मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १७ शुक्रबार १८:५६:००
Read Time : > 1 मिनेट
समाचार

राप्रपा नेतात्रयको बैठक : एकीकरणमा सहमति, चुनाव चिह्नमा विवाद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १७ शुक्रबार १८:५६:००

नेतृत्वको भागबण्डासहित पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमतिमा पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त (राप्रपा संयुक्त)का शीर्ष नेताबीच शुक्रबार साँझ भएको वार्तामा चुनाव चिह्नबारे विवाद भएको छ । अपरान्ह ४ बजेदेखि महाराजगञ्जको होटल 'ला शेर्पा'मा राप्रपा अध्यक्ष कमल थापा तथा राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच करिब डेढ घण्टा छलफल भएको थियो । तर चुनाव चिह्नका विषयमा सहमति जुट्न सकेन् ।

चुनाव चिह्नलाई आगामी महाधिवेशनबाट टुंग्याउने सहमति भएको तर राणा र लोहनीले हलो चिह्न स्वीकार गर्नुपर्ने धारणा राखेको र साँझसम्म बैठक सहमतिमा नपुगेको थापा निकट एक नेताले जानकारी दिए । ‘बिहीबार महाराजगञ्जको निनाज् बेकरीमा भएको बैठकमा सबै विषय टुंगिएको थियो, शुक्रबार संयुक्तका शीर्ष नेताबाट चुनाव चिह्नका विषयमा नयाँ धारणा आएपछि साँझ अध्यक्षत्रयको बैठकमा त्यसबारे सहमति जुट्न सकेन’ राप्रपाका ती नेताले नयाँ पत्रिकासँग भने ।

बिहीबारको बैठकपछि पार्टी एकीकरण हुने निश्चित भएको निस्कर्षसहित राप्रपा अध्यक्ष कमल थापाले शुक्रबार बिहान डाकेको केन्द्रीय समिति बैठकमा प्रतिवेदन पेश गरेलगत्तै स्थगीत गरेका थिए । राप्रपा संयुक्तको बैठकबाट सकारात्मक जवाफ आउने भन्दै अध्यक्ष राणाले थापालाई टेलिफोन गरेका थिए । थापाले शनिबार १२ बजेसम्म सहमति नभए पार्टी एकताको च्याप्टर बन्द हुने बताउँदै आएका छन् । राप्रपा सहमहामन्त्री राजाराम बर्तौलाले पार्टीको केन्द्रीय समिति बैठक शनिबार १२ बजेसम्मका लागि स्थगित भएको बताए ।

२०७३ फागुन ६ गते राप्रपा समूहहरुको एकता महाधिवेशन भएको थियो भने संसदीय निर्वाचनभन्दा अघि २०७४ भदौ २२ गते पार्टी विभाजित भएको थियो । राप्रपा समुहमा स्थापनादेखि नै टुट  फुटको श्रृंखला चल्दै आएको छ । बिहीबारको वार्तामा एकीकृत पार्टीमा थापा, राणा र लोहनी अध्यक्ष हुने, केन्द्रीय समितिमा राप्रपाबाट ५५ प्रतिशत र संयुक्तबाट ४५ प्रतिशत रहने, महाधिवशेनमा जाने र चुनाव चिह्न तय गर्ने सहमति भएको थियो । 

अहिले राप्रपाको चुनाव चिह्न गाई र राप्रपा संयुक्तको हलो छ । पार्टीको नीति, विचार र सिद्धान्तको हकमा हकमा भने पार्टीको पछिल्लो महाधिवेशनको विधान लागु गर्न तीनै नेता सहमत भएका छन् ।