मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फोटो
रमेश दवाडी काठमाडौं
२०७६ माघ २६ आइतबार १६:५०:००
Read Time : > 1 मिनेट
समाचार

‘चुपचाप प्रतिपक्ष’ गच्छदारमाथि भ्रष्टाचार मुद्दा लागेपछि एकाएक उग्र

Read Time : > 1 मिनेट
रमेश दवाडी, काठमाडौं
२०७६ माघ २६ आइतबार १६:५०:००

सुस्त र सत्ताको सहयोगी बनेको आरोप खेपिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ललिता निवासको सरकारी जग्गा प्रकरणमा संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार मुद्दा दायर गरेपछि सरकारविरुद्ध आक्रोसित बनेको छ ।  

पार्टीका उपसभापति समेत रहेका गच्छेदारमाथि मुद्दा दायर भएपछि कांग्रेसले संसद, सडक र सार्वजनिक कार्यक्रम मार्फत् सरकारविरुद्ध खनिन थालेको छ । उ सडकमा उत्रिएको मात्र छैन, पार्टीका युवा नेताहरुले सरकारविरुद्ध आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनीसमेत दिएका छन् ।

यसअघि प्रमुख प्रतिपक्षी कांग्रेस सरकारविरुद्ध यति साह्रो खनिएको थिएन, यति धेरै सक्रिय पनि थिएन । तर, गच्छदारमाथिको मुद्दापछि उ एकाएक सक्रिय समेत देखिएको छ । बुधबार (२२ माघ) गच्छदारमाथि मुद्दा दर्ता भएपछिका घटनाक्रम हेर्दा त्यस्तै देखिन्छ ।

आकस्मिक बैठक र विरोध
मुद्दा दर्ता भएको भोलिपल्ट बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठस्थित निजी निवासमा निवासमा पार्टी पदाधिकारी, वरिष्ठ नेता र कानुन व्यवसायीसँग परामर्श गरे । बैठकमा सहभागी नेताहरुले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शिलशिलाबद्ध रुपमा कांग्रेसलाई पेल्न थालेको, प्रतिशोधका आधारमा गच्छदारमाथि मुद्दा लगाएको र अख्तियारले पनि अन्याय गरेको बताएका थिए ।

प्रतिनिधिसभा बैठक अवरुद्ध
गच्छदारमाथि मुद्दा दायर भएको  विषयलाई लिएर कांग्रेसले आइतबारसमेत संसद अवरुद्ध गर्यो । यो उसले गरेको तेस्रो अवरोध थियो । यसअघि उसले विहीबार (२३ माघ) र शुक्रबार (२४ माघ) मा पनि उसले संसद अवरुद्ध गरेको थियो ।

पत्रकार सम्मेलनद्वारा विरोध
गच्छदारमाथि मुद्दा दायर भएको भोलिपल्टै कांग्रेसले त्यसको विरोधमा पत्रकार सम्मेलन गरेको थियो । सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले सरकारले 'आफ्नालाई जोगाउने र अर्कालाई फसाउने' रणनीति लिएको आरोप लगाएको थियो ।

पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले तत्कालिन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिने तर, पूर्वमन्त्रीमाथि मुद्दा चलाउनुले बदनियत देखिएको बताएका थिए ।

उनको भनाई थियो ‘नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलमाथि मुद्दा नचलाइनु तर सोही प्रकृतिको मुद्दामा अरूलाई नसमेटिनुले अख्तियारले राज्यको प्रभावमा निर्णय भएको देखिन्छ ।’
 
संसदीय दलमा आक्रोस
गच्छदारमाथि मुद्दा दायर भएपछि यसै विषयमा छलफल गर्न नेपाली कांग्रेसले शुक्रबार (२४ माघ) मा संसदीय दलको बैठक समेत बोलायो । बैठकमा सभापति शेरबहादुर देउवा लगायतका नेताले संवैधानिक निकाय भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, शाही आयोग जस्तै ‘ओली आयोग’ बनेको आरोप लगाए । संसदीय दलले पनि गच्छदारमाथि पूर्वाग्रही भएर मुद्दा दर्ता गरिएको निष्कर्ष निकाल्यो ।

खासगरी पार्टीका भातृ संगठनहरु नेवि संघ र तरुण दल गच्छदारमाथि मुद्दा दर्ता गरिएपछि आक्रमक भएर सडकमा निस्केका छन् । यी भातृ संगठनका नेताहरुले आगामी आन्दोलन शान्तिपूर्ण नहुने चेतावनी समेत दिएका छन् ।
 
प्रमुख प्रतिपक्षी कांग्रेसले सोमबार केन्द्रीय समितिको बैठक समेत बोलाएको छ । यसै विषयमा छलफल गरेर उसले आगामी रणनीति बनाउने संभावना छ । कांग्रेस प्रवक्ता शर्मा भन्छन्, ‘सत्तारुढ दलका नेतालाई केही नहुने, तर प्रमुख प्रतिपक्षका नेतामाथि निशाना साँधिएको विषयमा बैठकमा गम्भीर छलफल हुनेछ ।’