मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ माघ १४ मंगलबार ०७:५५:००
Read Time : > 2 मिनेट
अर्थ

हवाई इन्धन ठप्प पार्नेलाई ६ महिनासम्मको कैद सजायको चेतावनी

Read Time : > 2 मिनेट
२०७६ माघ १४ मंगलबार ०७:५५:००

तीन दिनदेखि हवाई इन्धन आपूर्ति ठप्प पारेर हडतालमा उत्रिएका ट्यांकर ढुवानीकर्ता र चालकलाई कारबाही गर्ने आयल निगमले चेतावनी दिएको छ । निगमले पत्रमार्फत तत्काल काममा नफर्किए आवश्यक सेवा सञ्चालन ऐन, ०१४ प्रयोग गरी कारबाही गर्ने चेतावनी दिएको हो ।

पेट्रोलियम पदार्थलाई सरकारले अत्यावश्क वस्तुमा सूचीकृत गरी हडताल निषेधित क्षेत्र घोषणा गरेको छ । ‘एलपी ग्याससहित अब कुनै पनि प्रकारको पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणलाई अवरोध गर्न पाइनेछैन,’ सरकारको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ । यस्तो निषेधित क्षेत्रमा हडताल गर्नेलार्ई ६ महिनासम्म सजायको व्यवस्था छ ।

आयल निगमको वीरगन्जस्थित शाखा कार्यालयले सोमबार ढुवानीकर्तालाई पत्राचार गर्दै तत्काल हवाई इन्धन ढुवानी सुचारु गर्न निर्देशन दिएको छ । ‘इन्डियन आयल कर्पोरेसनको रक्सौल डिपोले निगमका हवाई इन्धन डिपो पोखरा, भैरहवा र काठमाडौंका लागि नियमित रूपमा दैनिक ५ सयदेखि ८ सय किलोलिटरसम्म हवाई इन्धन लोडिङ गराउँदै आएकोमा १० माघदेखि हालसम्म निगमको सम्झौतामा रहेका हवाई इन्धन ढुवानी गर्ने ट्यांकर–ट्रकहरूले वीरगन्ज कार्यालयबाट रक्सौल डिपोका लागि पिडिओ नलिएका साथै लोडिङका लागिसमेत रिपोर्टिङ नआएकाले यस कार्यालयको ध्यानाकर्षण भएको छ,’ पत्रमा भनिएको छ, ‘आवश्यक सेवा सञ्चालन ऐन, २०१४ बमोजिम पेट्रोलियम पदार्थ अत्यावश्यक वस्तुभित्र रहेको हुँदा सोको आयातमा खलल पुर्‍याएमा सोही ऐनअन्तर्गत कारबाही हुनेसमेत अवगत गराउँदै यथाशीघ्र रक्सौल डिपोबाट हवाई इन्धन सुचारु गर्न आवश्यक पहल एवं व्यवस्था मिलाउन अनुरोध छ ।’

इन्धन ढुवानी रोक्ने व्यवसायीको ट्यांकर सम्झौता नै खारेजी गर्नेसम्मको व्यवस्था निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, ०७३ मा कायम छ । तर, सो विनियमावलीअनुसार कारबाही गर्न भने निगमले तदारुकता देखाएको छैन । निगमको पत्रपछि व्यवसायीले इन्धन ढुवानी सुचारुका लागि वार्ताबाट पहल थाल्ने बताएका छन् । चालकहरूसँग आयल निगमको कुनै सम्झौता हुँदैन । त्यसैले इन्धन आपूर्तिमा भएको अवरोधबारे निगम व्यवस्थापनले ढुवानीकर्तासँग छलफल गर्ने र रोकिएको आपूर्ति सुचारु गर्न निर्देशन दिएको प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । ‘अहिले चालकहरूले हडताल गरेका छन् । ती चालक ढुवानकर्ताका मान्छे हुन्,’ गोइतले भने, ‘हामीले चालकसँग सरोकार राख्दैनौँ । ट्यांकरमालिकसँग सम्झौता गर्ने भएकाले अहिले भएको अवरोध खुलाउन व्यवसायीलाई निर्देशन दिएका हौँ ।’

