१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ २६ आइतबार ०९:४७:००
Read Time : < 1 मिनेट
अर्थ

बागमती प्रदेशको विकास खर्च ८ प्रतिशत मात्रै

Read Time : < 1 मिनेट
२०७६ माघ २६ आइतबार ०९:४७:००

विकासलाई प्राथमिकतामा राखेको बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष ०७६/७७ को पहिलो ६ महिनामा पुँजीगततर्फ ८ प्रतिशत मात्र खर्च गरेको छ । प्रदेशको पुँजीगतर्फको बजेट २२ अर्ब ८१ करोड रुपैयाँ रहेकामा हालसम्म साउनदेखि पुससम्म १ अर्ब ९० करोड ४५ लाख मात्रै खर्च गर्न सफल भएको छ । प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार विकास खर्च बजेटको ८ दशमलव ३५ प्रतिशत मात्रै हो । 

त्यसो त प्रदेश सरकारको चालू खर्चको अवस्थामा पनि दयनीय छ । सरकारले चालूतर्फ २ अर्ब ४३ करोड १८ लाख रुपैयाँ (९ दशमलव ९ प्रतिशत) खर्च गरेको छ । चालूतर्फ २४ अर्ब ५२ करोड ७५ लाख रुपैयाँ बजेट छ । 

पुँजीगत र चालू खर्च गरी समग्रमा प्रदेश सरकारले ९ दशमलव १० प्रतिशत मात्र खर्च गर्न सफल भएको छ । प्रदेशको बजेट ४७ अर्ब ६३ करोड ७५ लाख रहेकामा ४ अर्ब ३३ करोड ६४ लाख रुपैयाँ मात्र खर्च भएको कोषका सूचना अधिकारी राजेन्द्र पाण्डेले जानकारी दिए ।

मुख्यमन्त्रीले सम्हालेकै मन्त्रालय कमजोर
मुख्यमन्त्री डोरमणि पौडेलले सम्हाल्दै आएको भौतिक पूर्वाधार विकास मन्त्रालयको पुँजीगत खर्च न्यून रहेको छ । चालू आवको ६ महिनामा भौतिक पूर्वाधारतर्फ ९ प्रतिशत खर्च भएको छ । यो मन्त्रालयको पुँजीगत बजेट १४ अर्ब ५१ करोड ९६ लाख छ । त्यसमध्ये १ अर्ब ३० करोड ६३ लाख रुपैयाँ मात्र खर्च गरेको छ ।