मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस काठमाडौं
२०७६ फाल्गुण १ बिहीबार १८:३१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

चीनमा रहेका नेपालीलाई शनिबार स्वदेश ल्याइँदै

Read Time : > 1 मिनेट
रासस काठमाडौं
२०७६ फाल्गुण १ बिहीबार १८:३१:००

सरकारले चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजमार्फत स्वदेश ल्याउने भएको छ । हुवेई प्रान्तको विभिन्न शहरबाट नेपाल फर्कने विद्यार्थीलाई लिन निगमको वाइडबडी जहाज शनिबार अपरान्ह चीन पठाउन लागिएको हो ।

स्वदेश फर्कन चाहने नेपालीलाई निगमको जहाजमार्फत ल्याउने व्यवस्था मिलाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए । निगम अध्यक्षको समेत जिम्मेवारी सम्हालेका अधिकारीले निगमको वाइडबडी जहाज शनिबार चीन पठाउने तयारी भइरहेको बताए । 
चीनको वुहानमा रहेका नेपाली लिन शनिबार अपरान्ह २ः४५ बजे निगमको वाइडबडी जहाज चीन उड्नेछ । उक्त जहाज नेपाली लिएर आइतबार बिहान २ः१५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । 

अवतरण गरेपछि जहाजलाई ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्नेछैन । निगमका प्रवक्ता अर्चना खड्काले बजारमा हल्ला छाएजस्तो निगमका पाइलट चीन जान मानेनन् भन्ने समाचारमा कुनै सत्यता नरहेको भन्दै जहाजका सबै कर्मचारी इमान्दारीपूर्वक सेवामा खटिने बताइन । बुहान जाने टोलीमा तीन विमान चालक, छ क्याबिन क्रु, दुई इञ्जिनीयर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने जनाइएको छ ।
    
हुवेई प्रान्तको विभिन्न शहरमा रहेका नेपाली विद्यार्थीलाई वुहानमा भेला गरिनेछ । चीनबाट ल्याइने विद्यार्थीलाई क्वारेन्टाइनमा राखिनेछ । त्यसका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुईवटा भवन तयारी अवस्थामा राखिएको छ । वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपाली छन् । 
     
चीनको हुवेइ प्रान्तको वुहानलगायत शहरबाट १८० नेपालीले स्वदेश फर्कन लागि त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । चीनको वुहान प्रान्तमा सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक कोरोना भाइरस पत्ता लागेको थियो । अहिले चीनको २२ प्रान्त तथा विश्वका २३ मुलुकमा कोरोना भाइरस फैलिसकेको बताइन्छ ।
    
चीनबाट ल्याइएका नेपालीलाई यहाँ १४ दिनसम्म परीक्षणमा राखिनेछ । कोरोना भाइरस नदेखिएपछि सार्वजनिक भेटघाटका लागि जान दिइनेछ । सरकारले उक्त भाइरस सङ्क्रमणका लागि तीन अस्पतालमा ४३ शैयाको व्यवस्था गरेको छ । पोखरा, चितवन र भैरहवामा ‘हेल्थ डेक्स’को व्यवस्था गरेको छ ।