१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २३ बिहीबार ०९:२२:००
Read Time : > 2 मिनेट
सेयर बजार

नेप्से ५.३१  अंकले बढ्यो 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २३ बिहीबार ०९:२२:००

धितोपत्र बजार बुधबार ५ दशमलव ३१ अंकले बढेको छ । मंगलबारको तुलनामा बजार पुँजीकरण पनि करिब ७ करोड बढ्यो । बुधबारको कारोबार पछि नेप्से १ हजार ३ सय ४२ दशमलव ३६ बिन्दुमा पुगेको छ । १ हजार ३ सय ३८ दशमलव ५१ बिन्दुबाट सुरु भएको परिसूचक धेरै माथि जान सकेन । यस दिन लगानीकर्ताले मूल्य घटाएर सेयर उठाउने र नाफा भएका सेयर बिक्री गर्ने प्रवृत्तिले बजार घट्ने–बढ्ने भइरह्यो । 

बजार घटेर १ हजार ३ सय ३५ बिन्दुमा पुगेपछि खरिद चाप बढेर अन्त्यमा बढ्न पुगेको हो । हाल कम्पनीहरूले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक विवरणले पनि बजारमा सेयर खरिद गर्न मद्दत पुगेको छ । धेरै नाफा कमाएका र निष्क्रिय कर्जा कम भएका कम्पनीहरूको सेयर लगानीकर्ताको रोजाइमा परेका छन् । 

१२ समूहको परिसूचकमा आठ समूहको परिसूचक सकारात्मक रहेको छ भने चार समूहको परिसूचक नकारात्मक रह्यो । बैंकिङ, व्यापार, होटेल, वित्त, निर्जीवन बिमा, अन्य, लघुवित्त र जीवन बिमा समूह बढेको छ । विकास बैंक, जलविद्युत्, उत्पालनमूलक र म्युचुअल फन्ड समूह घटेको छ । 

बजार पुँजीकरण बढेर लगानीकर्ताको सम्पत्ति १७ खर्ब १२ अर्बभन्दा बढी पुगेको छ । मंगलबारको तुलनामा बजार पुँजीकरण करिब ७ करोड बढेको छ । नेप्सेले बैंकिङलाई समेटेर गणना गरेको सेन्सेटिभ परिसूचक शून्य दशमलव ९३ अंक बढेको छ । यसैगरी, सूचीकृत कम्पनीबाट सर्वसाधारणमा जारी भएका सेयरलाई मात्रै समावेश गरेर गणना गरिएको फ्लोट परिसूचक शून्य दशमलव ३ अंक बढेकोे छ । सेन्सेटिभ फ्लोट परिसूचकमा सेन्सेटिभ र फ्लोटमा कारोबार हुने सबै सेयर पर्छन् । सेन्सेटिभ फ्लोट शून्य दशमलव ३४ अंक बढेको छ । 

वित्तीय विवरण सकारात्मक आउने खबरले सिभिल बैंकको मूल्यसँगै कारोबार बढ्यो

बुधबार सेयर मूल्य घट्ने ६९ कम्पनीमा धेरै जलविद्युत् कम्पनी रहेका छन् । गत दुई दिन सेयर मूल्य बढाएर खरिद गरेका लगानीकर्ताले यस दिन नाफा बुक गरी सेयर बिक्री गर्दा मूल्य घट्न पुगेको एक लगानीकर्ताले बताएका छन् । नेसनल हाइड्रोपावर कम्पनीको ६ प्रतिशत घटेर प्रतिकित्ता ६० रुपैयाँ कायम भएको छ । दोस्रोमा नेपाल हाइड्रो डेभलपर, सानिमा माई हाइड्रो, दिव्यश्वरी हाइड्रोपावर, सप्तकोसी डेभलपमेन्ट, हिमालयन पावर, रसुवागढी, खानीखोला, कालिका पावर र वरुण हाइड्रो घट्ने १० कम्पनीको अग्रस्थानमा परेका छन् । यिनै कम्पनीमध्ये धेरै कम्पनीको सेयर मूल्य मंगलबार बढेको थियो । 

यस दिन सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य ९ दशमलव ९६ प्रतिशत बढेर प्रतिकित्ता ९ सय ९३ रुपैयाँ कायम भएको छ । दोस्रोमा सिभिल बैंकको ८ दशमलव ७८ प्रतिशत बढेको छ । बैंकको दोस्रो त्रैमासमा वित्तीय विवरण सकारात्मक आउने खबरले कारोबार रकमसहित मूल्य बढेको हो । मंगलबार १ सय ७७ कम्पनीको ३२ लाख ६० हजार १ सय ९८ कित्ता सेयरको १ अर्ब ८ करोड २४ लाखबराबरको कारोबार भएको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकम घटेको छ । सबैभन्दा बढी सेयर कारोबार हुनेमा सिभिल बैंक रहेको छ । बैंकको १३ करोड ६ लाखभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ । दोस्रोमा नागरिक लगानी कोषको ६ करोड २३ लाख ८१ हजारबराबरको सेयर कारोबार भएको छ । 

प्राविधिक विश्लेषण : पिभट र मैनबत्तीअनुसार बजार अन्योल

बुधबारको उच्च, न्यून र बन्द बिन्दुलाई लिएर निकालिएको पिभटले बिहीबार बजार अन्योल संकेत गरेको छ । बुधबारको पिभट बिन्दु १ हजार ३ सय ४० छ । नेप्सेको बन्द बिन्दु १ हजार ३ सय ४२ रहेको छ । बुधबारको पिभट बिन्दुभन्दा बन्द भएको बिन्दु थोरै माथि रहेकाले बिहीबार बढ्ने संकेत देखिएको हो । बढेको बजारमा लगानीकर्ताले सेयर बिक्री गरे भने घट्न पनि सक्छ । लगानीकर्ताले पिभटको आधारमा मात्र लगानी नगरी दैनिक बजार अवस्था हेरेर लगानी गर्न सक्छन् । 

बिहीबार नेप्से ओरालो लागे १ हजार ३ सय ३७ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने बजार उकालो लागे १ हजार ३ सय ४४ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्ने देखिन्छ । बुधबारको सुरु, उच्च, न्यून र बन्द बिन्दुबाट थोरै पुच्छर भएको सेतो मैनबत्ती बनेको छ । यसले बिहीबार बजार बढ्ने संकेत गरेको छ ।