Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ फाल्गुण १ बिहीबार १४:५४:००
Read Time : > 2 मिनेट
समाचार

नेकपाद्वारा आयोजित जनयुद्ध तथा जनआन्दोलनका सहिद श्रद्धाञ्जली सभामा जे देखियो

Read Time : > 2 मिनेट
२०७६ फाल्गुण १ बिहीबार १४:५४:००

सत्तारुढ नेकपाको पार्टी मुख्यालय धुम्बाराही परिसरमा बिहीबार बिहानैबाट चहल पहल बढेको थियो । 

पार्टीका सचिवालय सदस्यदेखि विद्यार्थी संगठनका नेता र सुभेच्छुकको बाक्लो उपस्थिति थियो । पार्टीका दुवै अध्यक्ष कार्यक्रममा उपस्थिति हुने औपचारिक जानकारी गराइएको थियो ।

पार्टी एकताअघिसम्म तत्कालीन माओवादी केन्द्रले ‘जनयुद्ध दिवस’को रुपमा मनाउँदै आएको १ फागुनलाई सत्तारुढ नेकपाले ‘जनआन्दोलन तथा जनयुद्धका सहिदहरूको स्मृतिमा श्रद्धाञ्जली सभा’ गरेको हो ।
तर कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली उपस्थित भएनन् ।

‘वहाँ स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसक्नुभएको हो,’ ओली निकट एक नेताले भने, ‘पार्टीले जारी गरेको सम्पूर्ण विज्ञप्ति र निम्तोमा दुवै अध्यक्ष नै उपस्थित हुने उल्लेख गरिसकेपछि यसैलाई आधिकारिक धारणा मान्नुपर्छ । प्रधानमन्त्रीज्यूको अनुपस्थितिलाई अन्य कोणबाट व्याख्या गर्न जरूरी छैन ।’

पोहोर पनि ओली अनुपस्थित 
तत्कालीन माओवादीले १ फागुन ०५२ मा जनयुद्ध घोषणा गरेकोले त्यो दिनको सम्झनामा जनयुद्ध दिवस मनाउने गरेको छ । 

३ जेठ ०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको नौं महिनापछि पार्टीले आयोजना गरेको जनयुद्ध तथा जनआन्दोलनका सहिद श्रद्धान्जली सभामा पनि ओली अनुपस्थित भए ।
‘तुलना गरेरै हेर्दा पोहोरको स्थिति फरक थियो । एकअर्काले स्वीकार्ने र अपनत्व लिने कुरामा दवै अध्यक्षबीच केही असमझदारी थियो होला,’ ती नेताले नयाँ पत्रिकासँग भने, ‘तर आज उहाँ (ओली)को अनुपस्थितिलाई त्यसरी बुझ्न हुँदैन ।’

यस्तै नेकपा सचिवालयका सदस्यहरूमध्ये झलनाथ खनाल, माधवकुमार नेपाल र ईश्वर पोखरेल पनि श्रद्धाञ्जली सभामा अनुपस्थित थिए ।

नेपाल पार्टीको कामले विदेश भ्रमणमा रहेकाले सभामा उपस्थित हुन सकेनन् ।

खनाल विश्व रेडियो दिवसको कार्यक्रममा व्यस्त थिए भने पोखरेल काठमाडौंबाहिर रहेका छन् ।  

१५-१९ माघमा सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकले दुवै पार्टीका अध्यक्ष, शीर्षनेता र कार्यकर्ताबीच हार्दिकता बढेको नेकपाको निष्कर्ष छ ।

मार्क्स, एङ्गेल्स र लेनिनको फोटो राखियो
१५-१८ माघमा केन्द्रीय कमिटी बैठकको मूख्य हल राष्ट्रिय सभागृहमा अध्यक्ष प्रचण्ड र ओलीको फोटो राखेकोमा नेता तथा कार्यकर्ताले आलोचना गरेका थिए ।

तर बिहीबारको श्रद्धाञ्जली सभामा भने विश्व कम्युनिष्ट राजनीतिका जन्मदाता र समाजवादका प्रवद्र्धकहरू कार्ल माक्र्स, फ्रेडरिक एङ्गेल्स र भ्लादिमिर लेनिनका तस्बिर राखिएको थियो ।
तस्बिरमा नेता तथा शुभेच्छुकहले पुष्पगुच्छा अर्पण गरेकोसमेत देखिन्थ्यो । 

