मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ २० सोमबार २०:२१:००
Read Time : > 2 मिनेट
फिचर

३० वर्षसम्म श्रीमानको प्रतीक्षा, बाटो हेर्दा हेर्दै बित्यो सावित्राकाे जीवन

Read Time : > 2 मिनेट
२०७६ माघ २० सोमबार २०:२१:००

सँगै जीउने सँगै मर्ने कसम सहित दुई आत्मा एक गरेका जोडीमध्ये एक बेपत्ता भए भने अर्काेले कति वर्षसम्म प्रतीक्षा गर्न सक्ला ? 

गुल्मी चन्द्रकोट गाउँपालिका ६ रुपाकोटकी सावित्रा भण्डारीका आँखा आफ्नो बेपत्ता श्रीमानको प्रतिक्षामा रहेको ३० वर्ष भयो । उनका श्रीमान बालकृष्ण भण्डारी ३० बर्षदेखि बेपत्ता छन् । 

बालकृष्णले २८ वर्षको उमेरमा २०४५ सालमा बिहे गरेका थिए । त्यतिबेला सावित्रा १७ बर्षकी मात्र थिइन् । बिहे गरेको ८ दिनका दिन दुलहन फर्काएर बालकृष्ण भारत गए । उनले तीन वर्षसम्म तीनवटा चिठी पठाए । तर आफु फर्केर भने आएनन् । न छोराछोरी न श्रीमान सावित्राले ३० वर्ष रोएरै बिताइन् । उनीसंग अहिले परिवारसंग लडेर पाएको एक टुक्रा जमिन र श्रीमानको पुरानो फोटो मात्रै साथमा छ । 

‘बिहेमा खिचेको फोटो र एक टुक्रा जमिनबाहेक केहि छैन’ उनले भनिन ‘मर्ने बेलासम्म कि लास कि सास पाए हुन्थ्यो ।’ 
सावित्राले छिमेकीको घरमा बसेर कष्टपूर्ण जीवन कटाएकी छन् । १२ वर्षदेखि बेपत्ता व्यक्तिलाई मृत्युको न्यायीक घोषणा गर्ने नयाँ कानुनी व्यवस्था भए पनि उनलाई यसबारे जानकारी छैन ।

अधिकांश भारतमा बेपत्ता
गुल्मी दरवार गाउँपालिका ४ का दुर्गाप्रसाद पोख्रेल २०६२ असारदेखि बेपत्ता छन् । ५१ वर्षको हुँदा घरबाट भारत हिडेका पोख्रेल अहिलेसम्म फर्किएनन् । खोज्ने सवै उपाय लगाए पनि कुनै पत्तो लागेन् । उनकै प्रतिक्षामा परिवारले झण्डै १४ बर्ष बितायो । नयाँ कानुनी व्यवस्था अनुसार श्रीमतीले जिल्ला अदालत गुल्मीमा निवेदन दिइन् । 

अदालतले १४ वर्षपछि मृत्युको न्यायीक घोषणा गरेर श्रीमती धेवकला पोख्रेललाई १८ मंसिर २०७६ मा प्रमाण पत्र प्रदान गरेको गर्याे । 

त्यस्तै गुल्मी दरवार गाउँपालिका ३ का भक्तबहादुर थापा पनि २०६३ सालबाट बेपत्ता छन् । परिवारका अनुसार उनी पनि ३५ वर्षको उमेरमा रोजगारीकै लागि भारत पसेका थिए । त्यस दिनदेखि श्रीमती गीता र परिवार भक्तकै प्रतिक्षामा बसे । श्रीमान खोज्न सबै उपाय लगाए पनि कुनै पत्ता लाग्न सकेन् । अदालत पुगेर मृत्युको न्यायीक घोषणाका लागि गीताले निवेदन दिइन् । अदालतले १३ वर्षपछि श्रीमती गीतालाई गत २० मंसिरमा मृत्युको घोषणा भएको प्रमाणपत्र दिएको छ । 
अदालतमा दर्ता भएका अधिकांश निवेदनमा भारत गएर नफर्किएको उल्लेख भएको अदालतले जनाएको छ ।

२७ निवेदन दर्ता १५ फर्स्याैट
जिल्ला अदातल गुल्मीमा चालु आर्थिक वर्ष शूरु भए यता २७ वटा मृत्युको न्यायीक घोषणासम्बन्धी निवेदन दर्ता भएका छन् । जसमा अहिलेसम्म १५ जनाले मृत्युको न्यायीक घोषणाको प्रमाण पत्र पाएका छन् । अरु निवेदन उपर आवश्यक कागज पत्र संकलनको काम भइरहेकाले छिट्टै मृत्युको न्यायीक प्रमाण पत्र प्रदान गरिने जिल्ला अदालत गुल्मीका सुचना अधिकारी कृष्णशरण लामिछानेले जानकारी दिए ।

अहिलेसम्म यस प्रकृतिका निवेदन गुल्मी दरवार गाउँपालिकाका सवैभन्दा बढि छन् । यस आर्थिक वर्षमा यस गाउँपालिकाबाट ९ वटा निवेदन अदालतमा परेका छन् । 

नयाँ कानुनी व्यवस्था
मुलुकी देवानी संहिता २०७४ को भाग २ व्यक्तिसम्बन्धी कानुनको परिच्छेद १ को दफा ४० मा मृत्यु भएको मानिने र सोही दफाको अन्य उपदफाहरुमा बेपत्ता वा मृत्युको न्यायीक घोषणा गर्ने कानुनी व्यवस्था रहेको छ । जसका लागि १२ वर्षसम्म कुनै व्यक्ति बिना सुचना बेपत्ता भएको वा कुनै बिपद् वा दुर्घटनामा परेकोले निजको मृत्यु वा बेपत्ता भएको मिति, ठेगाना र आधार प्रमाणसहित मृत्युको न्यायीक घोषणा गरि पाउँ भनी जिल्ला अदालतमा निवेदन दिनुपर्छ । 

अदालतले निवेदनको आधारमा आवश्यक प्रमाण बुझेर त्यस्ता व्यक्तिको सम्बन्धमा मत्युको न्यायीक घोषणा गरेर प्रमाण पत्र प्रदान गरिने श्रेष्तेदार समेत रहेका जिल्ला अदालतका सुचना अधिकारी कृष्णशरण लामिछानेले बताए । मृत्युको घोषणापछि व्यक्ति फर्किएर आएमा आवश्यक कानुनी प्रक्रिया पुरा गरेर अदालतले घोषणा संसोधन वा बदर गर्ने सक्ने व्यवस्था रहेको उनले बताए ।