१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फोटो : \'भिजिट नेपाल\'को अफिसियल वेभपेजबाट
२०७६ माघ १४ मंगलबार १५:२४:००
Read Time : > 1 मिनेट
समाचार

अध्ययनका लागि 'यती'को हाड बेलायत पठाइयो, तर रिपोर्ट आएन

Read Time : > 1 मिनेट
२०७६ माघ १४ मंगलबार १५:२४:००

सरकारले नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्न किंवदन्तीमा आधारित पात्र ‘यती’को मस्कट प्रयोग गरिरहेको छ । तर, सरकारले बनाएको उक्त संरचना विवादमा तानिएको छ । किंवदन्ती र लोककथामा आधारित बयानअनुसार सरकारले बनाएको उक्त मस्काट नमिलेको भन्दै आलोचना भएको हो ।

लोककथामा यतीलाई आधा मानव र आधा बादरको रुपमा वर्णन गरिएको पाइन्छ । नेपाल तथा दक्षिण एसियाका हिमाली देशमा यतीका लोककथा र किंवदन्ती प्रचलित छ । किवंदन्ती र लोककथालाई पुष्टि गर्ने गरी यती अस्तित्वमा रहेको वैज्ञानिक प्रमाण भने भेटिएको छैन ।

तर, ५९ वर्षअगाडि यतीको हाड नेपालबाट बेलायत पठाइएको थियो । ग्रिष्मबहादुर देवकोटाको पुस्तक ‘नेपालको राजनीतिक दर्पण भाग २, आम निवार्चन र त्यसपछि’मा यतीको हाड परीक्षणका लागि बेलायत पठाइएको उल्लेख छ । नेपालको गुम्बामा भेटिएको यतीको हाड पहिलो सगरमाथा आरोही एडमण्ड हिलारीको हातमा बेलायत पठाइएको देवकोटाले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

पुस्तकमा उल्लेख भएअनुसार ६ माघ २०१७ मा ‘पाङबोपे गुम्बामा रहेको ‘यती’ को टाउकोको हाड वैज्ञानिक अनुसन्धान गर्न एक महिनाका लागि विदेशमा लैजाने अनुमति 'श्री ५ को सरकार'बाट एडमण्ड हिलारीलाई दिइयो । हिलारीले बेलायत पुर्याएको हाडको परीक्षण भयो या भएन पुस्तकमा उल्लेख छैन । पहिलो सगरमाथा आरोही हिलारीको ११ जनवरी २००८ मा मृत्यु भइसकेको छ ।

नेपालबाट बेलायत लगिएको हाडको विषयमा सन् २०११ मा बिबिसीले समाचार प्रकाशित गरेको थियो । ‘सन् २०११ मा ५० वर्षअघि नेपालबाट लन्डन पुर्याइएको एउटा ‘यतीको औँला’ मानिसको हाड भएको प्रमाणित भएको थियो ।’ बिबिसीले आफ्नो समाचारमा लेखेको छ । बिबिसीको समाचारमा नेपालबाट ‘औँला लगिएको’ लेखिएको छ । तर, देवकोटाको पुस्तकमा भने टाउकोको हाड लेखिएको छ । बिबिसीको समाचारमा उल्लेख गरिएको  औँला हिलारीले नै लगेको हाड हो कि होइन भन्ने कुरा उल्लेख छैन । 

बारम्बार पाइला भेटिएको हल्ला

अस्तित्वमा रहेका तर पुष्टि नभए पनि यतीको जस्तै पदचाप हिमालमा देखिएको आरोहीहरु बताउने गर्छन् । सन् १९५१ मा एरिक शिप्टनले मेलुङ्से हिमनदीमा यतीको पाइला देखिएको तस्बिर खिचेका थिए । 

देवकोटाको पुस्तकमा उल्लेख भएअनुसार १९६० मा जुगल हिमाल आरोहणमा गएको हिसायूकी इटोको नेतृत्वको जापानी आरोही दलका सदस्यले पनि ‘यतीको पद चिह्न’ देखेको बताएका थिए । त्यसअगाडि १९५५ मा पनि ब्रिटिश पर्वतारोही दलले पनि यतीको पद चिह्न देखेको बताएका थिए ।

अप्रिल २०१९ मा भारतीय सेनाले मकालु हिमालको आधार शिविरमा यतीको पदचाप देखिएको बताएका थिए । भारतीय सेनाले यतीको पैतलाको छाप भन्दै एउटा तस्बिर आफ्नो ट्विटरमा सार्वजनिक गरेको थियो ।

त्यसो त सन् २०१३ मा ब्रिटिश वैज्ञानिकहरुकाे टोलीले यती हिमालमा पाइने भालुको एक उप–प्रजाती हुन सक्ने निष्कर्ष निकालेको थियो । २०१७ मा बफेली विश्वविद्यालयका वैज्ञानिक शार्लट् लिङ्क्विस्टको अध्ययनअनुसार यतीको भनेर संसार भरबाट संकलन गरिएका अंग, हाड र रौँ एक प्रकारको हिमाली भालुका हुन् ।