१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ माघ २९ बुधबार १८:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

एमसीसी कार्यदलले माग्यो थप १० दिनको समय

Read Time : < 1 मिनेट
२०७६ माघ २९ बुधबार १८:४४:००

अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न गठित झलनाथ खनाल नेतृत्वको कार्यदलले थप समय मागेको छ । नेकपा स्रोतका अनुसार, १ फागुनदेखि लागू हुने गरी खनाल कार्यादलले थप १० दिन समय माग गरेको हो । 

एमसीसी संसदबाट पास गराउने विषयमा सत्तारुढ नेकपाभित्रै विवाद बढेपछि यसबारे अध्ययन गर्न पार्टी केन्द्रीय कमिटी बैठकले १९ माघमा कार्यदल गठन गर्ने निर्णय गरेको थियो । कार्यदललाई केन्द्रीय कमिटी बैठकले दिएको समयावधि बुधबार (२९ फागुन) सकिएको छ । 

‘ठ्याक्कै यति दिन आवस्यक पर्छ भनेका छैनौँ’ कार्यदल संयोजक खनालले नयाँ पत्रिकासँग भने, ‘केन्द्रीय कमिटीले निर्णय गरेको १० दिन समयावधि हामीलाई अपुग भएको हो ।’  

केन्द्रीय कमिटीको निर्णयलगत्तै २० माघदेखि खनाल संयोजकत्वको कार्यदलले काम सुरु गरेको थियो । कार्यदलमा स्थायी कमिटी सदस्य तथा पार्टीका सङ्गठन विभाग सदस्य भीम रावल र पराराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य छन् ।  

एमसीसीका दस्तावेज अध्ययन, नेपालसँगको सम्झौताका विषय, अमेरिकाले लगानी गर्ने क्षेत्र र कार्यान्वयनका विविध पक्षबारे अध्ययन गरेर कार्यदलले पार्टी सचिवालयमा प्रतिवेदन पेश गर्ने कार्यादेश पाएको छ । 

कार्यदलले तोकिएको समय अपुग भएको जनाएपछि यसबारे निर्णय गरेर कार्यदललाई थप समय दिनेबारे नेतृत्वमा छलफल सुरू भएको बालुवाटार स्रोतले बताएको छ ।  

‘सचिवालयले निर्णय गरेर या दुवै अध्यक्षले सल्लाह गरेर हामीलाई आवश्यक थप समय दिनसक्नुहुनेछ,’ खनालले भने, ‘हामीले केही दिन थप्नुपर्ने देखेका छौं ।'