मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १४ मंगलबार १६:०९:००
Read Time : < 1 मिनेट
समाचार

आस्था राउतविरूद्ध प्रहरीले आफ्नो अधिकार दुरुपयोग गर्‍यो : कोमल वली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १४ मंगलबार १६:०९:००

राष्ट्रियसभा सदस्य कोमल वलीले आस्था राउत प्रकरणमा नेपाल प्रहरीले आफ्नो अधिकार दुरुपयोग गरेको आरोप लगाएकी छन् । मंगलबारको बैठकमा बोल्दै उनले राउतले कुनै गैरकानुनी कार्य नगरेको बताइन् ।

वलीले भनिन्, ‘सामान्य भनाभन भएको छ । उनले कानुनले निषेध गरेको कुनै काम गरेकी छैनन् । थुनामा राख्ने अवस्था छ कि छैन भन्ने हेरिनुपर्छ ।’ उनले प्रमुख जिल्ला अधिकारीको आदेशमा ४ दिन थुनामा राखेर अनुसन्धान गर्ने कार्य फौजदारी न्यायको सिद्धान्त विपरीत रहेको तर्क गरिन् ।

बैठकमा उनले यसले प्रहरीप्रतिको विश्वास घटाएको धारणा राखिन् । ‘त्यहाँ कानुन उल्लंघन भएको देखिँदैन । सोधपुछ त तारेखमा पनि राखेर गर्न सकिन्थ्यो,’ राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले भनिन्, ‘थुनामा राख्नुले प्रहरीले बदनियत देखिन्छ । उनको बयान स्वतन्त्र रूपले नहुन सक्छ । प्रहरीले जोरजबरजस्ती गर्न सक्छ ।’

प्रमुख जिल्ला अधिकारीले गम्भिर कसुर नदेखिएको सामान्य अवस्थामा पनि थुनामा राख्ने निर्णय गरेको उनको भनाइ छ । ‘यसरी फौजदारी न्यायको मूल मर्म नै नष्ट हुन्छ । पहिले सुन्ने अनि थुन्ने हो । प्रहरीले आफ्नो अधिकार दुरुपयोग गरेको छ,’ वलीले भनिन् । 

गायिका राउतले माघ १ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिला प्रहरीसँग भनाभन भएको घटनापछि फेसबुक लाइभमार्फत आक्रोश पोखेकी थिइन् । सोही क्रममा ती महिला प्रहरीले किटानी जाहेरी दिएकी थिइन् भने यसको ४ दिनपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनले सोमबार मात्र महानगरीय प्रहरी परिसर टेकुमा आत्पसमर्पण गरेकी थिइन् । सोमबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । आजै जिल्ला प्रशासनमा उनको थुनछेक बहस सकिएको छ ।