मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मनीष खड्का 
२०७५ माघ ३ बिहीबार १०:५२:००
Read Time : > 1 मिनेट
प्रदेश

भूकम्पको जोखिममा रुकुम

अध्ययन भन्छ– ७.८ रेक्टरको भूकम्प आए चार हजारको ज्यान जान सक्ने, ६० प्रतिशत भवन भत्किन सक्ने

Read Time : > 1 मिनेट
मनीष खड्का 
२०७५ माघ ३ बिहीबार १०:५२:००

भूकम्पीय जोखिमका हिसाबले पश्चिम रुकुम संवेदनशील रहेको एक अध्ययनले देखाएको छ । बुधबार सार्वजनिक गरिएको अध्ययनले ठूलो भूकम्प आए हजारौँको ज्यान जान सक्ने खतरा रहेको औँल्याएको हो । 

जियोह्याजर्डस इन्टरनेसनलले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार पश्चिम रुकुम भूकम्पीय जोखिमका हिसाबले संवेदनशील रहेको पाइएको हो । यो क्षेत्रमा सन् १५०५ (वि.सं. १५६२) मा महाभूकम्प गएको र त्यसपछि अहिलेसम्म ठूलोे भूकम्प नआएकाले जोखिम रहेको छ । 

पश्चिम रुकम क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलसम्मको भूकम्प आउन सक्ने र त्यसले पार्न सक्ने क्षतिका विषयमा अध्ययन गरिएको हो । दुई वर्ष लगाएर गरिएको अध्ययनसँगै त्यसबाट जोगिन उठाउनुपर्ने कदमका विषयमा समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । 

दुई वर्ष लगाएर गरिएको अध्ययनमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएमा चार हजारजनाको ज्यान जान सक्ने देखिएको छ । भूकम्पमा घर तथा ढुंगा खसेर मृत्यु हुने खतरा रहेको उल्लेख छ । 

त्यस्तै, नौ हजार आठ सय मान्छे घाइते हुन सक्ने छन् । त्यस्तो हुँदा जिल्लाका २१ हजार भवन भत्किनेछन् । यो जिल्लामा रहेका कुल घर संख्याको तीन चौथाइभन्दा बढी हो । भूकम्पबाट मृत्यु हुने तथा घाइते हुने प्रमुख कारणमा घर र पहिरो देखिएको छ । 

पश्चिम रुकुमको सदरमुकाम मुसीकोटका अधिकांश घर जोखिममा रहेको अध्ययनले देखाएको छ । ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प आउँदा मुसीकोटका ६० प्रतिश भन्दा बढी घरहरू पूर्णरूपमा क्षति हुने पाइएको छ । जसमा ३१ प्रतिशत घर बस्नलायक नहुने प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै, राजमार्ग, विद्युत्, टेलिफोन, इन्टरनेटलगायत सेवा अवरुद्ध हुन सक्नेछन् । यो क्षतिको आकलन दिउँसोको समयमा भूकम्प आउँदाका आधारमा गरिएको जियोह्याजर्डस इन्टरनेसनलले जनाएको छ । 

कुन तहमा कस्तो असर ?
अध्ययनले भूकम्पबाट जिल्लाका ६ स्थानीय तहमध्ये सबैभन्दा बढी क्षति मुसीकोटमै हुने देखाएको छ । मुसीकोटमा एक हजार एक सयको ज्यान जान सक्ने, दुई हजार चार सय घाइते, हुन सक्ने जनाएको छ । त्यसमध्ये दुई हजार चार सय भवन असुरक्षित हुने प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै, आठबीसकोटमा एक हजारको मृत्यु हुन सक्ने, दुई हजार सात सय ५० घाइते, चार हजार पाँच सय घर क्षतिग्रस्त हुन सक्ने जनाएको छ । चौरजहारी नगरपालिकामा आठ सय ५० को मृत्यु हुन सक्ने र दुई हजार दुई सय मान्छे घाइते हुन सक्ने परिदृश्य देखिएको छ । प्रतिवेदनअनुसार सानीभेरी गाउँपालिकामा चार सय, त्रिवेणी गाउँपालिकामा तीन सय ५० र बाँफिकोट गाउँपालिकामा तीन सय जनाको ज्यान जान सक्नेछ । 

भूकम्पप्रतिरोधी संरचना निर्माण न्यून
पश्चिम रुकुममा भूकम्पप्रतिरोधी संरचना निर्माण न्यून रहेको जिल्ला समन्वय समितिका इन्जिनियर पहल केसीले बताए । यहाँका अधिकांश घर भवनसंहिताविपरीत रहेको उनको भनाइ छ । भवन निर्माण गर्दा अधिकांशले सल्लाह नै नलिने र सल्लाह लिएकाले पनि थोरैले मात्रै भूकम्पप्रतिरोधी घर बनाउने गरेको उनको भनाइ छ । 

अध्ययनमा नेपालसहित अमेरिका र भारतका विज्ञ
जियोह्याजर्डस इन्टरनेसनले दुई वर्ष लगाएर गरेको अध्ययनमा नेपालसहित अमेरिका र भारतका विज्ञ सहभागी थिए । यसमा भूगर्भशास्त्री, विपद् व्यवस्थापनसम्बन्धी विज्ञ, समाजशास्त्री र इन्जिनियर समावेश थिए । यो अध्ययन सेप्टेम्बर २०१६ देखि डिसेम्बर २०१८ सम्म गरिएको थियो ।