मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७६ माघ १७ शुक्रबार ०७:५२:००
Read Time : < 1 मिनेट
अर्थ

दुर्घटना न्यूनीकरण सुझाब समितिले फागुनभित्रै प्रतिवेदन बुझाउने 

Read Time : < 1 मिनेट
२०७६ माघ १७ शुक्रबार ०७:५२:००

देशभर हुने सडक दुर्घटना न्यूनीकरणका लागि नीतिगत र संरचनागत सुधारसहितको सुझाब दिन गठित समितिले फागुनभित्र प्रतिवेदन बुझाउने भएको छ । समितिले प्रतिवेदनमा दुर्घटना घटाउन सरकार र अन्य सरोकारवाला निकायले लिनुपर्ने तत्कालीन, मध्यकालीन र दीर्घकालीन नीति र कार्यक्रमलाई समेट्नेछ ।

त्यस्तै, सडक र सवारीसाधनमा गर्नुपर्ने सुधार सरकार, व्यवसायी र उपभोक्ताले सुधार्ने र सुध्रिनुपर्ने विषयलाई पनि उल्लेख गर्नेछ । यसबाहेक अवधिक रूपमा के–के गर्ने भनेर सुझाब दिनेछ । ‘विशेष गरी यातायात र सडकसम्बन्धी ऐन–कानुनमा सुधार गर्ने विषयलाई पनि प्रतिवेदनले समेट्नेछ,’ समितिकी संयोजक प्रमिलादेवी शाक्य बज्राचार्यले भनिन् ।

भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयले गठन गरेको समितिकी संयोजक प्रमिलादेवी शाक्य बज्राचार्यका अनुसार अहिलेसम्म दुर्घटनाका घटनासमम्बन्धी तथ्यांक संकलन र विश्लेषण गर्ने काम सकिएको छ । ‘अब ७ वटै प्रदेशमा स्थलगत अध्ययन गर्ने जाँदै छौँ,’ उनले भनिन् । ९ सदस्यीय समितिलाई ३ समूहमा विभाजन गरी सबै प्रदेशमा गएर अध्ययन गरिने तय भएको छ ।  ।  

तयारीअनुसार बागमती, गण्डकी र प्रदेश–५ मा प्रमिलादेवी शाक्य बज्राचार्यको नेतृत्वमा स्थलगत अध्ययन हुनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा मन्त्रालयकै योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सरोजकुमार प्रधानको नेतृत्वमा स्थलगत अध्ययन गरिने तयारी भइरहेको छ । प्रदेश १ र २ मा सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाको नेतृत्वमा स्थलगत अध्ययन हुनेछ । टोली स्थलगत अध्ययनमा शुक्रबार जाँदै छ । 

यसअघि ३० मंसिरमा सरकारलाई देशभर हुने सडक दुर्घटनाका कारण र न्यूनीकरणका उपाय सम्बन्धमा अध्ययन गरी सुझाब दिन यातायात मन्त्रालयकी सहसचिव प्रमिलादेवी शाक्य बज्राचार्यको संयोजकत्वमा समिति गठनको निर्णय गरिएको थियो ।