१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २ शुक्रबार ०८:२२:००
Read Time : > 4 मिनेट
सेयर बजार

बजार घटे पनि घटेन लगानीकर्ताको आकर्षण

Read Time : > 4 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २ शुक्रबार ०८:२२:००

साताको अन्तिम दिन नेप्से परिसूचक १ दशमलव ३९ अंकले घटेर बजार बन्द भएको छ । बजार घटे पनि लगानीकर्ताको आकर्षण नघटेको कारोबार रकमले देखाउँछ । यस दिन कारोबार रकम १८ प्रतिशतले बढेर १ अर्ब ७७ करोड नाघेको छ । 

कारोबार अवधिभर बढेको नेप्से अन्तिम समयमा केही घटेको थियो । यद्यपि यसमा सुधार भएर बजार बन्द हुँदा १ अंकको गिरावट आएको हो । बजार खुलेको केही समयदेखि नै घट्न थालेको बैंकिङ र होटेल समूहलाई बजार बन्द हुनुअघि जलविद्युत् समूह, विकास बैंक समूहले साथ दिएसँगै नेप्से अन्तिम समयमा घटेको हो । कारोबारमा आएका १२ समूहमध्ये मात्रै पाँच समूहको परिसूचक घटेको हो । 

जलविद्युत् समूहमा उच्च नाफा बुकिङ

अंकित मूल्य एक सय रुपैयाँभन्दा तल कारोबार भइरहेका जलविद्युत् कम्पनीहरूको मूल्य बढ्न थालेपछि नाफा बुकिङ सुरु भएको छ । करिब २ साताअघिसम्म ८८ रुपैयाँमा कारोबार भइरहेको कालिका पावरको अंकित मूल्य माथि आएसँगै बिक्री बढेको छ । नेप्से परिसूचकले हालको बिन्दुमा प्रतिरोध सामाना गरिरहेकोले पनि लगानीकर्ताले मूल्य बढेका यस्ता सेयर बिक्री बढाएका छन् । 

नेप्से परिसूचक वर्षकै उच्च बिन्दुनजिक आएर प्रतिरोधको सामना गरिरहेको छ । नेप्सेले केही दिनदेखि यो प्रतिरोध तोड्न सकिरहेको छैन । एक वर्षमा १ हजार ३ सय १९ बिन्दुबाट घटेर १ हजार १ सय ९ सम्म आएको परिसूचक हाल बढेर १ हजार ३ सय ४९ बिन्दुमा आएको छ । हालसम्म १ सय १४ प्रतिशत रिट्रेसमेन्ट गरिसकेको छ । ७० प्रतिशतको रिट्रेसमेन्टदेखि नै लगानीकर्ता नाफा बुकिङमा लाग्ने भएकोले यसको प्रभाव बजारमा देखिएको हो । आगामी दिनमा आउने कुनै पनि सकारात्मक खबरले बजारलाई थप उचाइमा पुर्‍याउन भने सक्छ । रिट्रेसमेन्टको गहिराइका आधारमा नेप्से १ हजार ५ सय २९ को तहसम्म पुग्न सक्ने देखिन्छ । यद्यपि, प्राविधिक विश्लेषणलाई मात्र आधार मान्न सकिँदैन । आधारभूत पक्षमा सुधार भएमा मात्रै प्राविधिक विश्लेषणले समेत काम गर्छ । 

लगानीकर्तामा अन्योल कायमै 

वर्षकै उच्च बिन्दुमा आएर प्रतिरोध सामना गरिरहेको नेप्सेलाई लिएर लगानीकर्तामा समेत अन्योल कायमै छ । बजारमा अन्य सकारात्मक खबर नआएको, लाभांशको मौसम लगभग सकिएको र चैतपछिको वित्तीय विवरणबाट मात्रै कम्पनीहरूको वार्षिक नाफा–घाटाको लेखाजोखा गर्न सकिने भएकोले बजारको गति सुस्तिएको हो । बिहीबार नेप्सेको सुरु, उच्च, न्यून र अन्तिम बिन्दुको आधारमा बनेको स्पिनिङ टप्स आकृतिको मैनबत्ती चित्र बनेको छ । माथिल्लो धागो लामो र शरीर सानो रहेको यसले लगानीकर्ता अझै बजारको गतिलाई लिएर अन्योल नै रहेको संकेत गर्छ । बजारमा कारोबार रकममा सुधार देखिइरहेकाले लगानीकर्ताको आकर्षण घटिनसकेको देखाउँछ । बिहीबारको नेप्सेको पिभट विश्लेषणले आइतबारको बजारमा नेप्सेले १ हजार ३ सय ५१ मा पहिलो प्रतिरोध र बजार घटे १ हजार ३ सय ४० मा पहिलो टेवा पाउनेछ । 

