मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ माघ १९ आइतबार ०८:५२:००
Read Time : < 1 मिनेट
अर्थ

व्यापार घाटा घट्दो अवस्थामा

Read Time : < 1 मिनेट
२०७६ माघ १९ आइतबार ०८:५२:००

आयात घटिरहँदा निर्यात वृद्धिदर उच्च, साढे ७ खर्बको व्यापारमा सवा ६ खर्बको घाटा 

चालू आर्थिक वर्षको ६ महिनासम्म नेपालको वैदेशिक व्यापार घाटा घट्दो अवस्थामै देखिएको छ । आर्थिक वर्षको सुरुदेखि नै ओरालो लागेको व्यापार घाटाले पुस मसान्तसम्म नै निरन्तरता पाएको हो । 

भन्सार विभागका अनुसार पुस मसान्तसम्म नेपालले ६ खर्ब ३७ अर्ब रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । जुन अघिल्लो आर्थिक वर्ष ०७५/७६ को सोही अवधिको तुलनामा ६.०६ प्रतिशतले कमी हो । गत आवको ६ महिनामा नेपालले ६ खर्ब ७८ अर्ब रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो । समीक्षा अवधिसम्ममा समग्र व्यापार नै निरन्तर ओरालो लागेको देखिएको छ । पुससम्ममा नेपालले कुल ७ खर्ब ५१ अर्ब रुपैयाँको कुल व्यापार गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २.२६ प्रतिशतले कमी हो । 

आयात र समग्र व्यापार घटेपछि मुलुकको व्यापार घाटासमेत घटेको हो । समीक्षा अवधिमा आयात ४.०४ प्रतिशतले घटेर ६ खर्ब ९४ अर्ब रुपैयाँमा ओर्लिएको छ । यस अवधिमा आयात र व्यापार घटे पनि निर्यातको वृद्धिदर भने उच्च देखिएको छ । व्यापार घाटा न्यूनीकरणमा निर्यात वृद्धिले पनि महत्वपूर्ण  योगदान दिएको देखिन्छ । चालू आवको ६ महिनामा निर्यात २६.१३ प्रतिशतले बढेर ५७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।  

आयात घटेसँगै कुल व्यापारमा निर्यातको हिस्सा बढेको देखिएको छ । यस अवधिमा व्यापारमा निर्यातको हिस्सा ७.६ प्रतिशत रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २९.११ प्रतिशतले बढी हो । कुल व्यापारमा आयातको हिस्सा भने १.८२ प्रतिशतले घटेर ९२.४ प्रतिशतमा ओर्लिएको छ ।