मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ २२ बुधबार १६:२२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

विमानस्थल निर्माणमा विश्राम लिने समय छैन : मन्त्री भट्टराई

Read Time : > 1 मिनेट
२०७६ माघ २२ बुधबार १६:२२:००

नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले विमानस्थल निर्माणमा विश्राम लिने समय नभएको बताएका छन् । प्राधिकरणले बुधबार पेस गरेको विमानस्थलको पूर्वाधार विकासको विवरणबाट सम्बन्धित निकायलाई समयमै काम सक्नुपर्ने कार्यबोध हुनुपर्नेमा उनले जोड दिए । 

वर्तमान सरकारले ‘कनेक्टिभिटी’मा विशेष जोड दिएको उनले बताए । विमानस्थल निमार्ण, रेल, सडक निर्माण र पानीजहाजमार्फत सरकारले कनेक्टिभिटीलाई महत्व दिएको उनको भनाइ थियो । 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल विकासको लागि ‘गेम चेन्जर’ भएको हुनाले यो कुनै पनि हालतमा ५ वर्षमा व्यावसायिक हुने गरी काम सम्पन्न हुनुपर्ने उनले बताए । अहिले सञ्चालनमा भइरहेका विमानस्थलले मात्र एयर ट्राफिक थेग्न नसक्ने हुँदा निजगढको काम सुरु नगरी सुखै नभएको उनको तर्क थियो ।

मन्त्री भट्टराईले दुर्गम क्षेत्रका विमानस्थलमा नियमित उडान गर्नेतिर लाग्न सम्बन्धित निकायलाई अपिल गरे । ‘अब सम्पन्न हुने सबै विमानस्थलले व्यवसाय पनि गर्ने र सेवा पनि दिनेगरी अघि बढ्नुपर्छ’, उनले भने । अबको पाँच वर्षमा नेपालको उड्डयन क्षेत्रमा आएको परिवर्तनले पर्यटनले ठूलो फड्को मार्नेमा उनी विश्वस्त छन् ।

चीनको वुहानमा १० दिनमै बनेको अस्पतालको उदाहरणबाट प्रेरित भएर विमानस्थल निर्माणमा ठेकेदारहरू लागि पर्नुपर्ने भन्दै उनले भने, ‘अब समयमै काम नसक्ने ठेकेदारलाई कालोसूचीमा राखिनेछ र अर्को पटक ठेक्का नपाउनेसमेत अवस्था आउन सक्छ ।’

हाल नेपालमा ५४ वटा विमानस्थल छन् । ३२ वटा मात्रै सञ्चालनमा छन् । पछिल्लो दुई वर्षमा प्राधिकरणले देशका लगभग सबै विमानस्थलमा धवानमार्ग कालोपत्र गर्ने, रात्रिकालीन ल्यान्डिङ सुविधा राख्ने, फायर फाइटिङ, ट्याक्सी वे, टर्मिनल भवन रूपान्तरणजस्ता काम सकेको छ । 

प्राधिकरणले दुर्गम क्षेत्रमा भएका विमानस्थलको धावनमार्ग आठ सय मिटर भन्दा ठूलो बनाउने प्रयत्न गर्ने बताएको छ । अहिले नेपालका आन्तरिक विमान्स्थलको धावनमार्ग ६ सय मिटर लामो छ । 

त्यस्तै खिजी चण्डेश्वरी विमानस्थल र इलाम विमानस्थलमा पहिलो टेस्ट फ्लाइट सकिएको छ । बैतडी, बजाङ, डोटी, फाल्पु, डोल्पा मैसेचौर, खानीडाँडा, जोमजोमलगायत विमानस्थलमा धावनमार्ग कालोपत्र गर्ने काम सकिएको छ । लुक्ला विमानस्थलमाा ३२ करोड रुपैयाँको लागतमा टर्मिनल भवन बढोत्तरी र हेलिप्याड निर्माणको काम एकसाथ भइरहेको छ।