मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हाओ मिङहाओ
२०७५ माघ ४ शुक्रबार ०९:३९:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

विश्व बैंकको नेतृत्व खोजी

Read Time : > 1 मिनेट
हाओ मिङहाओ
२०७५ माघ ४ शुक्रबार ०९:३९:००

विश्व बैंकको अध्यक्ष पदबाट जिम योङ किमले अचानक राजीनामा दिएपछि अब अध्यक्ष पद कसले सम्हाल्ने भन्ने चासोले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरेको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पले विश्व बैंकको अध्यक्ष पदका लागि उम्मेदवारी दिने हल्लालाई भने ह्वाइट हाउसले अस्वीकार गरेको छ । ह्वाइट हाउसका अनुसार विश्व बैंकका अध्यक्षका उम्मेदवार छान्न इभान्काले अमेरिकी अर्थमन्त्री स्टेभन नुचिन र ह्वाइट हाउसका कार्यवाहक कर्मचारी प्रमुख माइक मुल्भनेरीलाई सहयोग गरिरहेकी छिन् । 

वर्तमानमा विश्व बैंकको सदस्य राष्ट्रको संख्या एक सय ८९ छ । सदस्य राष्ट्रमध्ये अमेरिका सबैभन्दा ठूलो सरोकारवाला सदस्य राष्ट्र हो, जससँग १६ प्रतिशत मताधिकार छ ।यसकारण, आवश्यक पर्दा अमेरिकाले आफ्नो बलियो मत शक्ति प्रयोग गरेर अध्यक्षका लागि हुने मतदानलाई प्रभावित बनाउन सक्छ । उदीयमान अर्थतन्त्र भएका मुलुकलाई पनि विश्व बैंकका अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न दिनुपर्ने व्यापक दबाबपछि सन् २०१२ मा ओबामा प्रशासनले जिम योङ किमलाई अध्यक्ष पदमा राखेको थियो । तर, अब किमको राजीनामापछि अमेरिकी नागरिकले अध्यक्षता सम्हाल्ने प्रबल सम्भावना देखिएको छ । 

खास बहुराष्ट्रिय निकायमाथि अमेरिकी नेतृत्व बलियो बनाउने प्रयास ट्रम्प प्रशासनले गरेको छ । ‘अमेरिका पहिलो नीति’ हासिल गर्न ट्रम्प प्रशासनले अनावश्यक ठानेका अन्तर्राष्ट्रिय संयन्त्रबाट अमेरिकालाई बाहिर निकाल्दै गर्दा निश्चित बहुराष्ट्रिय निकायमाथि भने अमेरिकी नेतृत्व लाद्न प्रशासनले कसरत गरिरहेको छ । डिसेम्बर २०१८ मा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आफ्नो ब्रसेल्स भ्रमणदौरान दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय प्रणाली परिवर्तन गरी नयाँ उदारवादी विश्व सन्तुलन स्थापना गर्ने पक्षमा अमेरिका उभिएको बताएका थिए । 

ओबामा प्रशासनद्वारा नियुक्त विश्व बैंकका अध्यक्ष जिम योङ किमको राजीनामापछि अमेरिकी नागरिकले सो पद सम्हाल्ने प्रबल सम्भावना देखिएको छ 

तर, विश्व बैंकले सहयोग गरेका जलवायु परिवर्तनसम्बन्धी परियोजनालाई ट्रम्प प्रशासनले विरोध गरेको छ । विश्व बैंकले भने जलवायु परिवर्तनको समस्यासँग जुध्न विकासशील राष्ट्रको क्षमता बढाउनु अत्यावश्क भएको तर्क गर्दै आएको छ । उदाहरणका लागि भियतनाम, ब्राजिललगायत मुलुकमा वातारावरणमैत्री नवीकरणीय ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्न उसले सहयोग गरेको छ । 

ट्रम्प प्रशासनको समर्थन पाउन जिम योङ किमले एकपटक ट्रम्पले ल्याएको महिला उद्यमी कोषको समर्थन गरे, जुन कोष प्रमुखको जिम्मा स्वयं ट्रम्पकी छोरी इभान्कालाई दिइएको छ । जिमले सहयोग गरे पनि विश्व बैंकलाई भने ट्रम्प प्रशासनले व्यापक आलोचना गर्दै आयो, त्यो पनि चीनलाई जोडेर । विश्वभरका विकास परियोजनामाथि लगानी गर्ने तथा आर्थिक सहयोग गर्ने आफ्नो क्षमता बढाउन विश्व बैंकले सन् २०१७ मा आफ्नो पुँजी वृद्धि हुने अपेक्षा गरेको थियो । तर, मध्यम आय भएका राष्ट्रलाई ऋण घटाउन वा ऋण नै रद्द गर्न भन्दै अमेरिकी अर्थ मन्त्रालयले विश्व बैंकको योजनालाई रोकिदियो । त्यसमा पनि पुनर्निर्माण तथा विकास परियोजनाका लागि चीनलाई ऋण दिन नहुने पक्षमा अमेरिका उभिँदै आएकोथियो । चीनको बेल्ट एन्ड रोड इनिसिएटिभप्रति विश्व बैंक सहयोगी भएको  भन्दै बैंकप्रति ट्रम्प प्रशासनले असन्तुष्टि व्यक्त गर्दै आएको थियो । 

(लेखक चीनको रेन्मिन विश्वविद्यालयका  वरिष्ठ शोधकर्ता हुन्)चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन) बाट ।