मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २८ मंगलबार १६:४८:००
Read Time : < 1 मिनेट
समाचार

काठमाडौंमा क्रान्तिकारी बहस गर्दैमा महिला सशक्तीकरण हुँदैन : सञ्चारमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २८ मंगलबार १६:४८:००

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौंमा क्रान्तिकारी बहस गर्दैमा महिला सशक्तीकरण नहुने बताएका छन् । राष्ट्रिय सूचना आयोगले आयोजना गरेको ‘सूचनाको हकका लागि महिला सशक्तीकरण’ सम्बन्धी अन्तरक्रियामा बोल्दै उनले काठमाडौंमा गरिने बहसले छाउपडी र बोक्सी प्रथा अन्त्य नहुने बताए ।

मन्त्री बाँस्कोटाले सम्बन्धित क्षेत्रमा गएर बहस चलाउन समेत आग्रह गरे । ‘ठूलाठूला क्रान्तिकारी बहस गर्नुभन्दा साधारण व्यवहारिक कुराबाट समाजको रुपान्तरण र परिवर्तनतर्फ लाग्नुपर्छ,’ उनले भने, ‘सूचनाको हक भन्ने कुरा आफ्नो देश, आफ्नो अधिकार र आफ्नो कर्तव्यको बारेमा पनि थाहा पाउने हो । तर अधिकार खोज्नेले कर्तव्य बिर्सने परिपाटी छ ।’

कार्यक्रममा प्रतिनिधि सभाको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले संविधानमा महिला अधिकार सुनिश्चित भए पनि कार्यान्वयनमा समस्या रहेको बताइन । उनले महिला सशक्तीकरणका लागि काठमाडौंमा हुने सेमिनारले देशभर हुने महिलाको समस्या समाधान गर्न नसक्ने उल्लेख गरिन् ।

‘सूचना हाम्रो अधिकार: सुशासन र विकासको आधार’ भन्ने नारासहित राष्ट्रिय सूचना आयोगले सूचनाको हकका लागि महिला सशक्तीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम काठमाडौंमा आयोजना गरेको हो । कार्यक्रममा सहभागीहरूले महिलालाई राजनीतिक, सामाजिक र आर्थिक रुपमा सशक्त बनाउन सूचनाको पहुँचको विकास र विस्तार गर्नु पर्नेमा जोड दिए ।