१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ २२ बुधबार ०६:३४:००
Read Time : > 2 मिनेट
समाचार

दुवाकोटमा वीर अस्पताल विस्तार : साढे तीन वर्षदेखि प्रगति शून्य

Read Time : > 2 मिनेट
२०७६ माघ २२ बुधबार ०६:३४:००

सरकारले मुलुककै जेठो वीर अस्पतालको सेवा भक्तपुरमा विस्तार गर्ने निर्णय गरेको साढे तीन वर्ष भइसकेको छ । अस्पताल बनाउन पाँच सय ७० रोपनी जग्गा पनि प्राप्त गरिसकेको छ । तर, अस्पताल विस्तारको थप काम भने सुरु हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री भएकै वेला ७ साउन ०७३ मा चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा वीर अस्पताल विस्तार गर्ने निर्णय भएको थियो । त्यसयता अस्पताल विस्तारका लागि सरकारले बर्सेनि बजेट भने छुट्याउँदै आएको छ । 

स्वास्थ्य मन्त्रालयले चालू आर्थिक वर्षमा पनि ४० करोड बजेट विनियोजन गरेको छ, तर यो बजेट पनि अघिल्ला वर्षहरूमा जस्तै फ्रिज हुने स्थिति छ । अस्पतालको हालसम्म डिपिआरसमेत बनेको छैन । अस्पताल विस्तारमा सरकारले चीनसँग सहयोगको आग्रह गरे पनि सरकार आफैँले बनाउने वा चीनले सहायता गर्ने भन्नेबारे टुंगो लागेको छैन । वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले अस्पताल विस्तार गर्ने प्रक्रिया अघि बढे पनि कसरी गर्ने भन्ने टुंगो नलागेको बताए ।

‘चिनियाँ सहायतामा अस्पताल विस्तारका लागि छलफल भइरहेको छ,’ उनले भने, ‘चिनियाँ प्राविधिकले प्रारम्भिक सम्भाव्यता अध्ययनपछि चीनले केही सर्त राख्यो, त्यसमा मन्त्रीस्तरीय बैठकले नै प्रतिबद्धता जनाएको छ, त्यसपछि पनि स्वास्थ्य राज्यमन्त्रीकै नेतृत्वमा छलफल भइरहेको छ ।’ अस्पतालका विषयमा चीन सरकार सकारात्मक देखिए पनि अहिले सम्झौता भने भइनसकेको उनले बताए । अस्पताल विस्तारका लागि ३० अर्ब खर्च हुने प्रारम्भिक अनुमान छ ।

निर्देशक डा. सेन्चुरीका अनुसार सेवा विस्तार गरी कम्तीमा एक हजारदेखि १५०० शय्याको बनाउने लक्ष्य छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को मुख्यालय, रजिस्ट्रारको कार्यालय, नर्सिङ कलेज, पब्लिक हेल्थ कलेज, रेडियोलोजिस्ट प्याथोलोजिस्टको पठन–पाठनसमेत यहीँबाट सञ्चालन गर्ने पूर्वतयारी छ ।  

५७० रोपनी सार्वजनिक जग्गा न्याम्सका नाममा
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत काठमाडौंको महाबौद्धमा सञ्चालित वीर अस्पताल साँघुरो भएपछि सरकारले ०७२ सालमै अन्तर्राष्ट्रियस्तरको गुणस्तर र अत्याधुनिक सेवा सुविधायुक्त बनाउने योजना अघि बढेको थियोे । तर, उपयुक्त जग्गा नभेटेपछि निर्णय हुन सकेको थिएन । दुवाकोटमा रहेको पाँच सय ७० रोपनी सरकारी जग्गा अस्पतालका लागि उपयुक्त हुने ठहर गर्दै ७ साउन ०७३ को मन्त्रिपरिषद्ले अस्पताल विस्तारका लागि न्याम्सलाई स्वीकृति दिएको थियो । त्यसयता जग्गा न्याम्सका नाममा रजिस्ट्रेसन पास भएको छ । तर, फिल्डमा भने ५० रोपनी जग्गा गायब भएको छ ।

न्याम्सलाई जग्गा प्राप्त भएपछि पुनः सर्भे गर्दा ५० रोपनी जग्गा नभेटिएको हो । रजिस्ट्रेसनमा न्याम्सका नाममा पाँच सय ७० रोपनी जग्गा भए पनि फिल्डमा पाँच सय २० रोपनी मात्रै भेटिएको चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले बताए । अहिले पनि जग्गाको घेराबारा नभएको उनले बताए । जसका कारण लुकीछिपी यहाँको माटो, बालुवा उत्खनन र चोरी तस्करी भइरहेको छ । 

बाँकी रहेको ५ सय २० रोपनीमध्ये एक सय ७४ रोपनी जग्गामा नेपाल इन्जिनियरिङ कलेज सञ्चालित छ । केही जग्गामा परोपकार सेवा केन्द्र सञ्चालित छ भने केही चाँगुनारायण माविले प्रयोग गरिरहेको छ । मेयर मिश्र भन्छन्, ‘वर्षौँअघिको नापीमा ५ सय ७० रोपनी थियो, त्यही आधारमा सरकारले न्याम्सलाई जग्गा दिएको हो, तर पुनः डिजिटल नापजाँच गर्दा जग्गा ५ सय २० रोपनी मात्रै पाइयो ।’

न्याम्सले यहाँको सामुदायिक भवनबाट डेढ वर्षदेखि सामान्य उपचार सेवासमेत दिइरहेको छ । जग्गा प्राप्तिपछि आसपासका जग्गाको भाउ अकासिएको छ । घरजग्गाको कारोबार मात्रै बढेको छैन, बस्ती पनि बाक्लिएको  मेयर मिश्रले बताए । सरकारले चालू आर्थिक वर्षमा विनियोजन गरेको ४० करोडले तारबार गर्ने तयारी रहेको डा. सेन्चुरीले बताए । 

चीनले भन्यो– आधारभूत  पूर्वाधार बनाइदेऊ
नेपाल सरकारको आग्रहपछि अस्पताल विस्तारका लागि सहायता प्रदान गर्न चाइना आइपिपिआर इन्टरनेसन इन्जिनियरिङले स्थलगत प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको थियो । अध्ययन प्रतिवेदनमा अस्पतालका लागि उपलब्ध जग्गा भिरालो भएको र भूक्षय, पहिरोजस्ता समस्या रहेकोले वैकल्पिक जग्गा भए उपयुक्त हुने उल्लेख छ । 

साथै, सडक, विद्युत् र टेलिफोनलगायत आधारभूत पूर्वाधार नपुगेकाले तत्कालै त्यस्ता पूर्वाधार निर्माण गर्न सुझाब पनि दिएको छ । चाइना आइपिपिआर इन्टरनेसन इन्जिनियरिङको सुझाबबारे २१ पुस ०७६ मा अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बसेको स्वास्थ्य तथा जनसंख्यामन्त्री, भक्तपुरका सांसद र चाँगुनारायण नगरपालिकाका मेयरसहितको बैठकले एक वर्षभित्र आधारभूत पूर्वाधार निर्माण गरिसक्ने प्रतिबद्धता जनाएको छ ।

बैठकले चीनलाई विस्तृत सम्भाव्यता अध्ययन अघि बढाउनसमेत आग्रह गरेको छ । बैठकले फराकिलो सडक, विद्युत् र खानेपानीलगायत सेवा अस्पताल निर्माणस्थलसम्म पुर्‍याउने प्रतिबद्धता जनाएको हो ।