१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अजित अधिकारी काठमाडौं
२०७६ माघ २९ बुधबार ०८:०६:००
Read Time : > 2 मिनेट
अर्थ

उद्योगीद्वारा अत्यधिक नाफा कमाउन घाटा भन्दै चल्ला नष्ट गरेको खुलासा

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७६ माघ २९ बुधबार ०८:०६:००

ह्याचरी उद्योगीले मंसिर २९ देखि ८ पुससम्म लागत मूल्यभन्दा सस्तोमा बेच्नुपरेको भन्दै ३० लाख चल्ला र ४५ करोडको चल्ला कोरल्न ठिक्क पारिएका अन्डा नष्ट गरेका थिए । तर, मूल्यवृद्धिका लागि दबाब दिन आन्दोलन गरिएको सोही समयमा उद्योगीले प्रतिगोटा ४० देखि ४५ रुपैयाँमा चल्ला बिक्री गरेको भेटिएको छ । उनीहरूले मंसिरको सुरुवातबाटै प्रतिगोटा १०–१५ रुपैयाँमा चल्ला बिक्री गर्दा नोक्सानी व्यहोर्नुपरेको जिकिर गर्दै आएका थिए । 

लागतमूल्यभन्दा आधा सस्तोमा चल्ला बिक्री गर्न नसक्ने भन्दै दश दिन उद्योगीहरूले देशभर चल्ला उत्पादन नै ठप्प पारे । सोहीकारण चल्लाको भाउ अकासिएर अहिले ७० रुपैयाँ प्रतिगोटा पुगेको छ । चल्लाको भाउ बढेपछि कुखुराको मासुको मूल्य अकासिएर प्रतिकिलो ४ सय २० रुपैयाँसम्म पुगेको थियो । ह्याचरी उद्योग संघका अध्यक्ष शिवराम पोखरेलले मंसिरमा १०–१५ रुपैयाँ प्रतिगोटामा चल्ला बिक्री गर्नुपरेको गुनासो गरेका थिए ।

केही दिनअघि मात्र उनले भनेका थिए, ‘लागत ५५ रुपैयाँसम्म पर्छ । तर, हामी जम्मा १०–१५ रुपैयाँमा बेच्न बाध्य भएका थियौँ ।’ तर, ह्याचरी उद्योगीको यस्तो दाबी मुनाफा कमाउन गरिएको प्रपञ्च मात्रै रहेको भेटिएको छ । उद्योगीले चल्ला उत्पादन रोक्नुभन्दा एक दिनअघि २८ मंसिरमा काभ्रेको बनेपा–११, धनेश्वरमा रहेको ललितपुर ह्याचरी प्रालिले नालाका किसान बालकृष्ण दाहाललाई ४० रुपैयाँ प्रतिगोटाका दरले २ हजार ८ सय ब्रोइलर चल्ला बिक्री गरेको बिल नयाँ पत्रिकाले प्राप्त गरेको छ । सो बिलमा १ लाख १२ हजार रुपैयाँको चल्ला बिक्री भएको देखिन्छ । 

सोभन्दा एक हप्ताअघि २१ मंसिरमा सोही ह्याचरीले दाहाललाई ४० रुपैयाँ प्रतिगोटामै २ हजार ७ सय चल्ला कुल १ लाख ८ हजार रुपैयाँमा बिक्री गरेको बिल पनि प्राप्त भएको छ ।
त्यसैगरी भक्तपुरको पिङखेलमा रहेको कार्की पोल्ट्री सप्लायर्सले १ मंसिरमा किसान गणेश बस्नेतलाई प्रतिगोता ४५ रुपैयाँका दरले ५ हजार १ सय ७ चल्ला कुल २ लाख २९ हजार ८ सय १५ रुपैयाँमा बिक्री गरेको बिजकबाट देखिन्छ । यसरी मुनाफायोग्य मूल्यमै चल्ला बिक्री गरे पनि अत्यधिक मुनाफाको लालसामा ह्याचरी सञ्चालकले चल्ला नष्ट गरेको किसानहरूको गुनासो छ ।

अध्यक्ष पोखरेलसँग सोमबार यस विषयमा प्रतिक्रिया लिन खोज्दा ह्याचरी संघले कहिल्यै मूल्य निर्धारण नगर्ने बताए । उनले भने, ‘ह्याचरी उद्योग संघले कहिल्यै पनि मूल्य निर्धारण गर्दैन । बजारमा माग र आपूर्तिले चल्लाको मूल्य निर्धारण गर्नेमा विश्वास गर्छौँ । संघले मूल्य नराख्ने हुनाले ३ सय ८ ह्याचरीले आफ्नो मूल्य आफैँ राख्ने गरेको छ ।’ कुखुरापालक किसान संघर्ष समितिका संयोजक विष्णु खड्काले पनि यो वर्ष चल्लाको मूल्य प्रतिगोटा ३५–४० रुपैयाँभन्दा कम नरहेको बताए ।

‘किसानले ३५–४० भन्दा कम मूल्यमा चल्ला किन्न पाएकै छैनन् । ह्याचरी सञ्चालकहरूले भने १०–१५ रुपैयाँमा बिक्री गरेको भनेर अफवाह फैलाए,’ खड्का भन्छन्, ‘यो नितान्त उद्योगीको फाइदाका लागि मात्र भएको छ ।’  उद्योगीले फाइदाकै लागि माघको दोस्रोदेखि तेस्रो हप्ताको बीचमा चल्लाको भाउमा ३० रुपैयाँ वृद्धि गरेका छन् । १० माघसम्म ४० रुपैयाँमा बेचिरहेको चल्ला उद्योगीले ११ माघमा ५० रुपैयाँ पुर्‍याएका थिए । १४ माघमा ६० र १८ माघदेखि ७० रुपैयाँमा बिक्री गरिरहेका छन् ।

 दुई वर्षमै दुई सय ह्याचरी उद्योगी थपिए
तीन वर्षअघि देशभर करिब १ सय ह्याचरी उद्योगी थिए । त्यतिखेर धेरै व्यक्ति मिलेर एउटा ह्याचरी उद्योग सञ्चालन गर्थे । तर, थोरै लगानीमा मनग्य नाफा देखेपछि बिस्तारै प्रत्येक सञ्चालकले आ–आफ्नै ह्याचरी खोल्न थालेका हुन् । पहिले संगोलमा ह्याचरी चलाउनेहरू बिस्तारै एक्लै सञ्चालक हुन थालेपछि देशभर अहिले ३ सयको संख्यामा उद्योग छन् । ‘यसरी धेरै उद्योग आउँदा मागभन्दा बढी उत्पादन भयो,’ एक पुराना पोल्ट्री व्यवसायी भन्छन्, ‘नयाँ आएका उद्योगबाट बजार माग आकलन नगरी जथाभावी चल्ला उत्पादन गरिए । जसकारण उत्पादन बढी भयो र खाल्डोमा हाल्नुपर्ने स्थिति बन्यो ।’ उद्योगीले मनग्य नाफा कमाउनकै  लागि ठूलो संख्यामा चल्ला नष्ट गरेको उनको दाबी छ । हाल मुलुकभर प्रत्येक साता ३५ लाख चल्ला र चितवनमा मात्र १५ लाख चल्ला उत्पादन हुँदै आएको छ ।