१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
लक्ष्मी काफ्ले
२०७५ माघ ३ बिहीबार १३:१३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

डा. केसीको ढिपी र हठले संसद् झुक्दैन : योगेश भट्टराई

Read Time : > 2 मिनेट
लक्ष्मी काफ्ले
२०७५ माघ ३ बिहीबार १३:१३:००

डा. गोविन्द केसी एक सातायता इलाममा आमरण अनशनरत छन् । केसी १६औँ अनशनमा रहेकै बेला नेकपाका युवा नेता एवम् सांसद् योगेश भट्टराई पूर्व आए । इलाम र झापामा उनले पत्रकाहरुसँग डा. केसीबारे केही धारणासमेत राखे । उनी डा. केसीप्रति निकै कडा रुपमा देखिए ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्यसमेत रहेका सांसद् भट्टराईले चिकित्सा शिक्षा विधेयकका लागि डा. केसीले अनशन बस्न जरुरी नरहेको स्पष्ट पारेका छन् । ‘डा. केसीको ढिपी र हठले संसद् झुक्दैन,’ बिर्तामोडमा पत्रकारसँग बोल्दै भट्टराईले भने, ‘सरकारले उनको जीवन रक्षा गर्छ तर सरकार पछि हट्दैन, सरकार पछि नहट्दा पनि जीवन रक्षा गर्ने बाटो खोज्छ ।’

नेता भट्टराईले डा. केसीको यसपटकको अनशनमा वार्ता जरुरी नरहेको बताए । ‘केसीको प्रतिष्ठा बचाउनका लागि वार्ता गर्नैपर्ने भएछ भने चाहिँ सरकारले वार्ता गर्छ,’ उनले भने । शिक्षा तथा स्वास्थ्य समितिबाट चिकित्सा शिक्षा विधेयक पारित भएर संसद्मा पुगेको छ । यसबारे शुक्रबार छलफल हुँदैछ । यही विषयलाई लिएर निकै ठूलो हंगामा मच्चाउन खोजिएको भट्टराईले बताए ।

‘डा. केसीले विधेयकमा कोकोहोलो र रडाको मच्चाउन जरुरी नै छैन, मलाई लाग्छ उहाँले विधेयक पढ्नै पाएउनुभएन, समितिबाट विधेयक पास गर्दैगर्दा उहाँ अनशन बस्न इलाम पुग्नुभयो,’ भट्टराईले भने, ‘इलाममा इन्टरनेट अलिक स्लो रहेछ, उहाँले स्मार्ट फोन बोक्नुभा छ कि छैन, विधेयक हेर्न पाउनुभएको छैन होला, उहाँलाई उचाल्नेहरुले त झन् यो विधेयक देखाउँदै देखाउँदैनन् ।’

डा. केसीसँग सरकारले १० साउनमा गरेका सहमती र सम्झौतालाई अझ उन्नत बनाइएको भट्टराईको दाबी छ । विधेयकमा डा. केसीका ९९ प्रतिशतभन्दा बढी भावनाहरु समेटिएको बताउँदै सांसद् भट्टराईले डा. केसीले विधेयकमा आपत्ति जनाउनै नमिल्ने तर्क गरे । इलाममा आफू मेडिकल कलेज खोल्न आएको भन्दै झापा र इलामका मन्छेलाई डा. केसीले भ्रम छरेको भट्टराईको दाबी छ ।

‘एजेन्टले द्वन्द्व उद्योग चलाउँदै’
केहीथरी मानिसहरु नेपालमा फेरि एउटा द्वन्द्व उद्योग चलाउन खोजिरहेको भट्टराईको टिप्पणी छ । नेपालको शान्ति प्रक्रियालाई विश्वले नमूना मानिसकेका बेला पुराना कुरा कोट्याउँदै केही एजेन्टले द्वन्द्वको उद्योग चलाउन खोजेको उनले दाबी गरे । ‘ती एजेण्टले डा. केसीलाई प्रयोग गर्दैछन्, तिनीहरुले इलाममा लगेर केसीलाई अनशन बसाउँछन् र काठमाडौँमा गंगामाया अधिकारीलाई लगेर संयुक्त राष्ट्रसंघको अगाडि फोटो खिचाउँछन्,’ उनले भने, ‘हामी सुन्दैछौँ संयुक्त राष्ट्रसंघमा लागेर गंगामायालाई भाषण गराउँदैछन् रे, बिचरा गंगामाया त जान्छिन्, प्लेन चढ्छिन् । तर, त्यसका नाममा कतिका बिल्डिङ ठडिन्छन्, नसोचेका मान्छेहरु यहाँ गाडी चढ्ने भइसक्छन् । यो एउटा उद्योग हो ।’

कांग्रेसप्रति आक्रोश
भट्टराईले कांग्रेसले डा. केसीका सबै माग पूरा गर्नुपर्ने भनेकोमा आपत्ति जनाएका छन् । शिक्षामा अन्धाधुन्द निजीकरण र व्यापारिकरण कांग्रेसले थालेको उनले बताए । कांग्रेसले थुपारेको फोहोरलाई वर्तमान सरकारले व्यवस्थापन गरिरहेको उनको दाबी छ । डा. केसीलाई बोक्नुको साटो आफ्नो इतिहासप्रति पश्चाताप गर्न उनले कांग्रेसलाई सुझाव दिए । ‘हामीले देश डुबायौँ, खत्तमै ग¥यौँ, २२ वटा उद्योग बेचेर खायौँ, हामी बदमास हौँ, राष्ट्रघाती हौँ भनेर कांग्रेसले आफैँ घोषणा गरे हुन्छ,’ उनले भने ।

बाँसबारी छाला जुत्ता उद्योग, बालाजु कपडा उद्योग, हेटौँडा कपडा उद्योग, हेटौँडा धागो उद्योग, बुटवल धागो उद्योग, भृकुटी कागज कारखाना, जनकपुर चुरोट कारखाना, इटा टायल कारखाना, चिनी उद्योग, सिमेन्ट उद्योग, नेपाल चिया विकास निगम लगायत उद्योगहरु कांग्रेसले कौडीको मोलमा बेचेको उनको आरोप छ । कांग्रेसले त्यसमा पश्चाताप गर्नुपर्ने उनको भनाइ छ । कांग्रेसले गोविन्द केसी नामको भुल्को प्रयोग गरेर खस्किँदो राजनीतिक प्रभावलाई जोगाउन खोजेको उनले बताए ।