मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ १५ बुधबार ०६:२०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

प्रवेश परीक्षाविनै  एमबिबिएसमा विदेशी विद्यार्थी भर्ना गर्दै केयू

Read Time : > 2 मिनेट
२०७६ माघ १५ बुधबार ०६:२०:००

काठमाडौं विश्वविद्यालयले प्रवेश परीक्षाविनै एमबिबिएसमा विदेशी विद्यार्थी भर्ना प्रक्रिया सुरु गरेको छ । चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षा लिनुपर्ने निर्णय गरे पनि काठमाडौं विश्वविद्यालयले पहिलेदेखि गर्दै आएको गलत अभ्यासअनुसार नै विदेशी विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न निजी मेडिकल कलेजलाई परिपत्र गरेको हो । त्रिभुवन विश्वविद्यालयले भने आफैँले प्रवेश परीक्षा लिएर विदेशी विद्यार्थी भर्ना प्रक्रिया अघि बढाएको छ । 

भारतको नेसनल इलिजिबिलिटी कमन इन्ट्रान्स टेस्ट (निट) उत्तीर्ण गरेका विद्यार्थीलाई समेत नेपालको विश्वविद्यालयले प्रवेश परीक्षा लिएर भर्ना गर्नुपर्ने व्यवस्था छ । तर, काठमाडौं विश्वविद्यालयले भने निट पास गरेकालाई सीधै कलेज भर्ना प्रक्रिया सुरु गरेको हो । ‘चिकित्सा शिक्षा आयोग आफैँले प्रवेश परीक्षा नलिएको अवस्थासम्म निट पास गरेका विद्यार्थी भर्ना गर्न पाउने भनेको छ,’ काठमाडौं विश्वविद्यालयका स्कुल अफ मेडिकल साइन्सका डिन प्रा.डा. राजेन्द्र कोजूले भने,’ ‘त्यही भएर हामीले मेरिटका आधारमा विद्यार्थी भर्ना गर भनेका हौँ ।’ सम्बन्धित देशको निट उत्तीर्ण गरेका विद्यार्थीलाई काठमाडौं विश्वविद्यालयले सीधै भर्ना गर्न पाउने व्यवस्था रहेको डिन कोजूले बताए । 

विदेशी विद्यार्थीले आफ्नो देशको कुनै पनि परीक्षा पास गरेको खण्डमा भर्ना गर्न पाउने व्यवस्थाअनुसार नै भर्ना प्रक्रिया अघि बढाएको कोजूले बताए । तर, भर्नाको अन्तिम सूची भने कलेजहरूले पठाएका छैनन् । तर, राष्ट्रिय चिकित्सा शिक्षा ऐनले चिकित्सा शिक्षा अध्ययन गर्न सबैले प्रवेश परीक्षा पास हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

चिकित्सा शिक्षा ऐनमा चिकित्सा शिक्षा आयोगले काम सुरु गरेपछि आयोगले नै मेडिकल शिक्षाको प्रवेश परीक्षा लिने उल्लेख छ । आयोगले पदाधिकारी नियुक्त भएर काम सुरु गरे पनि यो वर्ष आफैंले परीक्षा लिन सक्ने अवस्था नभएपछि विश्वविद्यालयलाई प्रवेश परीक्षा लिएर भर्ना गर्न सक्ने निर्णय गरेको थियो । ‘आगामी वर्ष आयोग आफैँले प्रवेश परीक्षा कति वटा लिने भन्ने निर्णय गर्छ,’ आयोगका सदस्यसचिव तथा प्रवक्ता डा. हरिप्रसाद लम्सालले भने, ‘तर अहिले आयोगले विश्वविद्यालयले लिने परीक्षा भनेर निर्णय गरेको छ । आयोगको आसय विश्वविद्यालयको आफ्नो परीक्षा हुनुपर्छ भन्ने हो ।’ 

चिकित्सा शिक्षा आयोगमा त्रिभुवन विश्वविद्यालयले मात्रै प्रवेश परीक्षा लिई विद्यार्थी भर्ना गरेको सूची पठाएको छ । काठमाडौं विश्वविद्यालयले भने अझैसम्म विदेशी विद्यार्थी भर्नाको सूची पठाएको छैन । स्वदेशी र विदेशी सबैलाई प्रवेश परीक्षा अनिवार्य छ । सूची उपलब्ध नभएकाले कुन रूपमा भर्ना गरिएको छ औपचारिक जानकारी नभएको आयोगले जनाएको छ । 

सेनाको मेडिकल कलेजले माग्यो प्रतिविद्यार्थी डेढ लाख 

नेप्लिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्स, कलेज अफ मेडिसिनले बढी लिएको शुल्क समायोजन गर्दा पनि निर्धारित शुल्कभन्दा प्रतिविद्यार्थी डेढ लाख बढी माग गरेको छ । शिक्षण शुल्कभित्रै पर्नेलाई समेत विभिन्न शीर्षक निर्धारण गरी प्रतिविद्यार्थी एक लाख ४२ हजार एक सय ९० रुपैयाँ बढी माग गरेको हो । 

शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच ०७४/७५ र ०७५/७६ मा लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्ने निर्णय भएको थियो । केही रकम घटाए पनि निर्धारित शुल्कभन्दा अझै पनि बढी रकम लिएको छ । सो ब्याचका लागि सरकारले काठमाडौं उपत्यकामा एमबिबिएस कार्यक्रममा ३८ लाख ५० हजार रुपैयाँ शिक्षण शुल्क निर्धारण गरेको थियो । तर, सेनाको मेडिकल कलेजले गत ७ माघमा समायोजन भएको सातौँ ब्याचका विद्यार्थीले कुल ३९ लाख ९२ हजार एक सय ९० रुपैयाँ तिर्नुपर्ने सूचना निकालेको छ । शिक्षण शुल्कभित्रै समेटिने त्रिभुवन विश्वविद्यालय परीक्षा र बाह्य परीक्षकको ३७ हजार पाँच सय, एमएमसी रजिस्ट्रेसन शुल्क तीन हजार, त्रिवि रजिस्ट्रेसन तीन सय, रिकग्नियसन एन्ड एफिलियसन शुल्क ३३ हजार तीन सय ९०, त्रिवि स्टुडेन्ट सर्भिस शुल्क दुई हजारसमेत जोडेर ३९ लाख ९२ हजार एक सय ९० रुपैयाँ पुर्‍याएको हो ।

चिकित्सा शिक्षा ऐनले समेत शिक्षण शुल्कभित्र समेटिने शीर्षक उल्लेख गरेको छ । ऐनको दफा २ (थ) मा उल्लेख छ, ‘शिक्षण शुल्क भन्नाले शिक्षण संस्थाले चिकित्सा शिक्षाको अध्ययन अवधिभरमा लिने भर्ना, शिक्षण, ल्याब, पुस्तकालय, सामुदायिक तालिम वा परीक्षा शुन्क सम्झनुपर्छ र सो शब्दले आयोगको स्वीकृतिमा शिक्षण संस्थाले लिने अन्य शुल्कलाई समेत जनाउँछ ।’ नयाँ भर्ना भएका विद्यार्थीबाट समेत यस्ता शीर्षकमा रकम लिन नमिल्ने चिकित्सा शिक्षा आयोगले पत्रचार गरिसकेको छ । सेनाको कलेजले छैटाैं र सातौ ब्याचका एमबिबिएस विद्यार्थीबाट सरकारले तोकेभन्दा बढी शुल्क असुलेको पाइएको हो ।