शान्ति प्रक्रियाबाट मूलधारमा आउनु सफलता : प्रचण्ड
पार्टीले आयोजना गरेका यसअघिका कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालकै सेरोफेरोको राजनीतिक दृष्टान्त र उदाहरण धेरै निकाल्थे । तर बिहीबारको सहिद श्रद्धाञ्जली सभामा भने विश्व कम्युनिष्ट राजनीतिका प्रसंग बारम्बार निकालिरहे ।

विश्वको उदाहरण दिँदै नेपालको सशस्त्र जनयुद्ध अन्य देशकोभन्दा मौलिक भएको उनले दाहो-याइरहे ।

विद्रोहबाट संघीय गणतान्त्रिक संविधान बनाउँदै, पार्टी एकता गर्दै बहुमत प्राप्त सरकार गठन गर्न सफल भएको उनले बताए ।

‘यसरी सशस्त्र विद्रोह गर्दै शान्ति प्रक्रियाबाट अहिलेको बहुमत प्राप्त सरकारसम्म आइपुग्नु हामी सबै नेपाली जनताका लागि सौभाग्य हो,’ उनले भने ।

तत्कालीन एमालेका ३ सय कार्यकर्ताले सहादत गरे : गौतम
नेकपा उपाध्यक्ष तथा पार्टीका संगठन विभाग प्रमुख वामदेव गौतमले सहिदहरूको बलिदानी लोकतन्त्र, गणतन्त्र प्राप्ति, नेपाली जनताको मुक्ति र समृद्धिका लागि भएको बताए । 

‘नेपालको जनयुद्धमा भएजस्तो सहिदहरूको यति ठूलो बलिदान विश्वको इतिहासमा कहीं पनि भएको छैन,’ गौतमले भने ।

‘जनयुद्धका क्रममा तत्कालीन एमालेका ३ सय भन्दा बढी कार्यकर्ताले रगत बगाएका छन् । शहादत प्राप्त गरेका छन्,’ गौतमले भने, ‘हामीले सवै सहिदलाई एकैसाथ सधैं सम्झनुपर्छ ।’
सहिदहरूको बलिदानीकै कारण परिवर्तन सम्भव भएकाले पार्टीको अबको कार्यदिशा दलाल पुँजीवादलाई राष्ट्रिय पुँजीवाद बनाउनेमा केन्द्रीत भएको गौतमले बताए ।

लोकतान्त्रिक विधि र पद्धतिको माध्यमबाट समाजवाद स्थापना गर्ने नयाँ अभ्यासका साथ नयाँ बाटोमा सरकार लागेको उपाध्यक्ष गौतमले दाबी गरे ।

‘थप हार्दिकता बढाएको छ’
तत्कालीन दुवै पार्टीका नेता तथा कार्यकर्ताले आजको सहिद श्रद्धाञजली सभालाई पार्टीका रूपबाट नभई गणतन्त्र प्राप्तिका लागि देशले पाएको उपलब्धिका रूपमा बुझ्नुपर्ने बताए ।

नेपालको कम्युनिस्ट, वामपन्थी आन्दोलन, जनआन्दोलन र जनयुद्धका क्रममा सहादत प्राप्त गरेका समस्त सहिदहरूको श्रद्धाञ्जलीका रूपमा यो सभालाई बुझ्नुपर्ने उनीहरूको दृष्टिकोण छ ।

‘हिजोका अलग दुई पार्टीले सहिदहरूप्रति जुन अपनत्व र हार्दिकता ग्रहण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ, यसले पार्टी भौतिक रूपमा मात्र होइन भावनात्मक रूपमा पनि एक भएको सन्देश दिएको छ,’ अनेरास्ववियूका केन्द्रीय नेता नरेश रेग्मीले भने ।

यस्तै नेकपा केन्द्रीय सदस्य तथा पार्टीका विदेश विभाग उपप्रमुख विष्णु रिजालले सहिद श्रद्धाञ्जली सभाले वामपन्थी आन्दोलनका सबै सहिदहरूप्रति पार्टीका सबै नेता, कार्यकर्तामा अपनत्वको भावना बढाउन सहयोग गर्ने बताए ।