मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ४ शुक्रबार १०:४६:००
Read Time : > 2 मिनेट
सेयर बजार

करिब ४६ प्रतिशत घट्यो कारोबार रकम

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ४ शुक्रबार १०:४६:००

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव शून्य २ प्रतिशत घटेर बन्द भएको छ । नेप्से सामान्य अंक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा करिब ४६ प्रतिशत घटेको छ । अघिल्लो दिन लगानीकर्ताहरू नाफा सुरक्षित गर्नतर्फ लागेका थिए । यस दिन पनि केही लगानीकर्ताले प्रोफिट बुक गरेका कारण बजार सामान्य घटेको एक ब्रोकरले बताए ।

लगानीकर्ताले यस दिन ‘पर्ख र हेर’को रणनीति अपनाएको एक विश्लेषकले बताए । हालसम्म केही बैंक तथा वित्तीय संस्थाले मात्र दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । वित्तीय विवरण प्रकाशित गर्नेमध्ये केही कम्पनीले आकर्षक नाफा आर्जन गर्न सफल भएका छन् भने केही कम्पनीको नाफामा कमी आएको छ । अब लगानीकर्ता अन्य कम्पनीको वित्तीय विवरणको पर्खाइमा रहेका उनको भनाइ छ । 

 बजार सारांश
बुधबार नेप्से परिसूचक शून्य दशमलव २० अंक घटेर १ हजार १ सय ८७ दशमलव ७७ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ५० अंक घटेर २ सय ५१ दशमलव शून्य १ बिन्दुमा पुगेको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव २७ अंक घटेको छ । यस दिन १ सय ६४ कम्पनीको ४ हजार ८ सय ९७ पटकको कारोबारमा २८ करोड ७७ लाख ५० हजार ३ सय २१ रुपैयाँबराबरको ८ लाख ३५ हजार ८ सय २६ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

 प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : यस दिन नेप्सेले ‘डोजी’ मैनबत्ती बनाएको छ । यसले लगानीकर्ताहरू अन्योलमा रहेको संकेत गर्दछ । कारोबार अवधिभर उतार–चढाव भए पनि अन्तिम समयमा सुरुवातको बिन्दुमा या सोनजिकै बजार बन्द भएमा यस आकृति बन्छ ।

आरएसआई : नेप्सेको आरएसआई यस दिन ५३ दशमलव ५४ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ५७ रहेको छ । यसले नेप्से वियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ६४ कम्पनीमध्ये ५३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १९ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा, भोलि नेप्से ओरालो लागे पहिलो टेवा १ हजार १ सय ८५ दशमलव ९१ बिन्दुमा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार १ सय ८४ दशमलव शून्य ५ बिन्दुमा टेवा पाउने देखिन्छ । त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार १ सय ९० दशमलव १८ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार १ सय ९२ दशमलव ५९ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 

२ कम्पनीको मूल्यमा सर्किट ब्रेक
बिहीबार कारोबारमा आएका दुई कम्पनीको सेयरमूल्यमा सर्किट ब्रेक लागेको छ । यस दिन अपर तामाकोसीको सेयरमूल्य १० प्रतिशत हाराहारीमा बढेर सर्किट ब्रेक लागेको हो भने जोसी हाइड्रोपावरको सेयरमूल्य करिब १० प्रतिशत घटेर सर्किट ब्रेक लागेको हो । बजारमा अपर तामाकोसीको सेयरको अत्यधिक माग रहेको छ । सूचीकरण भएदेखि सो कम्पनीको सेयरमूल्य दैनिक १० प्रतिशतकै हाराहारीमा बढिरहेको छ । आइपिओ निष्कासनअघि जति नै नराम्रा खबर आए पनि अपर तामाकोसीको सेयरमूल्य दिनप्रतिदिन बढिरहेको छ । 

 १ हजार २ सय ५० पटक कारोबार भएको अपर तामाकोसीको सेयर 
कारोबार संख्याका आधारमा यस दिन अपर तामाकोसी हाइड्रोपावर लिमिटेड अगाडि रहेको छ । सो कम्पनीको यस दिन १ हजार २ सय ५० पटक सेयर किनबेच भएको छ । आइपिओमा परेको ४०–५० कित्ता खरिदबिक्री भइरहेका कारण सो कम्पनीको कारोबार संख्या बढेको हो । कारोबार रकम र सेयर संख्यामा भने यस दिन पनि नेपाल बैंक लिमिटेड नै अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन २ करोड ५४ लाख २७ हजार रुपैयाँबराबरको ८७ हजार ५ सय ७४ कित्ता सेयर खरिदबिक्री भएको छ । नागरिक लगानी कोष र छिमेक लघुवित्त विकास बैंकको पनि यस दिन २ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

८ समूहको परिसूचक घट्यो
यस दिन कारोबारमा आएका जलविद्युत्, अन्य र लघुवित्त समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक घटेको छ । यस दिन जलविद्युत् समूहको परिसूचक सर्वाधिक ३ दशमलव १७ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्त समूहको परिसूचक यस दिन शून्य दशमलव ६४ प्रतिशत र अन्य समूहको शून्य दशमलव ३३ प्रतिशत बढेको छ । 

व्यापार समूहको परिसूचक यस दिन १ दशमलव २४ प्रतिशत घटेको छ । त्यसैगरी, निर्जीवन बिमा समूहको परिसूचक १ दशमलव शून्य ९ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ७३ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव २८ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव १९ प्रतिशत, होटेल समूहको शून्य दशमलव १६ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव शून्य ५ प्रतिशत र वित्त समूहको शून्य दशमलव शून्य २ प्रतिशत घटेको छ  ।