१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
पदम बडाल
२०७५ माघ ३ बिहीबार १०:४६:००
Read Time : > 1 मिनेट
प्रदेश

भूकम्पका दृष्टिकोणले दार्चुला उच्च जोखिममा  मध्यमखाले भूकम्पले नै आधा जनसंख्या प्रभावित हुने

Read Time : > 1 मिनेट
पदम बडाल
२०७५ माघ ३ बिहीबार १०:४६:००

दार्चुलामा मध्यमखाले भूकम्पले पनि जिल्लाको ५० प्रतिशतभन्दा बढी जनसंख्या प्रत्यक्ष प्रभावित हुने देखिएको छ । भूकम्प दिवसका लागि कार्यपत्र तयार पार्न गरिएको अध्ययनले यस्तो अवस्था देखाएको हो ।  दार्चुलाको भिरालो भूभाग, भौगोलिक विकटता, टाढा–टाढा रहेका बस्ती, भूकम्पीय जोखिम धान्न नसक्ने घरहरू, प्रतिकार्यका लागि आवश्यक स्रोत, साधन र जनशक्तिको अभाव हेर्दा मध्यमखाले भूकम्पले नै ५० प्रतिशतभन्दा बढी जनसंख्या प्रत्यक्ष प्रभावित हुने देखिएको सशस्त्र प्रहरी हेडक्वार्टर ५० नम्बर गुल्मका गुल्मपति भीमबहादुर चन्दले जानकारी दिए ।

जिल्लाको १ लाख ३३ हजार २७४ जनसंख्या मध्ये ५२ हजार ७६२ बालबालिका, ११ हजार २५० वृद्धवृद्धा र विभिन्न किसिमका अपांगता भएका ३ हजार ६६९ जना गरी ६७ हजार ६८१ जना भूकम्पबाट प्रत्यक्ष प्रभावित हुने देखिएको हो । भूकम्पले अन्य नागरिकलाई समेत प्रभावित पार्न सक्ने र ठूलोखालको भूकम्प आयो भने जिल्लाले धेरै ठूलो क्षति व्यहोर्नुपर्ने स्थिति रहेको कार्यपत्र तयार पार्ने टोलीका सदस्य सशस्त्र प्रहरीका गुल्मपति चन्दले बताए ।

ठूलो भूकम्पको अनुमान
पछिल्लो ६ महिनामा मात्रै सातपटक साना भूकम्पको झट्का महसुस गरिएको दार्चुलाआसपास भएर भूकम्प जान सक्ने विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय अध्ययनले देखाएको छ । इंग्ल्यान्डको डरवान विश्वविद्यालय र भारतीय भूगर्भविद्हरूले यस क्षेत्रमा ठूलो भूकम्प जान सक्ने भन्दै  आफ्ना अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छन् । क्याम्ब्रिज विश्वविद्यालयले प्रकाशन गर्ने नेचर जियोसाइन्स एन्ड साइन्स नामक जरनलमा त्यहाँका भूगर्भविद्हरूले पनि यस्तो सम्भावना औँल्याएका छन् । सन् २०१५ मा जाइकाले गरेको अध्ययनले त निकट भविष्यमै यस क्षेत्रमा ८.६ म्याग्निच्युडको भूकम्प जान सक्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको अध्ययनले पनि यस क्षेत्रमा सबैभन्दा बढी भूकम्पीय जोखिम रहेको देखाएको छ ।

विभिन्न अध्ययनले भूकम्पका दृष्टिकोणले जिल्ला उच्च जोखिममा रहेकाले प्रत्येक स्थानीय सरकारले पूर्वतयारी गरेर क्षति न्यूनीकरण गर्ने काम गर्नुपर्ने जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य बताउँछन् । संवैधानिक र कानुनी अधिकार मात्रै नभएर स्थानीय सरकार भएकाले पनि स्थानीय सरकारले पर्याप्त तयारी गर्नुपर्ने उनको भनाइ छ । नगरपालिकाले भवन निर्माण आचारसंहिता निर्माण गरी कार्यान्वयन गर्न लागेको महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले बताए ।

सरकारी भवन नै जोखिममा
विद्यालय, स्वास्थ्य संस्था र सरकारी कार्यालयका भवनसमेत भूकम्प प्रतिरोधी नभएकाले मध्यमखाले भूकम्पले जिल्लाका २८१ विद्यालय, ३५ स्वास्थ्य संस्थाका भवन र ५० प्रतिशत सरकारी कार्यालयमा समेत क्षति पुग्ने देखिएको जिल्ला आपत्कालीन सूचना केन्द्रका प्रमुख राजकुमार घिमिरेले जानकारी दिए ।