मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ १४ मंगलबार १९:१४:००
Read Time : < 1 मिनेट
समाचार

कोरोना भाइरसको परीक्षण नेपालमै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ १४ मंगलबार १९:१४:००

कोरोना भाइरसको परीक्षण अब नेपालमै सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबारदेखि कोरोना भाइरसको जाँच सुरु गरिएको जानकारी दिए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि थर्मल स्क्यानरमार्फत ज्वरोलगायतका अन्य लक्षण नाप्न थालिएको बताए ।

प्रवक्ता श्रेष्ठले काठमाडौंमा रहेका विभिन्न अस्पतालको ल्याबहरू प्रयोग गर्ने विषयमा कुरा भइरहेको भन्दै सबै प्रदेशमा भिडियो कन्फ्रेन्समार्फत निरन्तर रिपोर्ट लिने र निर्देशनहरू दिने काम पनि भइराखेको बताए । ‘काठमाडौंका अस्पतालहरूको ल्याब सेवाहरू कसरी सञ्चालन गर्ने भन्ने विषयमा काम गरिरहेका छौँ’, उनले भने, ‘प्रदेशहरूलाई पनि यो कुरा जानकारी गराएर तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।’

कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा. अनुल बास्तोलाले मौसमी रुघाखोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए । कोरोना भाइरसबाट बच्न भीडभाडमा जान नहुने, साबुन पानीले हात धोइराख्ने, खोक्दा वा हाछ्यूँ गर्दा मुख छोप्ने, मास्क तथा पञ्जा लगाउनेलगायतका काम गर्नुपर्ने उनको भनाइ छ । उनले स्वास्थ्यकर्मीहरूलाई शंकास्पद विरामीहरू आएमा मास्क, पञ्जा, गाउन लगाउन र विरामीलाई छोएपछि तत्काल हात धुन आग्रह गरे ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अधिकारी सुनिल शर्माले सरकारले कोरोना भाइरसबाट बच्ने उपायबारे आवश्यक प्रचार–प्रसार सुरु गरिसकेको बताए । कुनै पनि व्यक्तिमा कोरोना भाइरसको लक्षण देखापरेमा काठमाडौंमा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल र काठमाडौं बाहिर नजिकको अस्पतालमा सम्पर्क गर्ने व्यवस्थासहित आवश्यक प्रचार–प्रसारलाई तीव्रता दिइएको जानकारी उनले दिए ।