Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ फाल्गुण २ शुक्रबार ०७:३४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

अन्तर्जातीय विवाह गरेकी  युवतीको जबर्जस्ती गर्भपतन

आरोपी गाउँपालिका अध्यक्ष र श्रीमान्सहित चार फरार

Read Time : > 2 मिनेट
२०७६ फाल्गुण २ शुक्रबार ०७:३४:००

पाँचथरमा अन्तर्जातीय प्रेमविवाह गरेकी १९ वर्षीया युवतीको जबर्जस्ती गर्भपतन गरिएको छ । कुम्मायक गाउँपालिका–५ स्याबरुम्बाका रमेश खड्काकी श्रीमती सीता नेपालीको गर्भपतन गरिएको हो । 

यो जघन्य अपराधमा श्रीमान् रमेशसहित परिवारका सदस्य मात्रै होइन, जनप्रतिनिधि नै मुछिएका छन् । गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङको दबाबमा जबर्जस्ती गर्भपतन गराएको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएकी छिन् । पीडितले २२ माघमा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको भोलिपल्टैदेखि अध्यक्ष चेम्जोङ भने फरार छन् । त्यतिवेला काठमाडौंमा रहेकी उपाध्यक्ष सीता आचार्यलाई कार्यभार सुम्पिएको निर्णय गराएर चेम्जोङ गायब भएका हुन् । 

‘म काठमाडौं गएकी थिएँ । फर्केर आउँदा त २३ माघदेखिकै जिम्मेवारी मलाई दिइएको रहेछ,’ उपाध्यक्ष आचार्यले भनिन्, ‘अध्यक्षले घरायसी कामका लागि बाहिर रहेको व्यहोरा उल्लेख गर्नुभएको छ ।’ पीडित युवतीका श्रीमान् रमेश र अन्य दुईजना पनि फरार छन् । आरोपी तीनजनालाई भने नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पीडित युवतीको जाहेरीका आधारमा प्रहरीले हत्या गरिएको भ्रूण पनि बरामद गरिसकेको छ । २४ पुसको राति जिल्लाको समर्पित हस्पिटलमा भ्रूणहत्या गरिएको युवतीले जाहेरीमै उल्लेख गरेकी थिइन् । लगत्तै प्रहरीले सर्च गर्दा अस्पताल परिसरमै प्लास्टिकमा पोको पारिएको अवस्थामा भ्रूण फेला पारेको थियो । 

२१ हप्ता भइसकेको भ्रूण जबर्जस्ती हत्या गरिएको युवतीको भनाइ छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनमा गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको मात्रै गर्भपतन गर्न सक्ने व्यवस्था छ । त्यस्तै, गर्भवतीको मानसिक र शारीरिक अवस्थामा खतरा हुन सक्ने तथा विकलांग बच्चा जन्मिने अवस्था भए इजाजतप्राप्त चिकित्सकको रायपछि गर्भवतीकै मञ्जुरीमा २८ हप्तासम्मको गर्भ फाल्न सक्ने व्यवस्था पनि गरेको छ । 

प्रहरीले भ्रूणको सम्पूर्ण अवस्था परीक्षण गर्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । परीक्षणपछि मात्रै भ्रूण कति हप्ताको थियो भन्ने यकिन हुने पाँचथर प्रहरी प्रमुख सिद्धराज न्यौपानेले बताए ।

आमा (एकल महिला)सँग बस्ने सीताको सुरुमा रमेशसँग प्रेम थियो । प्रेमपछि उनीहरूले विवाह गरेका थिए । तर, रमेशको हकमा यो दोस्रो विवाह थियो । घरमा अर्की श्रीमती थिइन् । दोस्रो, त्यसमा पनि अन्तर्जातीय विवाह खड्का परिवारलाई चित्त बुझेको थिएन । युवती गर्भवती हुनु रमेशकोे परिवारका लागि झन् टाउको दुखाइ बन्यो । त्यसपछि जघन्य अपराधको बाटो रोजे ।

पीडित अहिले अल्पकालीन आश्रयसहितको घरेलु हिंसा सेवा केन्द्रमा छिन् । धरानमा लगेर उनको स्वास्थ्य परीक्षण गरिसकिएको छ । उजुरीपछि नै स्वास्थ्य परीक्षण गरिएको हो । घटनामा संलग्नहरू कोही नछुटून् भनेर आफूहरूले सहयोग गरिरहेको सेवा केन्द्र सदस्य सकुन्तला ओलीले बताइन् ।

मीन विश्वकर्माले गराए संसद्को ध्यानाकर्षण– गाउँपालिका अध्यक्षले गाउँबाटै खेद्ने धम्की दिएर गर्भपतन गराए, पीडितलाई न्याय दिइयोस् 

‘समृद्ध नेपाल सुखी नेपाली’को नारा देशव्यापी चलेको छ । तर, जनताले महसुस गरिरहेका छैनन् । सुखी सबै तीन करोड जनता हुनुपर्छ । सबै जाति, धर्म, वर्ण, लिंगका मानिस सुखी हुनुपर्छ । तर, अन्तर्जातीय विवाह गरेकै कारण मारिएको काभ्रेका अजित मिजारको शव चार वर्षदेखि टिचिङ अस्पतालमा छ । अहिले पाँचथरमा दलित युवतीमाथि फेरि अपराध भएको छ । कुम्मायक गाउँपालिकाका २४ वर्षीय रमेश खड्का र १९ वर्षीया सीता नेपालीबीच गत असारमा प्रेम हुन्छ । २८ साउनमा स्थानीय शिवालय मन्दिरमा गएर प्रेमविवाह गर्छन् र सँगै बस्न थाल्छन् । केही समयमै युवतीले गर्भधारण गर्छिन् । 

उनको शारीरिक अवस्था र सम्बन्धको विषयले गाउँमा चर्चा पाउँछ । तर, रमेशले उनलाई आफ्नो घरमा लैजान सक्दैनन् । खड्का परिवार गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङकहाँ गएर ‘सीता नेपालीलाई बुहारी बनाउन सक्दैनौँ, जसरी पनि छुटाइदिनुपर्‍यो’ भन्दै गुहार गर्छन् । चेम्जोङले अधिकार दुरुपयोग गरी सीता नेपाली र उनकी आमालाई बोलाएर गाउँ छाड्न र फिदिममा गएर गर्भपतन गराउन आदेश दिन्छन् । नटेरे गाउँबाटै निकाला गर्ने र सम्पूर्ण सरकारी अधिकार कटौटी गरिदिने धम्की पनि दिन्छन् । धम्क्याएपछि समर्पित अस्पतालमा लगेर अध्यक्षको रोहवरमा गर्भपतन गराइन्छ । युवतीको स्वास्थ्य अहिले पनि चिन्ताजनक छ । उनी न्यायका लागि रुँदै कराउँदै हिँडिरहेकी छिन् । जिल्ला प्रहरी कार्यालयमा २२ माघमा उजुरी दिएका छन् । तर, न्याय दिलाउन सरकार अहिले पनि उदासीन छ । पीडकलाई तत्काल पक्राउ गरेर कारबाही गरियोस् । पीडितलाई राहत र कानुनी उपचार दिइयोस् ।