मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ १९ आइतबार ०८:५४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

नेकपा-राजपा सहकार्य : अध्यक्षमण्डलका सदस्यहरू नै विभाजित

Read Time : > 1 मिनेट
२०७६ माघ १९ आइतबार ०८:५४:००

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई संसद्मा बधाई तथा शुभकामना दिँदै राजपा नेपालका संयोजक महेन्द्र यादवले नेकपाको जालमा राजपा नफस्ने र उपसभामुखमा आफूहरूको दाबी नरहेको बताए । त्यसपछि गत बिहीबार पनि रिपोर्टर्स क्लबमा पत्रकारसँगको साक्षात्कारमा राजपाको नेकपासँग सहकार्यको सम्भावना नरहेको बताए ।

यी दुई अभिव्यक्तिले अध्यक्षमण्डलका अन्य सदस्यहरू सशंकित देखिएका छन् । ६ सदस्यीय राजपाको अध्यक्षमण्डलमा दुई–दुई महिनाको चक्रीय प्रणालीअनुसार संयोजक बन्ने प्रावधान छ । त्यसैअनुसार संयोजक बनेका यादवको अभिव्यक्तिले राजपा नेताहरूलाई पनि अलमलमा पारेको छ । 

९ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा राजपा र नेकपाबीचमा तालमेल भएको थियो । जसअनुसार प्रदेश २ मा राजपा–नेकपा गठबन्धन विजयी भएपछि दुवै पार्टीबीच प्रदेश २ देखि केन्द्रसम्मको सरकारबारे नयाँ सहकार्य गर्ने गरी अनौपचारिक संवाद थालिएको थियो ।

नेकपाले राजपालाई केन्द्रको सरकारमा सहभागी हुन, प्रदेश २ मा राजपा–नेकपाको नयाँ गठबन्धनको सरकार बनाउन र उपसभामुख राजपालाई दिनेसमेतको अनौपचारिक प्रस्ताव गरेको थियो । राजपा अध्यक्षमण्डलका नेता महन्थ ठाकुरले अघिल्लो हप्ता मात्रै नेकपाको केन्द्रीय समिति बैठकपछि यसबारे कुराकानी अगाडि बढ्न सक्ने बताएका थिए । 

तर, संयोजक यादवले त्यस्तो सम्भावना नरहेको अभिव्यक्ति दिएपछि ठाकुरसहित राजपा अध्यक्षमण्डलका अन्य सदस्यहरू आश्चर्यचकित मात्रै होइन कि सशंकितसमेत बनेका छन् । अध्यक्षमण्डलका सदस्य शरत्सिंह भण्डारीले संयोजक यादवले कसरी त्यस्तो अभिव्यक्ति सार्वजनिक रूपमा दिएको भनेर आश्चर्य प्रकट गरे ।

उनले राष्ट्रिय सभाको सन्दर्भमा नेकपासँग भएको दुईबुँदे सहमतिप्रति आफूहरू इमानदार रहेको बताए । ‘निर्णायक भूमिका नेकपामा नै छ,’ भण्डारीले नयाँ पत्रिकासँग भने, ‘उहाँहरूले के गर्नुहुन्छ, त्यसमा सबै कुरा निर्भर गर्छ । हामी यो लिँदैनौँ वा त्यो माग गरेका छैनौँ भन्नुको कुनै तुक छैन ।’

प्रतिनिधिसभामा कांग्रेसपछि राजपा तेस्रो ठूलो हो । भण्डारीले कांग्रेसले उपसभामुख नपाएपछि राजपाको दाबी स्वतः हुने र त्यो तर्कसंगत दाबी भएको बताए । यद्यपि, उनले पनि नेकपासँगको अनौपचारिक संवादमा राजपाले आफ्ना मागहरू छाड्न नसकिने प्रस्टयाइसकेको बताए । ‘हामीले आफ्ना मागहरूबारे समेत नेकपालाई अवगत गराएका छौँ,’ भण्डारीले भने, ‘उहाँहरूले केन्द्रीय समितिसम्म पर्खनुस् भन्नुभएको छ, यसबीचमा अनावश्यक टिप्पणी राजपाको तर्फबाट आउनु रहस्यमय छ ।’

राजपाको संयोजकमा ६ माघमा यादव आएका हुन् । त्यसअघि संयोजक राजेन्द्र महतो थिए । उनकै नेतृत्वमा नेकपा र राजपाबीचमा दुईबुँदे सहमति भएको थियो । त्यसपछि नेकपाका शीर्ष नेताहरूले नै राजपा नेता ठाकुर र महतोसँग थप सहकार्यका लागि अनौपचारिक संवादसमेत गरेका थिए । तिनै संवादहरूका आधारमा सभामुख निर्वाचनमा राजपा नेकपाका उम्मेदवारको समर्थकसमेत बसेको थियो ।

 प्रदेश सरकार फेरबदल कि पुनर्गठन ?

अहिले राजपाभित्र नेकपासँगको सहकार्यसँगै प्रदेश २ को सरकारलाई लिएर पनि तीव्र आन्तरिक बहस भइरहेको छ । राष्ट्रिय सभामा नेकपासँग सहकार्य भएलगत्तै प्रदेश २ को सरकारप्रति संशयहरू व्यक्त हुन थालेका थिए । अघिल्लो हप्ता अध्यक्षमण्डल सदस्य अनिल झाकी पत्नी डिम्पल झाले प्रदेश सरकारको राज्यमन्त्रीबाट राजीनामा दिएपछि यो बहस थप तीव्र बनेको छ । समाजवादी पार्टीका नेताहरूले भनेझैँ प्रदेश २ को सरकार गठबन्धनमा कुनै परिवर्तन नहुने दाबी राजपा संयोजक यादवले पनि गरेका छन् । 

यद्यपि, राजपा अध्यक्षमण्डलका नेता ठाकुरले प्रदेश २ को सरकार ठीकसँग नचलेको र त्यसबारे पार्टीभित्र गम्भीर रूपमा कुरा उठेको बताए । ठाकुरले राजपा नेपाल जेनतेन गठबन्धनको धर्म निर्वाह गरिरहेको भन्दै समाजवादी पार्टीप्रति तीव्र असन्तुष्टिसमेत जनाएका थिए । 

राजपाका प्रदेश सरकारका मन्त्रीहरूप्रति समाजवादी पार्टीका कतिपय शीर्ष नेताहरूले व्यंग्यात्मक टिप्पणी गर्न थालेपछि राजपाभित्र पनि बहस हुन थालेको हो । नेकपासँग केन्द्रमा सहमति भएपछि मात्रै प्रदेश सरकारको गठबन्धनको कुरा गर्ने रणनीतिमा छ, राजपा । नेकपासँग केन्द्रमा सहमति नभए पनि राजपा आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर प्रदेश सरकारको पुनर्गठन गर्ने पक्षमा देखिएको छ ।