मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
भाडा लिएर यात्रु बाेकेकाे निजी सवारी साधन
२०७६ माघ २७ सोमबार १९:२८:००
Read Time : < 1 मिनेट
समाचार

भाडा लिएर यात्रु बोक्ने निजी सवारी साधन प्रहरी नियन्त्रणमा

Read Time : < 1 मिनेट
२०७६ माघ २७ सोमबार १९:२८:००

ओखलढुंगामा प्रहरीले पछिल्लो समय भाडा लिएर यात्रु बोकेको भन्दै निजी सवारी साधनको चेकजाँचमा कडाइ गरेको छ । चार दिनयता जिल्लामा भाडा लिएर यात्रु बोक्ने १४ वटा निजी सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख डिएसपी रुपेश खड्काले बताए ।

रातो नम्बर प्लेट भए पनि सार्वजनिक सवारी साधनका रूपमा प्रयोग हुँदै आएका सवारी साधनलाई कालो प्लेटमा परिणत गर्न प्रहरीले गत वर्ष नै एक महिनाको अवधि दिएको थियो । तर तोकिएको समयभित्र केही सवारी साधन कालो नम्बर प्लेटमा परिणत गरिए पनि केही अझै बाँकी छन् । कालो प्लेट बनाउन बाँकी रहेकाहरू अझै पनि भाडामा प्रयोग हुँदै आएपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर यात्रु ओसारपसार गर्ने गरेको व्यापक गुनासो आएपछि प्रहरीले जिल्लाको विभिन्न स्थानमा चेकजाँचलाई तीव्र बनाएको छ । सोही क्रममा विभिन्न स्थानबाट १४ सवारी साधन नियन्त्रणमा लिइएको डिएसपी खड्काले बताए । उनले सवारी धनीलाई सवारी साधन तत्काल कालो नम्बर प्लेटमा परिणत गर्न निर्देशन दिएर छाडिएको बताए । उनले भने, ‘फेरि पनि रातो प्लेटमै भाडा लिएर यात्रु बोकेको पाइए कडा कारबाही गरिनेछ ।’ सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार प्रयोजन विपरीत सवारी साधन चलाए दुई सयदेखि एक हजार रुपैयाँसम्म जरिवाना हुन्छ ।

ऐनअनुसार कालो नम्बर प्लेट भएको सार्वजनिक सवारी साधनले मात्र यात्रु बोक्न पाउँछ । रातो नम्बर प्लेट भएको निजी सवारी साधनमा भाडा लिएर यात्रु ओसारपसार गर्न पाइँदैन । रातो नम्बर प्लेटको सवारी साधनमा रहेका यात्रुले दुर्घटना भएमा उपचार खर्चसमेत पाउँदैनन् । तर जिल्ला सदरमुकाम ओखलढुंगाबाट विभिन्न गाउँ जाने साना सवारी साधनहरू अधिकांश निजी नम्बर प्लेटका छन् ।