मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रकाश अजात
२०७६ माघ १५ बुधबार ०९:०५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

स्त्रीद्वेषी मानसिकताका सिकार आस्था राउतहरू

Read Time : > 2 मिनेट
प्रकाश अजात
२०७६ माघ १५ बुधबार ०९:०५:००

पँधेरा, मेलापात, चौतारा, स्कुल, कलेज र चिया पसलका कुराकानी, घोचपेच, बहस, चर्काचर्की अचेल सामाजिक सञ्जालमा सरेको छ । यही समाजिक सञ्जालमा प्रयोगकर्तामाझ दुई विषय चर्चामा छन् । पहिलो– गायिका आस्था राउत र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकी एक महिला प्रहरीबीच भएको चर्काचर्की र त्यसपछि आस्थाको आक्रोशपूर्ण प्रतिक्रियाप्रति सञ्जालको प्रतिक्रिया । दोस्रो–माइक्रोबसको आरक्षण सिटमा बसेका दुई युवती र तिनका अघि उभिइराखेका वृद्धको तस्बिर र त्यसका लागि सञ्जालमा ती युवतीप्रति व्यक्त गरिएको आक्रोश । यी दुई घटना सामाजिक सञ्जालमा जसरी उठाइएका छन्, त्यसले आम रूपमा हाम्रो समाजको स्त्रीद्वेषी चरित्र प्रस्ट हुन्छ । 

गायिका आस्था राउतमाथि प्रहरीको ‘दुव्र्यवहार’पछि राउतका अभिव्यक्तिमा सामन्तवादको अवशेष त देखिएकै हो । तर, प्रहरीका जवानप्रति उनको हेयपूर्ण टिप्पणीलाई पन्छाएर हेर्ने हो भने आस्थाको आक्रोश जायज थियो । न्याय दिनका लागि राज्यले स्थापना गरेको निकायले जतिसुकै संवेदनशील क्षेत्रमा भए पनि सर्वसाधारणको हुर्मत लिन पाउँदैन भन्ने आस्थाको तर्क सामाजिक न्यायकै पक्षमा थियो ।

आफूलाई झपार्ने प्रहरीको नाम नलिई सम्भवतः प्रहरी निकाय सुध्रियोस् र आफूप्रतिको अपमानको राप शान्त होस् भन्ने सोचका साथ उनको प्रतिक्रिया आएको थियो । तर, राउतले सामाजिक सञ्जालमा प्रहरीमाथि गरेको टिप्पणी उल्टै उनीविरुद्ध आइलाग्यो । स्त्रीद्वेषी समाजमा महिलाका प्रतिक्रियालाई मसिनो गरी जाँच पड्ताल गरिन्छ, त्यसका नकारात्मकतर्फ बढी ध्यान दिइन्छ । महिलाका पराक्रम, बहादुरी र गर्जनलाई समाजले हत्तपत्त स्वीकार्दैन, किनकि महिलाबाट समाजको अपेक्षा बेग्लै छ । महिलाले स्त्रीद्वेषी समाजमा हरेक भावना, विचार र रहर प्रकट गर्दा संयमित हुनुपर्छ । अन्यथा तिनले निन्दा, अपमान र बहिष्कार सहनुपर्छ । 

‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा’ भन्ने गीतबाट चर्चा कमाएकी आस्थाको स्वर आफैँमा हक्की छ । तर, परम्परागत समाजले महिलाबाट कोइलीजस्तै सुरिलो र मधुरो स्वरको अपेक्षा गर्छ । सदियौँदेखि भान्छा, ओछ्यान र खेतबारीमै अल्झाइएका ‘भोग्या महिला’लाई स्त्रीद्वेषी समाजले निर्भीक र हक्की स्वरको अवतारमा प्रकट भएको रुचाउँदैन । समाजले महिलाका लागि कोमलांगी, पतिव्रता र समर्पित स्त्रीको आदर्श तयार गरेको छ, जसको सिकार आस्था राउतहरू भइरहेका छन्, र भइन् । यसमा हिजोकी सीतादेख आजकी हिमानी शाहसम्म पर्छन् । किम्वदन्तीअनुसार रावणले अपहरण गरेर लगेकी सीतालाई घर फर्काएपछि आगोमा हालेर रामले पत्नीको सतित्वको परीक्षा लिए । यता, चुपचाप आगोमा हेलिन् स्वीकार्ने सीतालाई आदर्श पत्नीका रूपमा बुझ्छौँ । आगोमा होमिँदा पनि सीताको मृत्यु नभएको बताइन्छ । रामको अतिशय सम्मानले ओतप्रोत भएर सम्भवतः पुरुष शास्त्रकारले मरेकी सीतालाई पनि धर्ती समाधि लिएको कथा रचेका हुन सक्छन् । तिनै शास्त्र र आदेशलाई पच्छ्याएको छ समाजले । 

