मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ माघ २६ आइतबार ११:३३:००
Read Time : < 1 मिनेट
प्रदेश

सुदूरपश्चिमका १३% स्वास्थ्य बिमाको पहुँचमा

Read Time : < 1 मिनेट
२०७६ माघ २६ आइतबार ११:३३:००

सुदूरपश्चिम प्रदेशको कुल जनसंख्याको १३ दशमव २१ प्रतिशतमा स्वास्थ्य बिमाको पहुँच पुगेको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू भएका कैलाली, कञ्चनपुर, बाजुरा, अछाम, बैतडी, बझाङ र दार्चुलाका दुई लाख ५३ हजार ६ सय २० जनाले बिमा गराएका स्वास्थ्य बिमा बोर्डले जनाएको छ ।

सबैभन्दा बढी गरिबीको रेखामुनि रहेको बाजुरामा कुल जनसंख्याको १९ दशमलव ७५ प्रतिशत अर्थात् २६ हजार ६ सय ५० जनाले बिमा गराएका छन् । सरकारले गरिबको परिचयपत्र दिएका परिवारलाई बिमाको प्रिमियर शुल्क नलाग्ने भएकाले बाजुरामा बिमितको प्रतिशत बढी रहेको बिमा बोर्डका सुदूरपश्चिम संयोजक जनक साउदले बताए । देशमै सबैभन्दा पहिले स्वास्थ्य बिमा लागू भएको कैलालीमा कुल जनसंख्याको १८ दशमलव ०२ प्रतिशतले बिमा गराएका छन् । सरकारले विपन्न नागरिकलाई बिमामार्फत स्वास्थ्य उपचारको पहुँचमा ल्याउन ०७२ चैतमा कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको थियो ।

बैतडीमा ५ दशमलव १८ प्रतिशत, अछाममा १० दशमलव ४८ प्रतिशत, बझाङमा १५ दशमलव ६० प्रतिशत, कञ्चनपुरमा ६ दशमलव २४ प्रतिशत र दार्चुलामा सबैभन्दा कम ४ दशमलव ५० प्रतिशतले बिमा गराएका बोर्डले जनाएको छ । प्रदेशका बाँकी दुई जिल्ला डोटी र डडेल्धुरामा आगामी फागुनमा स्वास्थ्य बिमा लागू हुँदै छ । 

पाँचजनाको परिवारले साढे तीन हजार प्रिमियर शुल्क तिरेमा १ लाख रुपैयाँसम्मको औषधोपचार निःशुल्क पाउने व्यवस्था सरकारले गरेको छ । परिवारमा पाँच जनाभन्दा बढी सदस्य भए प्रतिसदस्य थप पाँच सय तिर्नुपर्छ र पाउने सुविधा २० हजारका दरले थप हुन्छ ।