त्रिवि पत्रकारिता विभागको सुविधासम्पन्न भवन बन्दै
२१ करोड ५५ लाख लागतमा त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको सुविधासम्पन्न भवन निर्माण हुने भएको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अर्थमन्त्री डा. युवराज खतिवडाले बल्खुमा पत्रकारिता विभागको भवन शिलान्यास गरेका हुन् ।
भवन शिलान्यास गर्दै अर्थमन्त्री खतिवडाले पत्रकारिता शिक्षालाई बलियो बनाउन बजेट विनियोजन गरेको बताए । भवनलगायत पूर्वाधार निर्माणसँगै पत्रकारिता शिक्षालाई व्यावसायिक, प्रयोगात्मक र अनुसन्धान कार्यलाई विस्तार गर्न सजिलो हुने बताए । त्रिविमा पहिलोपटक अनुसन्धानका लागिसमेत बजेट विनियोजन भएकोमा उनले खुसी व्यक्त गरे ।
त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले समयमै निर्माण सम्पन्न हुने बताए । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग प्रमुख प्रा. चिरञ्जीवी खनालले सुविधासम्पन्न भवन बनेपछि प्रयोगात्मक अभ्यासका लागि अझ सहज हुने बताए ।