१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ २५ शनिबार १८:५८:००
Read Time : > 1 मिनेट
अर्थ

२० वर्षभित्र धनगढीलाई अन्तर्राष्ट्रिय विमानस्थल बनाइने

Read Time : > 1 मिनेट
२०७६ माघ २५ शनिबार १८:५८:००

धनगढी विमानस्थललाई आगामी २० वर्षभित्र अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी गुरुयोजना तयार पारिएको छ । विमानस्थलको स्तरोन्नतिका लागि जग्गा अधिग्रहण र पूर्वाधार विकासमा करिब १७ अर्ब रुपैयाँ खर्च गरिने नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका महानिर्देशक राजु पोखरेलले पाँच अर्ब रुपैयाँ घर तथा जग्गा अधिग्रहण र बाँकी रकम पूर्वाधार विकासमा खर्च गर्ने गरी गुरुयोजना तयार पारिएको जानकारी दिए । विमानस्थल स्तरोन्नतिका लागि दुई सय ४४ बिगाहा जग्गा अधिग्रहण गरिने छ । चालु आर्थिक वर्षमा गुरुयोजना बनाएर अर्को वर्षबाट काम थालिने महानिर्देशक पोखरेलले बताए ।
रियलपाथ इन्जिनियरिङ कन्सल्टेन्ट प्रालिले बनाएको गुरुयोजनालाई अन्तिम रूप दिन शनिबार धनगढीमा सरोकारवालासँग छलफल गरिएको छ ।

घर तथा जग्गा अधिग्रहण र पूर्वाधार विकासको काम तीन चरणमा गर्नुपर्ने गुरुयोजनाले तय गरेको छ । सन् २०२४ सम्म विमानस्थल स्तरोन्नतिका लागि आवश्यक जग्गा अधिग्रहण गर्ने तथा त्यसको पाँच वर्षभित्र (सन् २०२४–३० सम्म) दुई हजार पाँच सय ५० मिटर लामो र ३० मिटर चौडा धावनमार्ग निर्माण गरिसक्ने गरी गुरुयोजना तयार पारिएको कन्सल्टेन्टका निर्देशक गुरुदत्त अधिकारीले जानकारी दिए ।

त्यसपछिको १० वर्षमा थप आवश्यक पूर्वाधार निर्माण गरेर धनगढीलाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाइने गुरुयोजनामा उल्लेख छ । टर्मिनल भवनलगायत अहिलेका संरचना प्रयोग गर्न सकिने गरी उत्तरतिर धावनमार्ग विस्तार गर्न सकिने पनि गुरुयोजनामा उल्लेख छ । धनगढी विमानस्थलमा अहिले पूर्व–पश्चिम एक हजार आठ सय मिटर लामो धावन मार्ग छ ।

धावन मार्ग विस्तार भए ठूला जहाज पनि अवतरण गर्न सक्नेछन् भने १५ वटा जहाज पार्किङ गर्न सकिने छ । साढे दुई सय यात्रु बोक्ने एयर बस र बोइङ विमान उडान गर्न सकिने प्राधिकरणले जनाएको छ । धनगढीमा तत्काल अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक नदेखिएकाले पछिको अवस्था हेरेर चरणबद्ध रूपमा विकास गर्ने गरी गुरुयोजना तयार पारिएको प्राधिकरण महानिर्देशक पोखरेलले बताए । धनगढीका स्थानीयले भने २० वर्षको अवधि लामो भएको भन्दै १० वर्षभित्रै अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन माग गरेका छन् ।

क्षेत्रीय उडान सुरु गर्न माग
गुरुयोजना प्रस्तुतिकरण कार्यक्रममा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवा, व्यवसायी र सरोकारवालाले धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्लाहरूका विमानस्थलमा तत्काल उडान सुरु गर्नसमेत आग्रह गरेका छन् ।

‘पहाडका विमानस्थल कालोपत्रे भए पनि जहाज चलेनन्,’ धनगढी विमानस्थल कालोपत्रे गर्न विगतमा भएको नागरिक अभियानको नेतृत्वकर्ता व्यवसायी गोपाल हमालले भने, ‘धनगढी बेस बनाएर ती ठाउँमा पनि उडान सुरु गर्नुपर्छ ।’ सरकारले डोटीको दिपायल, दार्चुलाको गोकुले, बैतडीको पाटनलगायत विमानस्थल कालोपत्रे गर्दैछ ।

गुरुयोजनाअनुसार काम गर्छौँ : मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भट्टराईले हवाई क्षेत्रको पूर्वाधार विकास र विस्तारलाई सरकारले प्राथमिकता दिएको बताए । प्रादेशिक राजधानीमा रहेका विमानस्थलको स्तरोन्नतिलाई पहिलो प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

मन्त्री भट्टराईले गुरुयोजनाअनुसारै धनगढी विमानस्थल स्तरोन्नतिको काम छिट्टै सुरु हुने प्रतिबद्धता पनि जनाए । यस्तै कैलालीको टीकापुर, कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनको काम पनि अगाडि बढाइने उनको भनाइ छ ।