मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ १९ आइतबार ०६:२७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

साहुकार रामबाबुले २८ ऋणीबाट  मात्रै २० करोड ठगेको भेटियो

प्रहरीद्वारा अदालतमा मुद्दा दर्ताको तयारी 

Read Time : > 1 मिनेट
२०७६ माघ १९ आइतबार ०६:२७:००

प्रहरी भन्छ– अर्का साहुकार सञ्जय फरार छन्, डरकै कारण उनीविरुद्ध उजुरी कम परेको छ, अनुसन्धान जारी नै छ 

सर्लाहीका साहुकार रामबाबु रायले २८ ऋणीबाट मात्रै २० करोड ठगी गरेको प्रहरी अनुसन्धानमा भेटिएकोे छ । अर्का साहुकार सञ्जय रौनियार फरार रहेकाले डरकै कारण सातजनाको मात्रै उजुरी परेको छ । पक्राउ गरेपछि उजुरी बढ्न सक्ने भन्दै उनीविरुद्धको अनुसन्धान जारी रहने प्रहरीले जनाएको छ । 

तर, २२ दिन लामो अनुसन्धानपछि प्रहरीले दुवैको मुद्दा भने तीन दिनभित्रै अदालतमा दर्ता गर्ने तयारी गरेको छ । ‘साहुकार रायले मात्रै २८ जनासँग २० करोड ठगी गरेको भेटिएको छ । तर, रौनियारविरुद्ध सातजनाको मात्रै उजुरी परेको छ । उनी फरार रहेकाले डराएर उजुरी कम आएको हुन सक्छ, उनको हकमा अझै अनुसन्धान हुन्छ,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विश्वमणि पोखरेलले भने । सोमबारसम्म जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गर्ने तयारी भएको उनले बताए ।

साहुकारले ऋण दिँदा धितो राखेको ऋणीको जग्गा रजिस्ट्रेसन नै पास गरेर हडपेका छन् । नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि २३ पुसमा प्रहरीले सर्लाहीकै हरिपुरबाट रायलाई पक्राउ गरेको थियो । भेष बदलेर मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा उनी पक्राउ परेका थिए । उनी हिरासतमा छन् । फरार रौनियार विहारको सीतामढीमा लुकेको सूचना प्राप्त भएको एसपी पोखरेलले बताए । 

२३ पीडितले रामबाबु र सञ्जयविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि हाले मुद्दा
साहुकार राय र रौनियरविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका क्रममा अस्वाभाविक सम्पत्ति जम्मा गरेको देखिएपछि विभागले अनुसन्धान थालेको हो । ठगिएका २३ जनाले उनीहरूको सम्पत्ति छानबिनका लागि जाहेरी दिएका थिए । 

‘साहुकार राय र रौनियारविरुद्ध जाहेरी आएका छन् । प्रहरी अनुसन्धानमा पनि उनीहरूको सम्पत्ति अस्वाभाविक देखिएको छ,’ विभाग स्रोतले भन्यो, ‘अनुसन्धान सुरु भएको छ सम्पत्ति शुद्धीकरण विभाग स्रोतले राय र रौनियरविरुद्ध अनुसन्धान सुरु भएको जानकारी दियो । स्रोतले भन्यो, ‘साहुकार राय र रौनियरविरुद्ध जाहेरी आएका छन् । तर, मुद्दा संवेदनशील भएकाले अहिल्यै थप नबोलौँ ।’