मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ १७ शुक्रबार १८:२९:००
Read Time : > 1 मिनेट
समाचार

‘अरनिकाे राजमार्गको जसरी नै एमसीसीको विरोध हुँदैछ’

अर्थमन्त्री खतिवडा भन्छन् : एमसीसी कार्यान्वयन हुँदा अमेरिकाले नेपालमा अधिपत्य जमाउँछ भन्नु बेकारको शंका

Read Time : > 1 मिनेट
२०७६ माघ १७ शुक्रबार १८:२९:००

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समितिको बैठक बुधबारदेखि जारी छ । बैठकमा सहभागी अधिकांश सदस्यहरूले मुख्य एजेन्डाका रूपमा अमेरिकी सहयोग एमसीसीलाई उठाएका छन् ।

बैठक अघिसम्म एमसीसीप्रति असन्तुष्टी जनाउँदै आएका नेताहरूको आवज शुक्रबारसम्म आइपुग्दा मत्थर सुनिन थालेको छ । ‘नबुझी र यसबारे अध्ययन नै नगरी कड्किएको’ भन्दै सुरूदेखि नै एमसीसी संसदबाट पास गराउनु पर्छ भन्ने समूहको आवाज उठ्दै आएको छ ।

यसै मेसोमा पार्टीका केन्द्रीय सदस्य र बहालवाला अर्थमन्त्रीसमेत रहेका युवराज खतिवडाले पनि एमसीसीप्रति सुनिएको असन्तुष्ट आवाजलाई ‘बिना अध्ययन गरिएको प्रचार’ को संज्ञा दिएका छन् ।

उनले नेपालमा कार्यान्वयन हुने चरणका नीतिप्रति यसअघि पनि विरोधी प्रतिक्रिया र टिप्पणी आएको स्मरण गराएका छन् । अरनिको राजमार्गको सम्झना विश्व अर्थतन्त्र र आर्थिक रणनीतिका विज्ञ र ज्ञाता मानिने खतिवडाले एमसीसी नेपालको हितमा रहेको स्पष्टोक्ति दिएका छन् ।

‘देशको विकास गर्ने सहयोगबारे साथीहरूले नबुझेर प्रचार गरिरहनु भएको छ,’ शुक्रबार राष्ट्रिय सभागृहमा जारी बैठकबाट ब्रेक टाइममा बाहिर निस्किएका उनले प्रश्न गरे, ‘अरनिको राजमार्ग बनाउने बेला पनि एउटा तप्काले चीनबाट कम्युनिज्म भित्र्याउन सो राजमार्ग निर्माण गरिएको भनेर विरोध गरेको थियो । तर अरनिको राजमार्गले हामीलाई बेफाइदा कसरी, कहाँ भएको छ ?’

अरनिको राजमार्गले चीन पस्ने नाकासम्म मोटरबाटोको पहुँच दिने र त्यसले नेपालमा कम्युनिज्म भित्र्याउन सहयोग गर्ने भन्ने आरोप ‘दक्षिणपन्थी’ र ‘यथास्थितिवादी’ हरूले लगाउने गरेको प्रतिक्रिया दिए । ‘त्यो राजमार्ग बनाउँदा त्यस किसिमको धारणा आएको थियो’ खतिवडाले भने, ‘तर कम्युनिज्म अरनिको राजमार्गबाट भित्रिएको होइन, विचारबाट प्रभावित भए पनि यो नेपालमै विकसित भएको हो ।’

संविधानले अङ्गीकार गरेको संघीय सरकार गठनपछि संघ, प्रदेश र स्थानीय तहको हितमा बजेट ल्याउन र त्यसका प्राविधिक पक्षमा ‘सफल’ मानिएका अर्थमन्त्री खतिवडाले एमसीसीबारे अनावश्यक शङ्का नगर्न आग्रह समेत गरेका छन् ।

‘हामी कुनै सैनिक गठबन्धनका हिस्सा बन्ने पक्षमा छैनौं’ राष्ट्रिय सभागृहमा सञ्चारकर्मीहरुसँग उनले भने, ‘एमसीसी कार्यान्वयन गरेर अमेरिकाले नेपालमा अधिपत्य जमाउँछ भन्ने अनावश्यक शङ्का नगर्न म आग्रह गर्छु ।’