मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रसूतिगृहले फोहोरबाट ग्यास निकाल्न स्थापना गरेको प्लान्ट । तस्बिर : संजित परियार
२०७६ माघ १५ बुधबार ०६:४०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

संक्रमणजन्य फोहोर व्यवस्थापनमा उदाहरणीय सरकारी अस्पताल

Read Time : > 2 मिनेट
२०७६ माघ १५ बुधबार ०६:४०:००

संक्रमणजन्य फोहोर व्यवस्थापनमा उपत्यकाका केही सरकारी अस्पताल उल्लेखनीय बनेका छन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, सिभिल सर्भिस अस्पताल बानेश्वर, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पतालले संक्रमणजन्य फोहोर व्यवस्थापनमा उदाहरणीय काम गरेका हुन् ।

सिभिल अस्पताल र थापाथलीस्थित परोपकार प्रसूति अस्पताललाई कुहिने फोहोरको अभाव हुन थालेको छ । प्रसूति अस्पतालले पाँच वर्षदेखि कुहिने फोहोरबाट बायोग्यास उत्पादन गरिरहेको छ । यस्तै, सिभिल अस्पतालले पनि कुहिने फोहोर अभावका कारण बायोग्यास उत्पादन नै रोकेको अस्पतालका निर्देशक डा. दीर्घराज आरसीले बताए ।

देशका विभिन्न सहरमा बढिरहेको जनसंख्या, उपचार सेवाका आधुनिक प्रविधिको खोजीलगायत कारणले अत्याधुनिक स्वास्थ्य संस्था स्थापना भइरहेका छन् । क्लिनिक तथा प्रयोगशाला पनि सोही अनुपातमा बढिरहेका छन् । देशभर चार हजार एक सय २३ वटा सरकारी स्वास्थ्य सेवा प्रदायक संस्था छन् । करिब तीन हजार हाराहारीमा निजी संस्था आबद्ध भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । 

एक शैय्याबाट दैनिक निस्कन्छ सवा एक किलो फोहोर
विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनअनुसार नेपालका ठूला अस्पतालको हरेक शैय्याबाट दैनिक एक दशमलव ३ किलोग्राम फोहोर निस्कन्छ । यसरी निस्कने फोहोरमा संक्रमित फोहोरको मात्रा उल्लेखनीय हुन्छ । तर, त्यसको उचित व्यवस्थापन नगर्दा ७५ प्रतिशत कुहिने तथा पुनः प्रयोग गर्ने फोहोरलाई समेत संक्रामक बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चूडामणि भण्डारी बताउँछन् । 

फोहोर अभावले बायोग्यास प्लान्ट बन्द 
 सिभिल सर्भिस अस्पताल

सिभिल अस्पतालमा पछिल्लो समय फोहोर अभाव हुन थालेको छ । फोहोर अभावले बायोग्यास उत्पादन हुन सकेको छैन । वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रको ८० प्रतिशत र अस्पतालको २० प्रतिशत लगानीमा बायोग्यास प्लान्ट निर्माण भएको थियो । बायोग्यास एक क्युबिक मिटरदेखि सुरु हुन्छ । एक क्युबिक मिटर बायोग्यासका लागि ६ केजी गल्ने फोहोर आवश्यक पर्छ । तर, अस्पतालमा पर्याप्त फोहोर नभएका कारण प्लान्ट सञ्चालन असम्भव भएको अस्पतालले जनाएको छ । अस्पतालमा रहेको २५ क्युबिक मिटरको बायोग्यास प्लान्ट सञ्चालन गर्न दैनिक एक सय ५० केजी गल्ने फोहोर चाहिन्छ । ‘संक्रामक फोहोर मेसिनबाट नष्ट गर्छौँ,’ निर्देशक आरसीले भने ।
 
अस्पतालजन्य फोहोरबाट बायोग्यास
 परोपकार प्रसूतिगृह, थापाथली

अस्पतालबाट निस्कने फोहोर व्यवस्थापन गर्न कुहिने, नकुहिने र संक्रमणयुक्त भनेर छुट्याएको छ । अस्पतालका निर्देशक डा. जागेश्वर गौतमका अनुसार अस्पतालबाट निस्कने फोहोरबाट बायोग्यास निकालेर उपयोग हुँदै आएको छ । कुहिने फोहोरबाट पाँच वर्षदेखि बायोग्यास निकालिएको छ । करिब १२ लाख लगानीमा बायोग्यास प्लान्ट तयार गरेको अस्पतालका निर्देशक डा. गौतम बताउँछन् । यसबाट निस्किएको ग्यासले आवासीय चिकित्सकलाई दैनिक खाना खुवाउने, चिया, पानी तताउन पुग्छ । अस्पतालबाट हरेक दिन ३० देखि ३२ किलो सालनाल निस्किन्छ । सोही फोहोरबाट बायोग्यास निकालिएको छ । 

अस्पताल हातामै फोहोर प्रशोधन तथा भण्डारण केन्द्र  
 त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज

त्रिवि शिक्षण अस्पतालले अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि फोहोर प्रशोधन तथा भण्डारण केन्द्र स्थापना गरेको छ । अस्पतालले हेल्थ केयर फाउन्डेसन नेपालको सहयोगमा केन्द्र सञ्चालनमा ल्याएको हो । अस्पतालबाट निस्कने फोहोरमा विभिन्न संक्रामक किटाणु हुने भएकाले वैज्ञानिक व्यवस्थापनका लागि अस्पताल हातामै प्रशोधन केन्द्र स्थापना गरेको शिक्षण अस्पतालका निर्देशक डा. प्रेमकुमार खड्काले बताए । संकलित फोहोरलाई सुरुमा वर्गीकरण गरेर निर्मूलीकरण गर्ने र त्यसपछि एक ठाउँमा जम्मा पारेर डिस्पोज गरिने उनको भनाइ छ । 

भूकम्पपछि बायोग्यास बन्द 
 वीर अस्पताल
०७२ सालको भूकम्पले वीर अस्पतालको फोहोर व्यवस्थापनमा केही असर पुगेको छ । विगतमा बायोग्यास प्लान्ट सञ्चालन भए पनि भूकम्पपछि बन्द छ । तर, फोहोर व्यवस्थापनमा भने समस्या नभएको अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरी बताउँछन् । 

बायोग्यास प्लान्ट राखेको स्थानमा जाइकाले नयाँ भवन बनाएपछि त्यसको विकल्प खोज्न समय लागेको हो । अहिले फोहोर संकलन गरी संक्रमणजन्य, कुहिने र नकुहिने पहिचान गरी व्यवस्थापन गरिन्छ । ‘जोखिमयुक्त फोहोरलाई ट्रमा सेन्टरमा लगेर प्युरिफाई गछौँ,’ निर्देशक डा. सेन्चुरीले भने । अस्पतालले मासिक ५० हजार रुपैयाँबराबरको फोहोर बिक्री गर्दै आएको छ । हाल कुहिने फोहोर भने अस्पतालले निजी कम्पनीलाई बेच्दै आएको जनाएको छ ।