१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २८ मंगलबार १३:४२:००
Read Time : > 1 मिनेट
अर्थ

विद्युतीय माध्यमबाट भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत फिर्ता हुने प्रणालीको थालनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २८ मंगलबार १३:४२:००

आन्तरिक राजस्व विभागले विद्युतीय माध्यमबाट भुक्तानी गर्दा उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि कर(भ्याट) को १० प्रतिशत रकम बैंक खातामा फिर्ता गर्ने व्यवस्थाको सुरुवात गरेको छ ।

विभागले मंगलबार काठमाडौंमा कार्यक्रम आयोजना गरी बायोमेट्रिक दर्ता र विद्युतीय माध्यमबाट भ्याट भुक्तानी गर्ने प्रणालीको सुरुवात गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर प्रणालीलाई सुधार गर्न प्रविधिको प्रयोग बढाउने र कर सहभागीता बढाउन भ्याटमा केही छुट दिने नीति लिएको बताए ।

उनले सरकारको कर नीति बढी राजश्व संकलन गर्ने भन्दा पनि करको दायरा बढाउने, पहुँच बढाउने तथा लगानी मैत्री र व्यवसाय मैत्री कर प्रणालीको विकास गर्नु रहेको बताए । उनले करदतालाई कर बुझाउने क्रममा हुने समस्याको अन्त्य गरी भौगोलिक र प्राविधिक रुपमा पहुँच बढाउने गरी सरकारले कर नीति लागू गरेको बताए । 

कार्यक्रममा राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले करको दायरा बढाउनका लागि भ्याटमा क्यास ब्याक प्रणाली प्रभावकारी रुपमा अघि बढाउने बताए । उनले सरकारले पारदर्शी कर प्रणालीको विकास होस, अनुमान योग्य कर प्रणालीको विकास होस, र कारोवारलाई सही ढंगबाट चित्रित गर्न सकियोस् भन्ने उद्देश्यले भ्याटमा क्यास ब्याकको नीति अवलम्बन गरेको बताए । उनले कर प्रणालीको विकासले राजश्व चुहावट कम हुने र अनधिकृत रुपमा हुने आर्थिक गतिविधी नियन्त्रण हुने आधार तयार हुने बताए । 

कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक बिनोदबहादुर कुँवरले भ्याटको वृद्धिदर ३१ प्रतिशत रहेको र क्यास ब्याक गर्ने व्यवस्थाले यसको दायरा अझै बढ्ने अपेक्षा लिएको बताए । 

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत विद्युतीय भुक्तानीमा १० प्रतिशत भ्याट फिर्ता दिने व्यवस्था गरेको थियो । सोही व्यवस्थाको कार्यान्वयन आर्थिक वर्ष शूरु भएको ६ महिनापछि गरिएको हो ।  

यस्तो भ्याट फिर्ता डेबिट र क्रेडिट कार्डबाट हुने भुक्तानीमा भने नहुने विभागले जनाएको छ । भ्याट फिर्ताका लागि विक्रेता, सेवा प्रदायक, विद्युतीय बिजकसम्बन्धी काम गर्ने कम्पनीहरु विभागको सफ्टवेरमा जोडिनुपर्ने हुन्छ । 

उपभोक्ताले राष्ट्र बैंकबाट मान्यता प्राप्त वालेट र मोबाइल बैंकिङबाट हुने भुक्तानीमा भ्याट फिर्ता पाउने छन् । त्यस्तै भ्याट फिर्ताका लागि विक्रेताले विद्युतीय बिलको प्रयोग अनिवार्य गरेको हुनु पर्नेछ । त्यसपछि मात्र उपभोक्ताले आफुले तिरेको भ्याटको १० प्रतिशत रकम तत्काल आफ्नो खातामा फिर्ता पाउने छन् ।