मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कृष्ण रिजाल काठमाडाैं
२०७६ माघ २६ आइतबार ०९:४४:००
Read Time : > 1 मिनेट
अर्थ

पाम आयल भारत निकासी खुला

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
२०७६ माघ २६ आइतबार ०९:४४:००

आफ्ना आयातकर्ताले आयात अनुमतिपत्र लिनुपर्ने प्रावधान राख्दै भारतले नेपालबाट निर्यात हुने आयलमा खुला गरेको हो

भारतले नेपालको पाम आयल निकासीमा लगाएको प्रतिबन्धलाई खुला गरेको छ । आफ्ना आयातकर्ताले अनुमतिपत्र लिनुपर्ने व्यवस्था गर्दै भारतले त्यसकै आधारमा पाम आयल आयात गर्न पाउने व्यवस्था गरेको हो । यससँगै अब नेपाली पाम आयल भारतमा निर्यात गर्न बाटो खुलेको उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले जानकारी दिए । 

भारतको वाणिज्य मन्त्रालयले २३ पुसदेखि नेपाली पाम आयल निकासीमा रोक लगाएको थियो । त्यसपछि सरकार, निजी क्षेत्र र स्वयं भारतीय आयातकर्ताले पाम आयल खुलाउन आग्रह गर्दै आएका थिए । भारतले ठाडै खुला नगरेपछि घुमाउरो बाटोबाट खुला गरेको हो । अब पूर्ववत् रूपमै निकासी हुने दुगडले जानकारी दिए । बिहीबार एक भारतीय आयातकर्ताले पाम आयल आयातका लागि अनुमतिपत्र पनि लिएका छन् । 

घुमाउरो बाटोबाट आयात खुला गरे पनि भारतले केही संकुचन नीति लिन सक्ने नेपाली व्यवसायीको आशंका छ । ‘पहिलाजस्तो सहज र खुला रूपमा पाम निकासी हुने, अनुमतिको व्यवस्था गरेर केही टाइट गर्न खोजेको देखिन्छ,’ उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले भने, ‘त्यसै पनि निकासी खुल्नु सकारात्मक हो ।’ ठूलो परिमाणमा पाम आयल निकासी हुन थालेपछि भारतले चासो राख्दै आएको थियो । उसले पाम आयलमा हुने ३ सय ५ प्रतिशत मूल्य वृद्धिप्रति आपत्ति जनाउँदै रोक लगाएको थियो । 

निकासीमा रोक लगाएको एक सातापछि मन्त्रालयले पत्राचार गर्दै खोल्न आग्रह गरेको थियो । पाम आयलको निकासीमा लगाइएको रोक साफ्टा र दुईपक्षीय व्यापार सन्धि तथा सम्झौताविपरीत भएको भन्दै नेपालले भारतको ध्यानाकर्षणसमेत गराएको थियो । ‘भारतले कुल खपत गर्ने पाम आयलमा नेपाली उत्पादनको हिस्सा एकदमै न्यून छ,’ वाणिज्यका एक अधिकारीले भने, ‘त्यसैले हाम्रो निकासी खुला गर्दा भारतलाई केही फरक पर्दैन, तर नेपालको निर्यातमा पाम आयलको हिस्सा ठूलो छ, निकासी रोकिँदा अर्थतन्त्र नै प्रभावित हुन्छ ।’  

नेपालमा २० पाम आयल उद्योग छन् । त्यसमध्ये १७ वटाले निकासी गर्छन् । नेपालले इन्डोनेसिया र मलेसियाबाट कच्चा पदार्थ पाम ल्याएर प्रशोधन गर्दै निकासी गर्ने गरेको छ ।