हवाई इन्धन चालकहरूले तोकिएको नोक्सानीभन्दा ५० लिटर बढी तेल चुहावट हुँदा प्रचलित बजार मूल्यभन्दा दोब्बर बढीले जरिवाना तिराउने व्यवस्था हटाउन माग राख्दै शुक्रबारदेखि आपूर्ति रोकेका छन् । चालकहरूको संगठन नेपाल आयात स्वतन्त्र मदजुर संगठन हवाई इन्धन ढुवानी एकाइ समितिका अध्यक्ष पशुपति पाठकले माग पूरा नभएसम्म ट्यांकर नचलाउने भन्दै सोमबार ढुवानी व्यवसायी महासंघलाई सबै ट्यांकरको साँचो हस्तान्तरण गरेको बताए । निगम व्यवस्थापनको कमजोरीका कारण चुहावट हुने तेलको जरिवाना चालकलाई तिराउन लागेको उनको जिकिर छ । 

अहिले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन ढुवानी गरिरहेका १ सय ८१ ट्यांकर ठप्प छन् । त्यसैगरी, भैरहवामा आपूर्ति गर्ने ३ र पोखरामा आपूर्ति गर्ने २ ट्यांकर पनि हडतालका कारण ढुवानी बन्द गरिरहेका छन् । हवाई इन्धन ढुवानीका लागि सबैभन्दा बढी पेट्रोलियम ढुवानी व्यवसायी महासंघका उपाध्यक्ष मनोज दासका करिब ७० ट्यांकरले सम्झौता गरेका छन् । त्यसमध्ये ५५ वटाले नियमित इन्धन आपूर्ति गरिरहेका छन् । तर, निगमले भनेजस्तो तत्काल ढुवानी सुचारु गर्न कठिनाइ भएको उनी बताउँछन् । ‘पत्र लेखेर ढुवानी सुरु गरिहाल्नु भनेर मात्र हुँदैन । अहिलेको समस्या हल गर्न निगम व्यवस्थापनले पनि सक्रियातापूर्वक चासो दिनुपर्छ,’ दासले भने, ‘हामी जतिसक्दो छिटो समस्या हल गर्न तत्पर छौँ ।’ उनले बुधबार दिउँसो निगम व्यवस्थापनसँग वार्ता गरेर समस्या टुंगोमा पु¥याउन प्रयास गर्ने बताए ।

निगमका अनुसार रक्सौल डिपोबाट दैनिक औसतमा ३५ ट्यांकरले इन्धन ओसार्दै आएका थिए । ‘यी सबै ट्यांकर हडतालका कारण हवाई इन्धन लिन रक्सौल गएका छैनन्,’ निगमको वीरगन्जस्थित शाखा कार्यालय प्रमुख रामकुमार न्यौपानेले भने । पर्याप्त परिमाण आयात गरेर मौज्दात गरेका कारण अहिलेको हडतालले विमान कम्पनीलाई इन्धन दिन कुनै समस्या नभएको निगमले जनाएको छ ।

शुक्रबार भैरहवामा २४ हजार र २० हजार लिटरका दुईवटा ट्यांकर गएका थिए । सोही दिन पोखरामा २० हजार लिटरको एउटा ट्यांकर पुगेको थियो । यति परिमाणले दुवै विमानस्थललाई झन्डै एक सातासम्म धान्न सक्छन् । काठमाडौं विमानस्थलमा हवाई इन्धन आपूर्ति गर्ने सिनामंगल डिपोमा ५ हजार किलोलिटर मौज्दात थियो । यो परिमाणले अझै एक सातासम्म धान्न सक्ने प्रवक्ता गोइतको दाबी छ ।