मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अर्जुन अधिकारी काठमाडाैं
२०७६ फाल्गुण २ शुक्रबार ०६:१९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

क्वारेन्टाइनमा नियम तोडे महेन्द्रको पालाको कानुनअनुसार कारबाही

नियम नमान्नेलाई एक महिना र अवरोध गर्नेलाई ६ महिना कैद

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण २ शुक्रबार ०६:१९:००

हाल स्वास्थ्यसम्बन्धी १५ ऐन र ११ नियमावली छन् । तर, चीनको हुबेईबाट उद्धार गरेर ल्याइएकालाई क्वारेन्टाइनमा राख्दा सरकारको निर्देशन उल्लंघन भए ५६ वर्ष पुरानो ऐनअनुसार कारबाही हुने भएको छ । संक्रामक रोग रोकथामका सम्बन्धमा नयाँ ऐन नभएकाले राजा महेन्द्रको पालामा बनेको ‘संक्रामक रोग ऐन, २०२०’ आकर्षित हुने भएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेक लालका अनुसार क्वारेन्टाइनमा तोकिएको नियमको अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने ऐनमा उल्लेख छ । त्यस्तै, सरकारले खटाएका व्यक्तिलाई कसैले काममा बाधा पुर्‍याए ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । 

क्वारेन्टाइनमा सरकारको निर्देशनअनुसार असल नियतले खटिने कर्मचारीविरुद्ध कसैले नालिस वा अन्य कानुनी कारबाही गर्न नसकिने पनि ऐनमा व्यवस्था छ । सरकारको निर्देशन उल्लंघन गर्ने जो–कसैलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुने व्यवस्था छ । 

राजा महेन्द्रले ०२० मा ‘ज्वरो’ नियन्त्रण गर्न राष्ट्रिय पञ्चायतको सल्लाहमा यो ऐन बनाएका थिए । देशभर वा देशको कुनै भागमा संक्रामक रोग फैलिए वा फैलिने सम्भावना देखिए रोकथाम र निर्मूल गर्न ऐन जारी भएको थियो । संक्रामक रोगसम्बन्धी नयाँ ऐन–नियम नबनेका कारण ०२० मा बनेको ऐन नै लागू गर्नुपरेको डा. लालले बताए । 

चीनको वुहानलगायत सहरबाट एक सय ८० नेपालीमा फर्काउन सरकारले शनिबार नेपाल वायुसेवा निगमको एयरबस ३३०–२०० सिरिजको दुई सय ७४ सिटे जहाज वुहान पठाउँदै छ । चीनस्थित नेपाली दूतावासले स्वदेश फर्काइने नेपालीलाई सुरक्षित स्थान (क्वारेन्टाइन)मा बस्दा र नेपाल फर्किने क्रममा पालना गर्नुपर्ने विषयको सर्तनामा गराइसकेको छ । सर्तनामाअनुसार नेपाल ल्याइएपछि उनीहरूले १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा रहँदा विश्व स्वास्थ्य संगठन र सरकारले तोकेको सर्त पालना गर्नुपर्नेछ । 

सरकारले क्वारेन्टाइनमा दुई हप्ता अनिवार्य बस्नैपर्ने, आवश्यक परे अझै बढी राख्न सकिने जनाएको छ । त्यस्तै, क्वारेन्टाइनमा रहँदा खाना, पानी, शौचालय, स्वास्थ्य उपचार, संक्रमण रोकथाम र नियन्त्रणको सबै व्यवस्थापन हुनेछ । सबै सरकारले तोकेको स्थानमा मात्रै गर्न पाइनेछ । दुई सातासम्म आफन्तसँग भेटघाट गर्न नदिने तथा क्वारेन्टाइनस्थल बाहिर निस्किन नपाउने नियम बनाएको छ । नियमित स्वास्थ्य र नमुना परीक्षण गर्दा अवरोध गर्न नपाउने पनि उल्लेख छ ।