मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २८ मंगलबार ०८:०४:००
Read Time : < 1 मिनेट
अर्थ

निगमको नारिता उडानको भाडा ३७ हजार   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २८ मंगलबार ०८:०४:००

नेपाल वायुसेवा निगमले फागुन १९ गतेदेखि उडान गर्ने जापानको नारिताको एकतर्फी भाडा ३७ हजार रुपैयाँ निर्धारण गरेको छ । दुईतर्फी भाडा भने ७३ हजार रुपैयाँ पर्नेछ । निगमले उडान गरिरहेको जापानको ओसाका उडानबाट ५ महिनामा १२ करोड रुपैयाँभन्दा बढी घाटा भएपछि विमानस्थल परिवर्तन गर्न लागेको हो । 

निगमले पहिले विभिन्न अध्ययन गराउँदा नारिताकै उडान लाभदायक हुने निष्कर्ष निकालेको थियो । तर, तत्कालीन अध्यक्ष मदन खरेलले जबर्जस्ती ओसाका उडान गर्न लगाएका थिए । निगमले नारितामा सातामा ३ दिन (सोमबार, बुधबार र शुक्रबार) एयरबस वाइडबडीबाट सीधा उडान गर्नेछ । रातिको एक बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नेछ र सोही दिन बेलुका ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण गर्ने कार्यतालिका बनाइएको छ ।  

निगमले प्रवद्र्धनात्मक भाडाडर काठमाडौंबाट नारिताका लागि एकतर्फी ३७ हजार र दुईतर्फी भाडा ७३ हजार निर्धारण गरेको छ । यसका साथै बिजनेस क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २५–२५ केजीका दुईवटा ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३–२३ केजीका दुई ब्यागेजको सुविधा पाउनेछन् । नारिताको उडान सुरु भएपछि टोकियो र वरपरका यात्रुहरूलाई सुविधा हुनेछ भने सीधा उडानले गर्दा ट्रान्जिटको झम्झटसमेत समाप्त हुनेछ ।

भदौदेखि उडान सुरु गरेको निगमले फागुनदेखि ओसाका उडान बन्द गर्ने भएको छ । ‘निगम व्यवस्थापनले औपचारिक घोषणा नगरे तापनि मार्चको ओसाका सेड्युअल (तालिका) पठाएको छैन,’ निगम स्रोतले भन्यो । तीन महिनाअगाडि नै तालिका पठाउनुपर्ने प्रावधान रहेको छ ।