प्रभु र बैंक अफ काठमाण्डूको ऋणपत्र आउने

प्रभु बैंक र बैंक अफ काठमाण्डू लिमिटेडले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बैंक अफ काठमाण्डूले १० वर्षे ऋणपत्र १० दशमलव २५ प्रतिशत ब्याजदरमा निष्कासन गर्न लागेको हो । बैंकले कुल १६ लाख कित्ता निष्कासन गर्न लागेको हो । जसमध्ये ६ लाख ४० हजार कित्ता सर्वसाधारणलाई र ९ लाख ६० हजार कित्ता व्यक्तिगत तवर संघसंस्थालाई बिक्री गर्नेछ । 

साथै, प्रभु बैंकले आठ वर्षे ऋणपत्र १० प्रतिशत ब्याजदरमा निष्कासन गर्न लागेको छ । बैंकले २० लाख कित्ता ऋणपत्रमध्ये आठ लाख कित्ता सर्वसाधारणलाई र १२ लाख कित्ता व्यक्तिगत तवर संघसंस्थालाई बिक्री गर्नेछ । यी दुवै बैंकको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । बैंकमा तरलता सहज होस् भनी नेपाल राष्ट्र बैंकले चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र निष्कासन गर्नुपर्ने निर्देशन दिएपछि बैंकले ऋणपत्र निष्कासन गर्न लागेका हुन् । यसरी बैंकले ऋणपत्रबाट संकलन गरेको रकम कर्जामा लगानी गर्न सक्नेछन् ।

१८ फागुनदेखि प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद 
काठमाडौं÷ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ६० प्रतिशत हकप्रद सेयर फागुन १८ गतेदेखि बिक्री खुला हुने भएको छ । कम्पनीले १० कित्ता सेयरबराबर ६ को अनुपातमा ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । माघ २७ गतेसम्म कायम सेयरधनीले चैत २३ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ भने एनएमबि बैंकका शाखा कार्यालय, गुडविल फाइनान्सका शाखा कार्यालय, सेन्ट्रल फाइनान्सका शाखा कार्यालय तथा आस्बा सदस्य सेवा लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट अनलाइन आवेदन दिन सकिन्छ । कम्पनीको हकप्रदलाई इक्रा नेपालले औसतभन्दा तल आधार जनाउने ‘इक्राएनपी आइपिओ ग्रेड फो प्लस’ रेटिङ दिएको छ । कम्पनीको हाल चुक्ता पुँजी ६४ करोड १५ लाख २० हजार रहेको छ । हकप्रद बाँडफाँडपछि सो पुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुग्नेछ ।

नागरिक लगानीको संस्थापक सेयर लिलामीमा
प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमा बिक्री हुने भएको छ । कम्पनीले प्रतिकित्ता १ हजार ७ सय ५० मा ५० हजार कित्ता सेयर बोलकबोलमार्फत माघ २८ गतेदेखि बिक्री गर्न लागेको हो । बोलकबोलबाट सेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले सूचना प्रकाशित भएको मितिले सात दिन तथा फागुन ६ गतेभित्र कम्पनीको सेयर रजिस्ट्रार ग्लोबल आइएमई क्यापिटल, प्रिमियर इन्स्योरेन्सको केन्द्रीय कार्यालय तथा ग्लोबल आइएमई बैंकका शाखा कार्यालयमा गोप्य सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । आवेदकले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

मितेरी डेभलपमेन्टको लाभांश 
मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले कुल १९ दशमलव ५० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले १८ दशमलव ५२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् । हाल बैंकको चुक्ता पुँजी ५८ करोड ५० लाख रहेको छ । 

ब्याज र सञ्चालन आम्दानी घट्दा नबिलको नाफामा प्रभाव 
नबिल बैैंक लिमिटेडको चालू आवको दोस्रो त्रैमासिकको नाफा गत आवको सोही अवधिको तुलनामा घटेको छ । बैंकको गत आवको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेपछि नाफा घट्न पुगेको हो । बैंकको नाफा ६ प्रतिशत घटेर २ अर्ब ४ करोडमा सीमित भएको छ । बैंकले गत आवको दोस्रो त्रैमासमा २ अर्ब १७ करोड नाफा कमाएको थियो । सोही अवधिमा कम्पनीको वितरणयोग्य नाफा १ अर्ब ४५ करोड पुगेको छ ।

गत आवमा ३ अर्ब ६१ करोड १३ लाख रहेको बैंकको खुद ब्याज आम्दानी चालू आवमा ३ अर्ब ४५ करोड १६ लाखमा सीमित भएको छ । त्यसैगरी बैंकको सञ्चालन नाफा ३ अर्ब ८ करोड ३६ लाखबाट घटेर २ अर्ब ९० करोड ९३ लाखमा सीमित भएको छ । गत आवको नाफाबाट १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद सेयर वितरण गरेको बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड छ । बैंकले १ खर्ब ६४ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ४१ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ६२ प्रतिशतबाट बढेर शून्य दशमलव ७५ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी घटेर ४५ दशमलव ३२ रुपैयाँमा आएको छ ।