मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ माघ १९ आइतबार १३:५३:००
Read Time : > 1 मिनेट
समाचार

नेकपाका सांसद किँरातीले मागे सञ्चारमन्त्रीको राजीनामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ माघ १९ आइतबार १३:५३:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले नै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा नेकपा सांसद सुदन किँरातीले सञ्चारमन्त्री बास्कोटाले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै राजीनामाको माग गरेका हुन् । 

‘सरकारका प्रवक्ताले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) जुनसुकै हालतमा पास हुन्छ । चाह्यो भने अमेरिकाले सुलेमानी बनाइदिन्छ यो देशका नेताहरुलाई भन्ने अभिव्यक्ति आपत्तिजनक छ’, उनले भने । 

राष्ट्रियता र स्वाधिनतामाथि सरकारका प्रवक्ताले नै ग्रहण लगाउन खोजेको उनले आरोप लगाए । सञ्चारमन्त्रीको अभिव्यक्ति लेण्डुप दोर्जे प्रवृतिको भएको भन्दै उनले आपत्ति जनाए । ‘लेण्डुप दोर्जे प्रवृति, आत्मसमर्पण प्रवृतिविरुद्ध आपत्ति प्रकट गर्न चाहान्छु,’ उनले भने, ‘उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । यो विषयमा समिति र सबैको ध्यानाकर्षण गर्न चाहान्छु ।’ 

प्रवक्ता बास्कोटाले एमसीसीको विषयमा गत बिहीबार गलत हल्ला फैलाइएको बताउँदै भनेका थिए, ‘अमेरिकाले चाह्यो भने जुनसुकै कुनामा पनि क्षेप्यास्त्र प्रहार गर्न सक्छ । नेपालमा बेस क्याम्प राख्नुपर्ने अवश्यकता पर्दैन् । अस्ति इरानमा देख्नुभएन कसलाई हानेको ?’

सांसद भीम रावलले एमसीसीको विषयलाई धेरैले प्रतिष्ठाको विषय बनाएर राष्ट्रहित र स्वार्थभन्दा नीजि धारणा राख्ने गरेको बताए । राष्ट्रियहितमा हुनेगरी अगाडी बढ्नुपर्ने उल्लेख गर्दै रावलले समितिमा गहन अध्ययनको आवश्यकता औल्याए ।

अर्का सांसद नारदमूनी रानाले चीनमा कोरोना र नेपाल एमसीसीको विषय भाइरल बनेको बताए । संसदमा समेत दुईथरी अतिवादी विचारहरु सार्वजनिक भइरहेको उनको भनाई थियो । ‘एउटा जसरी पनि पारित हुनै पर्छ भन्ने र अर्को पारित हुनुहुँदैन भन्ने अतिवादी शक्तिहरु संसदमा जुहारी खेलिरहेका छन्,’ उनले भने, ‘राष्ट्रहितमा कसरी लान सकिन्छ । सभामुखको नेतृत्वमा यसले प्राथमिकता पाओस ।’

समिति सभापति पवित्रा निरौला खरेलले एमसीसीको विषयमा एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताइन् । गम्भिरतापूर्वक छलफल गरी राष्ट्रलाई घात नहुने किसिमले एकतावद्ध भएर पास गर्नुपर्नेमा उनले जोड दिइन् । ‘पास गर्दा पनि एकतावद्ध गर्नुपर्छ । पास गर्न सकिन्न भनेपनि एकवतावद्ध नै हुनुपर्छ । मत विभाजन गरेर विभाजित हुनुहुँदैन्’, उनले भनिन् । 

एमसीसीका विषयमा सत्तारुढ दलभित्र पक्ष र विपक्षमा विचारहरु व्यक्त भइरहेका छन । जारी नेकपाको केन्द्रीय कमिटी बैठकमा समेत यो विषयले प्रवेश पाएको छ । बैठकमा एमसीसीका विषयमा अध्ययन गर्न समिति गठन गर्नुपर्ने र पार्टीका सबै नेताहरुको धारणा एउटै हुनुपर्ने आवाज उठेको छ । प्रधानमन्त्री ओलीले भने हिउँदे अधिवेशनबाट नै एमसीसी अनुमोदन गराउनुपर्ने धारणा राख्दै आएका छन् ।