१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ २२ बुधबार २०:४६:००
Read Time : < 1 मिनेट
समाचार

बलात्कारपछि हत्या मुद्दामा दोषी ठहर चार जनालाई जन्मकैद फैसला

Read Time : < 1 मिनेट
२०७६ माघ २२ बुधबार २०:४६:००

कैलालीको मसुरियाकी युवती माया बिकको बलात्कार गरी हत्या गरेको आरोपमा चार जनालाई जन्मकैद फैसला भएको छ । कैलाली जिल्ला अदालतले उक्त मुद्दामा थप एक जनालाई पाँच वर्षको कैद सजाय हुने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले गौरीगंगा–११, का सुरज चौधरी, भुवन खाती, गणेश बडुवाल र मनोज बोगटीलाई बलात्कारपछि हत्या गरेको भन्दै कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेर जन्मकैदको फैसला गरेको हो । चारै जनालाई मुलुकी ऐनको ज्यान सम्बन्धी महलको १३ (३) बमोजिम सजाय भएको कैलाली जिल्ला अदालतका तहसिलदार नरबहादुर नेगीले जानकारी दिए ।

कर्तव्य ज्यानतर्फ जन्मकैदको सजाय भएका सुरज र भुवन जबरजस्ती करणीतर्फको मुद्दामा पनि दोषी ठहर भएको तहसिलदार नेगीले बताए । घटनामा संलग्न नभएको तर प्रत्यक्ष थाहा पाए पनि जानकारी नदिएको भन्दै तपेन्द्र बोगटीलाई पनि पाँच वर्षको कैद सजाय फैसला भएको छ । उनलाई कर्तव्य ज्यान सम्बन्धी महल १७ (२) को कसुरमा सजाय भएको अदालतले जनाएको छ ।

माया बिकको बलात्कार गरी हत्या घटनामा पाँच जनाविरुद्ध जबरजस्ती करणी, अपहरण र कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता भएको थियो । अपहरणमा भने कसुर ठहर नभएको नेगीले बताए । जबरजस्ती करणीमा दोषी ठहर दुई जनाको यो मुद्दाको सजायको फैसला १२ फागुनको पेशीले तोक्ने अदालतले जनाएको थियो । तर दुवै जनालाई कर्तव्य ज्यानतर्फ जन्मकैदको फैसला भइसकेकाले जबरजस्ती करणीको सजाय जोडिने छैन । मायाको डेढ वर्षअघि बलात्कार गरी हत्या भएको थियो ।