्याय हुने ढंगले सुझाबसहितको प्रतिवेदन दिएको समिति संयोजक पराजुलीले नयाँ पत्रिकालाई जानकारी दिए । परीक्षाको मर्यादा र बोर्डको गरिमालाई कायम राख्न प्रतिवेदनमा समेटेका कुरा बाहिर बताउन नमिल्ने उनले बताए ।