१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ २४ शुक्रबार १२:४०:००
Read Time : > 1 मिनेट
समाचार

कोरोना भाइरसको संक्रमणबाट निधन भएका चिकित्सकको कथा

Read Time : > 1 मिनेट
२०७६ माघ २४ शुक्रबार १२:४०:००

३४ वर्षीय चिनियाँ चिकित्सक लि वेन्लियाङले ३० डिसेम्बरमा आफ्ना सहकर्मीलाई सार्सजस्तै संक्रमण देखिएको बताउँदै भयावह रुप लिन सक्ने भन्दै सजग गराएका थिए ।

प्रहरीले उनलाई ‘गलत टिप्पणी बन्द गर्न’ चेतावनी दियो । तर, उनले दावी गरेजस्तै भयो, कोरोना भाइरसको संक्रमणबाट साढे ६ सय हाराहारीको मृत्यु भइसकेको छ । संक्रमणबाट ३१ हजार भन्दा बढी मानिस पीडित बनेका छन् ।

यस्तैमा, शुक्रबार बिहान कोरोना भाइरसबारे सजग गराउने तिनै चिकित्सक डा. लीको समेत निधन हुन पुगेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र पिपल्स डेलीले उनको मृत्यु स्थानीय समयअनुसार शुक्रबार बिहान २ बजेर ५८ मिनेट जाँदा भएको उल्लेख गरेको छ ।

नेत्र विशेषज्ञ डा. लीले अफवाह नफैलाउन चेतावनी पाएको एक महिनापछि अस्पतालको शैय्याबाट सामाजिक सञ्जाल वेबोमार्फत आफ्नो कथा सुनाएका थिए । डिसेम्बर महिनामा उनले सन् २००३ मा विश्वव्यापी महामारीको रुपमा फैलिएको सार्स जस्तै सातवटा घटना देखेको बताएका थिए ।

त्यसको चार दिनपछि सार्वजनिक सुरक्षा निकायका अधिकारीहरु उनी समक्ष आए, उनीहरुको साथमा एउटा पत्र थियो । लीलाई त्यही पत्रमा हस्ताक्षर गर्न लगाइयो । उक्त पत्रमा उनीमाथि ‘गलत टिप्पणी गरेको’ र त्यसले सामाजिक अवस्थालाई खलल पुर्याएको उल्लेख थियो ।

‘अबदेखि यस्तो अफवाह फैलाउने छैन’ भन्दै उनलाई सो पत्रमा हस्ताक्षर गर्न लगाइयो । लीसहित आठ जनालाई प्रहरीले अनुसन्धान गरेको थियो ।  
 
उनले वेबोमा आफूलाई के भएको थियो भनेर उल्लेख गरेका थिए ‘मलाई जनवरी १० मा खोकी लाग्यो, त्यसपछि ज्वरो पनि आयो । अनि दुई दिनपछि म अस्पताल भर्ना भएँ । पटक–पटक जाँच गर्दा पनि कोरोना संक्रमण भएको पत्ता लागेन तर जनवरी ३० मा कोरोना संक्रमण भएको पत्ता लागेको थियो ।’

डा. लीको मृत्युको समाचार सार्वजनिक भएपछि चिनियाँ सामाजिक सञ्जालमा क्रोध र शोकको तरंग फैलिएको छ । धेरैले डाक्टरको निधनप्रति सरकारसँग आक्रोस पोखेका छन् र लीप्रति गरिएको व्यवहारको कडा आलोचना गरेका छन् ।

कोरोना भाइरसका कारण चीनमा मात्रै अहिलेसम्म साढे ६ सय मानिसको मृत्यु भएको छ, ३१ भन्दा बढीमा संक्रमण देखिएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।  

भाइरसले विशेषगरी श्वासप्रश्वासमा समस्या ल्याउँछ । संक्रमित व्यक्तिलाई ज्वरो आउँछ र सुक्खा खोकी लाग्छ । अधिकांश व्यक्ति संक्रमणपछि सामान्य रुघाखोकी जस्तै निको हुन्छन् भने दीर्घरोगी तथा श्वासप्रश्वाससम्बन्धी रोग भएका मानिसलाई यसले बढी प्रभाव पार्छ ।

(बीबीसी लगायतका एजेन्सीको सहयोगमा)