आजको दिनमा पूर्वयुवराज्ञी हिमानीका पति पूर्वयुवराज पारस शाह कहिले थाइल्यान्डमा थाई युवतीसँग अँगालोमा बेरिएको फोटो इन्टरनेटमा हालेको अवस्थामा भेटिन्छन् त कहिले बाइकमा पोखरातिर नेपाली युवतीसँग बत्तिँदै गरेको । तर, राजनीतिक चेत भएका राज संस्थाविरोधी युवाबाहेक ठूलो संख्यामा पुरुष पारसकै बचाउमा देखिन्छन् । तब न‘राजा आयो राजा, बजाइदिन्छ बाजा’ अडियोमा पारसको टिकटक भिडियो लोकप्रिय भइरहेकै हुन्छ । किनकि पारस र पुरुषको अनैतिक व्यवहार पनि हामीलाई स्वीकार्य छ । युगौँदेखि हामी त्यस्तै मान्यताले प्रशिक्षित छौँ । सामाजिक मनोविज्ञान लामो इतिहासको जगमा नै निर्माण भएको हुन्छ । ‘सर’, स्त्रीद्वेषी समाजलाई पुरुषका प्रतिक्रिया स्वाभाविक लाग्छन्, महिलाका प्रतिक्रिया भने नाटकीय । 

पारसका एकपछि अर्को विवाहइतर सम्बन्धमाथि प्रकाश पार्दा पनि हिमानीको दुई शब्द सार्वजनिक भएको छैन । सहनशील र विनम्र भएर एक आदर्श ‘पतिव्रता’को भूमिका निर्वाह गरेकै कारण सामाजिक सञ्जालमा हिमानीबारे मान्छे तारिफ गरेर अघाउँदैनन् । स्त्रीद्वेषी समाज ठ्याक्कै हिमानीजस्तै ‘विनम्र’, ‘सहनशील’, ‘मर्यादित’ स्त्री, छोरी, स्वास्नी र आमा चाहन्छ । सामाजिक सञ्जालमा चर्चा भइरहेको माइक्रोबसको तस्बिर झलक्क हेर्दा जोसुकैले पनि सहजै निष्कर्ष निकाल्न सक्छ,बलिया युवती बसको सिटमा बसेका छन् र तिनका अगाडि वृद्ध पुरुष उभिनु अनुचित नै हो । तर, यस ‘भिज्युअल’का अन्य पाटोबारे थोरैमात्र नियाल्ने हो भने फेरि पनि हाम्रो समाजको स्त्रीद्वेषी चरित्र र अल्पज्ञान प्रकट हुन्छ । पहिलो, बसमा कमसेकम अरू २० यात्री सिटमै बसिरहेका होलान् जसमा सबै त महिला नहोलान् ।

उनीहरूबाट पनि सिट छाड्ने उदारताको कल्पना गर्न सकिन्छ । दोस्रो, बसमा वृद्धवृद्धालाई सिट आरक्षण गरिएको हुन्छ । त्यसमा पनि अर्को कोही बसिरहेकै होला । तेस्रो, यदि उल्लेखित वृद्धले ‘म अशक्त र बिरामी छु’ भनेर अनुरोध गर्दामात्रै पनि बसका अन्य तथा तिनै युवतीले पनि वृद्धलाई सहयोग गर्ने सम्भावना छ । चौथो, कहिलेकाहीँ बसको पछिल्लो भागमा सिट खाली हुँदाहुँदै पनि यात्रुउभिरहेका हुन्छन् । विशेषतः आफ्नो ओर्लिने स्थान नजिक हुँदा धेरै मानिस त्यसै गर्छन् । यस तस्बिरका वृद्धको हकमा माथिका चारवटै सम्भावना हुन सक्छन् । तर, यति धेरै सम्भावना हुँदाहुँदै हामी एउटा तस्बिरलाई आधार मानेर एउटै निचोड निकालिहाल्छौँ– कस्ता निर्दयी आइमाई ! 

दर घट्दो भए पनि सार्वजनिक बसमा युवती र महिला शारीरिक र मानसिक हिंसाका सिकार हुने गरेका छन् । २०–५० सिटमा थोरै सिट आरक्षण गरिँदा मात्रै पनि तिनलाई सहज हुन्छ । हुलमुलमा कुण्ठा र हिंसा व्यक्त गर्न खोज्ने युवक मात्रै होइनन्, अर्धवैशे र वृद्ध पनि उत्तिकै हुन्छन् । त्यसबाट बच्न पनि सहज आरक्षण सिटको अपेक्षा गरिन्छ । तर, यस तथ्यलाई बिर्सेर महिला भएकैमा उनीहरूले पाएको सिटको निन्दा गर्छौँ र रमाउँछौँ । विगत दुई–तीन दशकमा धेरै कुरा बदलिएका छन्, तर हामीले बाचेको युग अझैपनि स्त्रीद्वेषी नै छ ।